मंसिर १५ गतेभित्रै देशले एमालेको नेतृत्वमा नयाँ सरकार पाउँछः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेभित्रै देशले एमालेको नेतृत्वमा नयाँ सरकार पाउने दाबी गरेका छन् ।
आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “देशभरको अवस्था हेर्दा आमरुपमा निर्वाचन शान्तिपूर्ण र निर्वाध रुपमा भइरहेको छ, र यसै गरी सम्पन्न हुनेमा म विश्वस्त छु ।”
यसवर्ष मतगणना छिटो सम्पन्न हुने भएकाले मंसिर १५ गतेभित्रै देशले नयाँ सरकार पाउने उनको भनाइ छ । अध्यक्ष ओलीले भने, “यो निर्वाचन देशका लागि महत्वपूर्ण निर्वाचन हो, यही निर्वाचनले देशलाई सकारात्मक बाटोमा अगाडि बढाउँछ भन्ने विश्वास गरेको छु । त्यसैले मतदान गर्न बाँकी भएका सबै मतदाताले आफूलाई मन परेको दल र नेतालाई मतदान गर्न आग्रह गर्दछु ।” ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।