कोरियन भाषा परीक्षा अप्रिलमा हुने

मानव संशाधन बोर्ड (एचआरडी) कोरियाले गत वर्ष स्थगन गरेको विशेष कोरियन भाषा परीक्षा (सिबिटी) आगामी अप्रिल र अगष्टमा पर्ने तयारी गरेको छ । कोरिया सरकारले नयाँ विदेशी कामदारका लागि पेपर वेस टेस्ट (पीबीटी) र कोरिया गएर फर्केका कामदारका लागि कम्प्युटर बेस टेस्ट (सिबीटी) परीक्षा सञ्चालन गर्दै आएको छ । कोरिया सरकारले गत वर्ष सिबीटी दिएका कामदारको संख्या बढी भएको जनाउँदै १ वर्षका लागि छनोट प्रक्रिया रोक गरेको थियो ।
कोरियामा लगातार ३ वर्षभन्दा बढी काम गरेर फर्केका कामदारका लागि गत वर्ष कोरियाले ४ पटक परीक्षा लिएको थियो । यो परीक्षा सन् २०१८ मा २ पटक मात्र सञ्चालन हुने कोरियाले जनाएको छ । एचआरडीको कस्टुमर सर्भिस विभागले यो वर्षको पहिलो सिबिटीका लागि अप्रिल १ तारिख (चैत १८ गते) आवेदन दर्ता प्रक्रिया सुरु हुने जनाएको छ । यसरी नै दोस्रो चरणको परीक्षा अगस्ट २ तारिखमा गर्ने गरी योजना बनाएको एचआरडीको सूचनामा उल्लेख छ । एचआरडी कोरियाले आफ्नो देशमा रहेका साना तथा मझौला उद्योगमा दक्ष विदेशी कामदारको आवश्यकता नियमित हुने भन्दै भाषा परीक्षा नियमित गर्ने जनाएको छ ।
वैदेशिक रोजगार विभाग इपिएस शाखाले भने परीक्षा अप्रिलमा हुने जनाए पनि कोरियाले आधिकारिक जानकारी नपठाएको जानकारी दिएको छ ।
शाखाका अधिकृत शोभाकर भण्डारीले यस वर्ष २ हजारको हाराहारीमा सिबीटी परीक्षार्थी हुने अनुमान गरिएको बताए । “सिबीटी परीक्षामा सहभागी हुन कोरियाबाट फर्कने कामदारले एयरपोर्टको अध्यागमनमा बसाई अवधिका लागि दिएको कार्ड फिर्ता गरेर आउनुपर्छ,” उनले भने, “कामदारले कार्ड फिर्ता गरेपछि कोरियाले सिबिटी परीक्षामा सहभागी हुन सक्ने भए नाम नेपालको इपीएस कार्यालयलाई पठाउने गर्छ ।” सोही नामका आधारमा कोरियाबाट आएका कामदारले पुनः कोरिया प्रवेशका लागि लिइने भाषा परीक्षा (सिबीटी) मा सहभागी हुन पाउँछन । कामदारले कार्ड बुझाएर स्वदेश फर्केको १ दिनपछि कोरियन पक्षले सीबीटी दिन सक्ने जानकारी ईपीएसमा उपलब्ध गराउने गर्छ ।
कोरियाका लागि पुनः रोजगारीको आवेदन दिन सन् २०१० जनवरीपछि नेपाल आएर ४० वर्ष नपुगेको हुनुपर्ने जनाइएको छ । कोरियामा अवैधानिक बसेर अध्यागमन कानुन उल्लंघन नगरेको र नेपालबाट विदेश जान प्रतिबन्ध नलगाएको हुनुपर्ने प्रावधान कोरियाले राखेको छ । कोरियामा ई–९ भिसा र ई–१० भिसामा ५ वर्ष बसेकाले पनि विशेष कोरियन भाषामा सहभागी हुन नपाउने प्रावधान राखिएको छ । नेपालबाट रोजगारी भिसामा कोरिया जाने कामदारको अधिकतम् भिसा र रोजगार अनुमति ४ वर्ष १० महिनाको हुने गरेको छ ।