Logo

पर्याप्त पूर्वाधार सुविधा र आवश्यक कृषि सामग्री, नवीनतम प्रविधिहरूमा व्यावसायिक विशेषज्ञताको आवश्यकता र दक्ष श्रमिकको उपलब्धता कृषि व्यवसायीका प्रमुख प्राविधिक आवश्यकताहरू हुन् ।

कृषि उद्यमीका आवश्यकताको विश्लेषण

नेपालको आर्थिक उन्नति गर्न र गरिबी हटाउन कृषि उद्यमशीलता एक प्रमुख कारक तत्व हो । नेपाली अर्थतन्त्र मूलतः एक कृषि अर्थतन्त्र भएकाले यसले कृषि उद्यमशीलता, खाद्य प्रशोधन र अन्य सम्बद्ध गतिविधिहरूका लागि ध्यान दिनुपर्छ । कृषि उद्यमीका आवश्यकताहरूको राम्ररी विश्लेषण गर्ने र सोअनुरूप गतिविधिहरू सञ्चालन गरेमात्र नतिजा प्राप्त हुन्छ । कृषि उद्यमीका आवश्यकताहरूमध्ये पर्याप्त पूर्वाधार सुविधा र आवश्यक सामग्रीहरू, कृषि उद्यममा लगानी वृद्धि, लागत घटाउन अनुदानको व्यवस्था र प्रतिस्पर्धाको रणनीतिक समाधान प्रमुख आवश्यकताहरू हुन् ।

कृषि उद्यमीहरूको क्रमशः वित्तीय आवश्यकता र बजार एवं बजारीकरणको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण आवश्यकताहरू हुन् । सरकार र गैरसरकारी संस्था र सहयोगी निकायहरूले मूल्यमा निश्चितता, अनुदानको व्यवस्था र आधुनिक प्रविधिका बारेमा चेतना जगाउने र कृषि व्यवसायीलाई आर्थिक र बजार तथा बजारीकरण सहायताजस्ता केही उपायहरू अपनाउनुपर्ने हुन्छ, जसले उनीहरूलाई थप आय आर्जन गर्न मद्दत गर्छ र प्रेरणा पनि दिन्छ ।

नेपाली अर्थतन्त्र मूलतः कृषिप्रधान छ । उल्लेखनीय आर्थिक विकास र औद्योगीकरणका बाबजुद कृषि नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । देशको झन्डै दुईतिहाइ जनसंख्या आफ्नो जीविकोपार्जनका लागि प्रत्यक्ष कृषिमा निर्भर छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आव २०७८/७९ मा कृषिक्षेत्रको योगदान २३.९५ प्रतिशत छ । नेपालमा प्रशस्त मात्रामा खेतीयोग्य जमिन, उपयुक्त माटो, विभिन्न प्रकारका बालीका लागि उपयुक्त मौसमी भिन्नता हुँदाहुँदै कृषिक्षेत्रको योगदान कम हुनु भनेको खाद्यवस्तुको उत्पादन घट्नु हो । यसले अत्यावश्यक वस्तुको आयात बढाउँछ । व्यापार घाटा बढ्छ ।

कृषिको उत्पादकत्व कम हुनुका धेरै कारण छन्, जस्तै- सानो आकारको जमिन र आज पनि किसानहरूले खेतीमा प्रयोग गर्ने धेरै पुराना विधि, औजार र उपकरणहरू प्रयोग गरिरहेका छन् । राम्रो गुणस्तरको बीउ, मल र बाली संरक्षणका उपायहरू अधिकांश किसानले प्रयोग गर्दैनन् । कृषिक्षेत्रमा ऋण प्रवाह पनि न्यूनतम छ । जनताको जीविकोपार्जनको प्रमुख स्रोत कृषि भएकाले हाम्रो राष्ट्रिय समृद्धिको पूर्वसर्त कृषि विकास हो । देशको योजनाबद्ध सामाजिक-आर्थिक विकासका सबै रणनीतिमा कृषिलाई केन्द्रबिन्दु बनाइनुपर्छ । कृषि उद्यमशील गतिविधिहरूका लागि अपार सम्भावना भएको एकमात्र ठूलो क्षेत्र हो ।

कृषि र सम्बद्ध क्षेत्रहरू उद्योगहरूका लागि कच्चा पदार्थका महत्वपूर्ण स्रोत हुन् र धेरै औद्योगिक उत्पादनहरू विशेष गरी मल, कीटनाशक विषादी, कृषि औजार र विभिन्न उपभोग्य वस्तुहरूका लागि तिनीहरूको माग छ । तसर्थ कृषि र सम्बद्ध क्षेत्रहरू नेपाली अर्थतन्त्रको मुख्य आधार मानिन्छ । विश्वमा बदलिँदै गएको सामाजिक, आर्थिक, राजनीतिक, वातावरणीय र सांस्कृतिक आयामका कारण किसानहरूको जीविकोपार्जन र राष्ट्रको समुन्नतिका लागि आ–आफ्नो आर्थिक परिवेशमा परिवर्तन गरी सफलता सुनिश्चित गर्ने विकल्पहरू झन्झटिला र आलोचनात्मक बन्दै गएका छन् ।

यो पनि ध्यान दिन जरुरी छ कि विश्वव्यापी रूपमा खुला बजार अर्थतन्त्रको उदयले ‘कृषि उद्यमशिलता’ को नयाँ भावनाको विकास गरेको छ र आफ्नै व्यवसाय सञ्चालन गर्न जिम्मेवारीको व्यक्तिगत आवश्यकता बढेको छ । उद्यमशीलतालाई कृषिमा जोखिम र अनिश्चितताको अवस्थामा वृद्धि वा लाभको उद्देश्यका लागि नवीन आर्थिक संगठनको निर्माणको रूपमा परिभाषित गर्छ । ग्रामीण क्षेत्रमा बढ्दो बेरोजगारी र गरिबी र कृषिको सुस्त वृद्धिको अवस्थामा थप उत्पादकत्व र नाफाका लागि कृषिमा उद्यमशीलता आवश्यक छ ।

उद्यमशीलताको सोच र अभ्यासलाई कृषिको क्षेत्रमा लागू गर्नाले उत्पादकत्व वृद्धि, नयाँ व्यापार–व्यवसायको सिर्जना, नयाँ रोजगारी, नवीन उत्पादन र सेवा, ग्रामीण क्षेत्रको विकास र सम्पत्ति वृद्धिजस्ता व्यापक आर्थिक लाभहरू सिर्जना हुन्छ । वैज्ञानिक कृषि र प्रभावकारी कृषि व्यवस्थापन प्रणालीबारे अनभिज्ञ परम्परागत कृषिमा भर पर्ने कृषकहरूले बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, कमसल बीउ र मल अभावको सामना गर्न नसकेपछि कृषि पेसाबाटै पलायन हुने गरेका छन् ।

कृषिको क्षेत्रमा लागू गरिएको उद्यमशीलताको व्यवस्थापकीय, प्राविधिक र नवीन सीपहरूले सकारात्मक नतिजा ल्याउन सक्छ र राम्रो प्रशिक्षित कृषि व्यवसायी त्यस्ता सबै निरास किसानहरूका लागि रोल मोडल बन्न सक्छन् । तर केही बाधा वा कृषि व्यवसायीका आवश्यकताहरूले उनीहरूलाई सफल हुनबाट रोक्छ । यस पृष्ठभूमिमा कृषि व्यवसायीहरूको प्राविधिक, वित्तीय र बजार एवं बजारीकरणका आवश्यकताहरूको लेखाजोखा र अध्ययन गर्ने उद्देश्य हुनुपर्छ ।

कृषि व्यवसायीका आवश्यकता
यहाँ कृषि व्यवसायीका प्रमुख आवश्यकताहरूलाई तीन प्रमुख वर्गहरूमा विभाजन गरिएको छ- प्राविधिक आवश्यकता, वित्तीय आवश्यकता र बजार एवं बजारीकरणका आवश्यकताहरू ।

(क) कृषि व्यवसायीका प्राविधिक आवश्यकता: नयाँ उद्यम स्थापना गर्न र यसको व्यवस्थापनका लागि कृषि व्यवसायीका प्राविधिक आवश्यकताहरू राम्ररी पहिचान गर्ने र त्यसको समाधान गर्नुपर्छ । यसअन्तर्गत पर्याप्त पूर्वाधार सुविधा र आवश्यक कृषि सामग्री, नवीनतम प्रविधि र बजार प्रवृत्तिहरूमा व्यावसायिक विशेषज्ञता, समयमा दक्ष श्रमको उपलब्धता, व्यवसायसँग सम्बन्धित ज्ञान अद्यावधिक गर्न आवधिक सीपउन्मुख प्रशिक्षण, कृषि व्यवसायसँग सम्बन्धित सरकारी योजना र कार्यक्रमहरूका बारेमा पर्याप्त जानकारी, पर्याप्त संगठनात्मक समर्थन र मार्गदर्शन, कस्टम हायरिङ सेन्टरमार्फत यान्त्रीकरण, समयमा दक्ष श्रमको उपलब्धता, व्यवसायसँग सम्बन्धित ज्ञान अद्यावधिक गर्न आवधिक सीपउन्मुख प्रशिक्षण, ग्राहकहरूको समर्थन र मार्गदर्शन जरुरी छ । सेवा क्षेत्रको सन्दर्भमा कृषि व्यवसायीहरूले विशेष गरी आधुनिक प्रविधिहरू, समयमा दक्ष श्रमको उपलब्धता र व्यवसायसँग सम्बन्धित ज्ञान अद्यावधिक गर्न आवधिक सीपउन्मुख तालिम समावेश गर्दा केही विशेष कामहरू गर्न उपयुक्त दक्ष जनशक्ति पाउन सकेका छैनन् ।

(ख) कृषि व्यवसायीका आर्थिक आवश्यकता: नयाँ उद्यम स्थापना गर्न र यसको व्यवस्थापनका लागि कृषि व्यवसायीको वित्तीय आवश्यकताहरू सम्बोधन गर्न जरुरी छ । धेरै अध्ययनको निष्कर्षले देखाएको छ कि कृषि उद्योग स्थापना गर्न अवरोध सिर्जना गर्ने प्रमुख कारक तत्व प्रारम्भिक लगानीको उच्च लागत हो, कृषि व्यवसायीहरूलाई वित्तीय संस्थाबाट समयमै कर्जा उपलब्ध नहुनाले वित्तीय अभाव प्रमुख समस्याको रूपमा रहेको छ । यसका साथसाथै कृषि व्यवसायीका अन्य प्रमुख आर्थिक आवश्यकताहरूमा पर्याप्त आर्थिक मार्गदर्शन र सहायता, न्यून ब्याजदरमा ऋणको आवश्यकता, विभिन्न कोष योजना र तिनका कार्यविधिहरूबारे चेतनाको आवश्यकता, ऋणको जमानत र परिवार र साथीभाइबाट आर्थिक सहयोगको आवश्यकता हुन् । अनुदान र प्रोत्साहनको नीति, वित्तीय सहायताका लागि विशेष योजना र वित्तीय संस्थासम्बन्धी चेतना उद्यमीहरूको प्रमुख आवश्यकता रहेको देखिएको छ । त्यसैले लगानीको प्रारम्भिक लागत घटाउन अनुदानको प्रावधान हुनुपर्छ ।

(ग) कृषि व्यवसायीको बजार र बजारीकरणका आवश्यकता: नयाँ कृषि उद्यम स्थापना गर्नका लागि कृषि व्यवसायीहरूको बजार एवं बजारीकरण आवश्यकता र त्यसको समाधानका उपायहरूको कार्यान्वयन हुनु जरूरी छ । उत्पादनमूलक क्षेत्रमा नयाँ उद्यम सुरु गरेका कृषि व्यवसायीहरूले भोग्नुपरेको प्रमुख समस्या भनेको ठूला संगठन वा पहिले नै स्थापित उद्यमबाट विशेष गरी मानकीकरण, बजारीकरण, नियमित ग्राहकहरूको निरन्तरता आदिको सन्दर्भमा कडा प्रतिस्पर्धा आदि हुन् ।

त्यसैले मूल्यको प्रतिस्पर्धाका लागि रणनीतिक समाधान बजारका विभिन्न पक्षसँग सम्बन्धित कृषि व्यवसायीहरूको प्रमुख आवश्यकता हो । उत्पादनको पर्याप्त माग, बजार जानकारीको पर्याप्त र समयमै उपलब्धता, कच्चा पदार्थको मूल्यमा निश्चितता, कृषि व्यवसायीले सामना गर्ने बहुआयामिक समस्या, सुधारिएको भण्डारण सुविधा बजार एवं बजारीकरणमा कृषि उद्यमीका प्रमुख आवश्यकताहरू हुन् ।

कृषि उद्योग स्थापना गर्दा उद्यमीहरूलाई दर्ता र इजाजतपत्रलाई सरल बनाउनु जरुरी छ । साना तथा घरेलु उद्योगहरूले ठूला उद्योगहरूबाट कडा प्रतिस्पर्धा गर्नुपर्ने, बजार मागको आधारमा उत्पादन नहुनु र उत्पादित वस्तु बजारमा माग नहुनु, बजारीकरणको ज्ञानको अभाव प्रायःजसो उद्यमीहरूले सामना गर्ने प्रमुख बाधाहरू हुन् ।

त्यस्तै उत्पादनका लागि पर्याप्त माग, बजार जानकारीको पर्याप्त र समयमै उपलब्धता, कच्चा पदार्थको मूल्यमा सुनिश्चितता, सुधारिएको भण्डारण सुविधा, प्रशोधन र अन्य मूल्य अभिवृद्धि गतिविधिहरूतर्फ अभिमुखीकरण, बिक्रीको समयमै भुक्तानी, दर्ता र इजाजतपत्र प्रक्रियालाई सरल बनाउने, न्यूनतम बजारीकरण शुल्क, समयमै भुक्तानी आदि उपायहरू अपनाउनुपर्छ ।

गरिबी हटाउन र नेपालको आर्थिक प्रगति गर्न कृषि उद्यमशीलता एक प्रमुख कारक हो । कृषिको क्षेत्रमा लागू गरिएको उद्यमशीलताको व्यवस्थापकीय, प्राविधिक र नवीन सीपहरूले सकारात्मक नतिजा ल्याउन सक्छ र राम्रो प्रशिक्षित कृषि व्यवसायीहरू त्यस्ता सबै निर्वाहमुखी खेती प्रणालीमा अल्झिरहेका किसानहरूका लागि रोल मोडल बन्न सक्छन् । पर्याप्त पूर्वाधार सुविधा र आवश्यक कृषि सामग्री, नवीनतम प्रविधिहरूमा व्यावसायिक विशेषज्ञताको आवश्यकता र दक्ष श्रमिकको उपलब्धता कृषि व्यवसायीको प्रमुख प्राविधिक आवश्यकताहरू हुन् ।

लगानीको प्रारम्भिक लागत घटाउन अनुदानको व्यवस्था, पर्याप्त वित्तीय निर्देशन र सहयोग तथा वित्तीय संस्थाहरूबाट समयमै ऋण प्रमुख वित्तीय आवश्यकताहरू हुन् भने प्रतिस्पर्धाको रणनीतिक समाधान, उत्पादनको पर्याप्त माग र ग्राहकहरूबाट समयमै भुक्तानी प्रमुख विषयहरू हुन् । आधुनिक प्रविधिका बारेमा चेतना जगाउन सहयोगी निकायहरू अगाडि आउनुपर्छ र कृषि व्यवसायीलाई आर्थिक र बजारीकरणमा सहयोग गर्नुपर्छ, जसले उनीहरूलाई थप आय आर्जन गर्न र उद्यमको वृद्धि गर्न मद्दत गर्नेछ । यसले अरूलाई पनि नयाँ कृषि उद्यम सुरु गर्न प्रेरित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्