विकास र समृद्धिको आशमा मतदान

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका जिम्मेवार पदाधिकारीहरूले आइतबार आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरी सामाजिक सञ्जाल ट्विटर तथा फेसबुकमार्फत आफ्नो मतदान किन र केका लागि भनेर खुलाएका यी केही उदाहरणमात्र हुन् । सिंगो निजी क्षेत्र, उच्चदेखि निम्न वर्गलगायत सबै नागरिकको एउटै मात्र चाहना हो– मुलुकको आर्थिक विकास र समृद्धि । मतदान गरिसकेपछि उनीहरुले निर्वाचनपछि बन्ने सरकारले आर्थिक क्षेत्रको उन्नयनका लागि काम गरोस् भन्ने अपेक्षा रहेको बताए ।

महासंघका अध्यक्ष गोल्छाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माविस्थित मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । अध्यक्ष गोल्छाले देशलाई परिवर्तन गर्न सक्ने नेतृत्वको चयनका लागि सबै उपस्थित भएर मतदान गर्न आग्रह गरेका थिए । सोही स्थानबाट नेपाल अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष कृष्ण प्रसाद दुलालले पनि मतदान गरे ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मत खसाले । त्यसैगरी महासंघका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले काठमाडौंको थापाथलीबाट मतदान गरे । भोट हालिसकेपछि उनले यसपालिको आफ्नो भोटले आर्थिक क्रान्ति ल्याउने विश्वास रहेको प्रतिक्रिया दिएका छन् । राजनीतिक दलहरूले वर्षौंदेखि विकास र समृद्धिको आश्वासन दिएर मत लैजाने गरेका छन् । त्यसअनुसार काम नगर्दा दलप्रति अधिकांश वाक्क र दिक्क भएका छन् । तैपनि सबैमा विकास र समृद्धिको आशा मरिसकेको छैन । यही झिनो आशा लिएर उनीहरू प्रत्येक निर्वाचनमा मत हाल्न गइरहेका छन् । आइतबार पनि यही विकास र समृद्धिको आशामै धेरै मतदाता मतदान केन्द्रसम्म पुगेका हुन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ र दुवै सदनको समानुपातिक कोटाबाट गरी ८ सय २५ पदका लागि आइतबार निर्वाचन सम्पन्न भएको छ । बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदानका लागि समय निर्धारित भएकोमा छिटफुट घटना बाहेक अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । केही स्थानका मतदान केन्द्रहरूमा विवाद र झडपका घटना पनि भएका छन् । केहीमा निर्वाचन कार्यक्रम रोकिएको पनि छ । कुनै मतदान केन्द्रमा विवाद भएका कारण ढिलासम्म पनि मतदान भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार संघमा २७५ र प्रदेशमा ५५० सदस्यका लागि निर्वाचन भएको छ । संघमा २७५ सदस्यका लागि दुई हजार ४१२ जना प्रतिस्पर्धामा थिए । प्रत्यक्षतर्फ १६५ जनाका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी २ हजार ४१२ जनाबीच प्रतिस्पर्धा भयो । एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता निर्वाचन आयोगको मतदाता सूचीमा सूचीकृत छन् । यस्तै, प्रदेशसभा प्रत्यक्षतर्फ ३३० जना प्रतिनिधिका लागि भएको निर्वाचनका लागि ३ हजार २२४ जना उम्मेदवार थिए । १० हजार ८९२ मतदानस्थलका २२ हजार २२७ मतदान केन्द्रमा मतदान भएको छ ।
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीमा ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ । प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फ पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि ३ करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख पाँच हजार गरी आठ ८ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ । ७ हजार दुई सय १९ पर्यवेक्षक निर्वाचनमा खटिएका थिए । निर्वाचन आयोगले आइतबार बेलुका आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशभर करिब ६१ प्रतिशत मत खसेको छ । पूर्ण विवरण आइनसकेकोले यो प्रतिशत केही बढ्न सक्ने आयोगको भनाइ छ । आयोगले अपेक्षा गरेको भन्दा कम मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
काठमाडौंमा खस्यो ५५ प्रतिशत मत
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा ५५ प्रतिशत मत खसेको छ । यहाँका १० वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्ति पूर्णरुपमा मतदान सम्पन्न भएको छ । प्रारम्भिक तथ्यांकअनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ ।