कला संस्कृति संरक्षणमा युवा पुस्ता

पछिल्लो समय जिल्लामा थारू जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ ।
जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारू जातिको मौलिक संस्कृतिको रूपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारू कला, संस्कृतिको संरक्षणसँगै विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।
विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारू जातिसँग सम्बन्धित नाचहरूको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० निवासी १५ वर्षीया अनिता चौधरीले बताइन् । ११ कक्षामा अध्ययनरत अनिता पछिल्लो समय फुर्सदको समयमा थारू नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गरेको बताउँछिन् ।
“आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेकी छु,” उनले भनिन्, “जसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिक रूपमा केही आम्दानी समेत हुने गरेको छ ।” यसले आपूmलाई हौसला बढाउने काम गरिरहेको उनको भनाइ छ ।
घोराही उपमहानगरपालिका–१७ निवासी सुस्मिता चौधरी पनि संस्कृति संरक्षणमा जुट्ने गरेकी छिन् । आफ्नो मौलिक पहिचानका रूपमा रहेका थारू भेषभुषा, गरगहना लगाउनदेखि नाच्न लजाउने सुस्मिता पछिल्लो समय जातीय भेषभुषामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनको भनाइ छ । १७ वर्षीया सुस्मिताले थारूको पहिचानका रूपमा रहेका बड्का नाँच, छोक्रा नाँच, सख्या नाच नाच्नसमेत सिकेकी छिन् ।
“सुरुमा नाच्न मन लागे पनि लाज र डर लाग्थ्यो । जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो,” उनले भनिन्, “तर अहिले पहिलेभन्दा सहज लाग्छ । आफ्नो जातिगत भेषभुषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” नृत्यसँगै उनलाई थारू जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, गुर्या, हातमा करा, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिनसमेत मन लाग्ने गरेको उनको भनाइ छ । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको उनको भनाइ छ ।
थारू बस्ती बाक्लो भएका गाउँबाट पछिल्लो समय थारू समुदायका युवायुवती आफ्नो भेषभुषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो भेषभुषा र परिहनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको थारू अगुवा चन्द्रप्रसाद चौधरीले बताए । आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारू संस्कृतिको विकासमा युवा पुस्ताको अग्रसरताले भेषभुषा तथा संस्कृति संरक्षणमा सहयोग पु¥याउने उनी बताउँछन् ।
“थारू समुदायको मौलिक संस्कृतिका रूपमा रहेको मघौटा, बड्का, झुम्रालगायतका नाचमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ,” थारू समुदायका अगुवा चौधरीले भने, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारू संस्कृति संरक्षणमा सघाउ पुर्याउनेदेखि नयाँ पुस्ताको आकर्षणले सहयोग पुग्ने छ ।”
थारू जातिमा सखिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिले पनि नाचिने छोक्रा नाच, हातमा रङ्गीबिरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । पछिल्लो समय जिल्लामा हुने धेरैजसो सार्वजनिक कार्यक्रममा थारू जातिको भेषभुषा, कला, संस्कृतिलाई प्राथमिकतामा राख्ने गरेको पाइन्छ ।