प्रदेश–१ मा किरियापुत्रीदेखि ११५ वर्षीया वृद्धाद्वारा मतदान
नयाँ मतदाता भन्छन्– देश बदल्न युवापुस्ता अगाडि आउनै पर्छ

प्रदेश–१ मा ११५ वर्षीया वृद्धादेखि किरियापुत्रीले समेत मतदान गरेका छन् । पाँचथरमा ११५ वर्षीया वृद्धाले मतदान गरेकी छन् । फाल्गुनन्द गाउँपालिका–१ की ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् । आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।
यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन् । सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन् । सन्दकपुर–३ को युवा आधारभूत विद्यालयबाट जनार्दन उप्रेती, बालकृष्ण उप्रेतीलगायत १० किरियापुत्रीले मतदान गरे । उनीहरूका बुबा देउताराम उप्रेतीको ३ दिनअघि मृत्यु भएको थियो । इलाम नगरपालिका–५, बरबोटेका किरियापुत्री तुलसी बराल र उनकी पत्नी तारा बरालले समेत स्थानीय गुरुकुल विद्यालय केन्द्रबाट मतदान गरेका छन् । तुलसीका बुबा गायत्री बरालको ४ दिनअघि मृत्यु भएको थियो ।
उता संखुवासभाको धर्मदेविनगरपालीकाको मतदान केन्द्रमा किरियापुत्रिले मतदान गरेका छन् । धर्मदेविनगरपालीका वाड् नंं ९ मा रहेको महेन्द्र ज्योति मावि पुपाङगु केन्द्रमा उनिहरूले मतदान गरे । बुबाको ५ दिन अगाडि मृत्यु भएपछि किरियामा बसेका पत्नी, छोरा ज्ञानबहादुर कार्की र बुहारीले मतदान गरेका मतदान अधिकृतले जनाए ।
प्रदेश–१ मा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रभित्रै शंकास्पद वस्तु बिस्फोट भएपछि केही समय मतदान रोकिएको थियो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै बिहान ९ः१५ बजे शंकास्पद वस्तु विष्फोट भएपछि मतदान स्थगित भएको थियो । रोकिएको तीन घण्टापछि करैया देवीस्थान केन्द्रको मतदान सुरु भएको थियो ।
सोमबार बिहानदेखि मतगणना सुरु गरिने प्रदेश–१ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने कार्य भइरहेको अधिकारीले बताए । मतदानस्थलमा भेटिएका नयाँ मतदाताहरूले आफूले खोजेजस्तो उम्मेदवार नभेटेको प्रतिक्रिया दिए । उनीहरूले युवापुस्ता अगाडि नआएसम्म देशको आर्थिक फड्को नमार्ने दाबी गरे । मतदान स्थलमा भेटिएकी नित्या काबराले अहिलेको नेतृत्व स्वार्थबाट प्रेरित भएको बताइन् ।
उनी मतदान गर्नकै लागि भारतको नयाँ दिल्लीबाट जनाइन् । उनी दिल्लीमा अध्ययन गर्छिन् । “देश बदल्ल युवाहरू अगाडि आउनुपर्छ,” उनले भनिन्, “विदेश पलायनबाट युवाशक्तिलाई रोक्नुपर्छ ।”
पहिलोपटक मतदान गर्न आएका सुभाष भण्डारीले पनि मन नलागीनलागी भोट खसाल्न आएको प्रतिक्रिया दिए । उनले सबै दलका अहिलेको नेतृत्वप्रति जनताको भरोसा गिरिसकेको बताए । “अहिलेको नेतृत्वसित जनताको विश्वास छैन,” भण्डारीले भने, “उहाँहरू टेस्टेड भइसक्नु भएको छ, अब नयाँलाई अवसर दिनुपर्छ ।”