रोजगारी खोज्न चुनावकै दिन १ हजार २२७ युवा विदेशिए

राजनीतिक दलहरूले वैदेशिक रोजगारीलाई विस्थापित गर्ने आश्वासन दिएर सर्वसाधारणको मत लिँदै गर्दा हजारभन्दा बढी युवा कामको खोजीमा विदेशिएका छन् । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा स्वदेशमै लाखौंको संख्यामा रोजगारी सिर्जना गर्ने उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलहरूले आगामी पाँच वर्षभित्रमा १० लाखभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने बाचा गरेका छन् । तर देश निर्वाचनमा होमिएकै दिन आइतबार कामको खोजीमा मुलुक छोड्नेको संख्या हजारौंमा छ । यसले राजनीतिक दलहरूले जेजस्ता आश्वासन दिए पनि त्यसलाई आम सर्वसाधारणले विश्वास नगरेको देखिन्छ ।
त्रिभुवन अन्तर्राट्रिष्य विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी भेषराज खनालका अनुसार आइतबार अपराह्न ५ बजेसम्म २ हजार १ सय ५७ जना नेपाली विदेश गएका छन् ।
यसमध्ये श्रमस्वीकृति लिएर विदेश जानेको संख्या १ हजार २ सय २७ रहेको उनले जानकारी दिए । “नेपालीहरू श्रम गन्तव्यमा जाने मुलुकका लागि हवाई उडानको तालिका बेलुकी १२ बजेसम्म पनि रहेको छ,” खनालले कारोबारसँग भने, “यो संख्या थप बढ्नेछ ।” उनका अनुसार गत १ सातामा दैनिक औषत २९ सयभन्दा धेरै युवा ‘वर्किङ भिसा’ मा विदेश गइरहेका छन् । निर्वाचनको अघिल्लो दिन शनिबारमात्र २ हजार ४ सय ९५ युवा रोजगार भिसामा विदेश गएको अध्यागमन कार्यालयले जनाएको छ ।
मुलुकमा प्रजातन्त्र आएर जनताका प्रतिनिधिको सकार बने पनि त्यसअनुसार काम हुन नसक्दा रोजगारीका लागि युवा विदेश जान बाध्य छन् । राजनीतिक दलहरूले रोजगारीलाई दिएको प्राथमिकता खोक्रो आश्वासन मात्र भएको युवाहरूले टिप्पणी गर्दै आएका छन् । सरकारले अवसर सिर्जना गरेको रोजगारी पनि वर्ष दिनका लागि नभएर मौसमी मात्र हुने गरेको छ । खासगरी विकास निर्माणको समयमा मात्र मुलुकमा रोजगारीका केही अवसर खुल्ने गरेका छन् । वर्षभरको रोजगारीको अभावमा युवा विदेशिएका हुन् ।
सरकारी तथ्यांकले मुलुकमा बेरोजगारको संख्या थेग्नै नसकिने गरी बढेको देखाएको छ । चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको संख्या गत वर्षको तुलनामा १ लाख ३३ हजारले बढेको छ । यसले मुलुकको आन्तरिक रोजगारी झनै संकुचन भइरहेको देखिन्छ । गत आर्थिक वर्षको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रममा ७ लाख ८ हजार २ सय ४५ जना युवा दर्ता भएका थिए । चालू आर्थिक वर्षको ७ महिनामा यो संख्या बढेर ८ लाख ४१ हजार ६ सय ६० पुगेको हो ।
यस्तै आर्थिक वर्ष २०७७/०७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४ सय ५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र यीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो । स्वदेशमा रोजगारी नपाएपछि अहिले दैनिक औषतमा २ हजारभन्दा बढी नेपाली युवा विदेश गइरहेका छन् । यीमध्ये धेरैको गन्तव्य खाडी मुलुक र मलेसिया हो । युरोपका कतिपय देशहरू, दक्षिण कोरिया, जापान र इजरायलमा पनि नेपाली हजारौंको संख्यामा जाने गरेका छन् ।
कोभिड महामारीका कारण गत २ वर्षमा विदेश जाने घटेका थिए । चालू आर्थिक वर्षदेखि भने विदेश जानेको ओइरो लाग्न थालेको छ । यो वर्षका तीन महिनामा मात्र विदेश जाने सवा २ लाख पुगेका छन् । त्यसैको प्रभावस्वरुप गत वर्ष घटेको रेमिट्यान्स आय अहिले बढिरहेको छ । आगामी दिनमा यसले झनै गति लिने विज्ञको भनाइ छ ।
कोभिड महामारी भएको अघिल्लो वर्षका तुलनामा गत आर्थिक वर्षमा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या उच्च दरले बढेको छ । गत वर्ष ६ लाख ३१ हजार २ सय ९० जना कामका लागि विदेश पुगेका थिए । अघिल्लो आवमा १ लाख ६६ हजार ६ सय ९८ जना युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । यस्तै आव २०७६/०७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४ सय ३३ रहेको विभागको तथ्यांकमा छ ।