आयात–निर्यात सहज बनाउन आग्रह «

आयात–निर्यात सहज बनाउन आग्रह

भैरहवा क्षेत्रका भन्सार एजेन्टहरूले भन्सारबाट हुने ढिला–सुस्तीका कारण आयात निर्यातमा समस्या देखिएको भन्दै त्यस्ता ढिला–सुस्ती समाधान गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।
भन्सार एजेन्ट संघ भैरहवाको शनिबार भएको ९औं अधिवेशन तथा २१ औं साधारणसभाका क्रममा भन्सार एजेन्टहरूले प्रविधिमा समस्या, दक्ष कर्मचारीको अभाव, भन्सार यार्डको कमी जस्ता कारणले बेलहिया नाकाबाट हुने आयात–निर्यात सहज नभएको बताएका हुन् ।
“भन्सार विभागले काममा छिटो छरितो, पारदर्शिता र एकरूपता ल्याउन सुरु गरेको प्रविधि आसिकोडाले गर्दा समस्या भइरहेको छ,” भन्सार एजेन्ट संघ भैरहवाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले भने, “आसिकोडाको सर्भर समयमा नखुल्ने, खुले पनि बिचैमा बिच्छेद भइरहने, भन्सार परिसरमा छिरेका गाडीको जाँचपास २ घन्टाभित्र गरी सक्नुपर्ने प्रावधान भए पनि दिनभर लाग्ने, दक्ष कर्मचारी नहुँदा समस्या पर्ने गरेको छ ।” उनले समस्याको तत्काल समाधान गर्न माग गरे ।
भन्सार एजेन्ट महासंघका अध्यक्ष तथा भैरहवा भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष डा. शान्तकुमार शर्माले कर्मचारीको लापरबाही, प्रविधिको अभाव र बढ्दो ट्राफिक समस्याका कारण व्यवसायीहरूलाई समस्या भएको बताए । उनले एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)को निर्माणका लागी पहल गर्न आग्रह गरे । “राष्ट्रको ४४ प्रतिशत राजस्व यो भन्सारबाट जाने गरे पनि भन्सार एजेन्टका समस्याप्रति सरकार गम्भीर छैन,” उनले भने ।
सिद्धार्थ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा भन्सार एजेन्ट संघ भैरहवाका पूर्वअध्यक्ष विष्णु शर्माले भैरहवा भन्सार नाकामा पटक–पटक समस्या हुँदा व्यवसायीहरू वैकल्पिक मार्ग खोज्न बाध्य हुने गरेको बताए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले आसिकोडा प्रविधीमा समस्या आइरहेको स्वीकार गर्दै यसबारेमा भन्सार विभागलाई पत्राचार गरिसकेको र समस्या निराकरण गर्न लागी परेको बताए ।

समस्या समाधान गर्न पहल गर्छु: सांसद भुसाल
रूपन्देही–३ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य घनश्याम भुसालले भन्सार क्षेत्रका समस्या समाधानका सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् । भन्सार एजेन्ट संघ भैरहवाको ९औं अधिवेशनको उद्घाटन गर्दै सांसद भुसालले भारत सरकारबाट निर्माण गरिने आईसीपी (एकीकृत भन्सार जाँच केन्द्र)का लागि आवश्यक काम अघि बढाउन भारतीय समकक्षी र अर्थ मन्त्रालयमा आपmूले समन्वय गर्ने बताए । उनले नेपाल–भारत सिमा नाका बेलहिया र अन्य क्षेत्रमा हुने ट्रापिmक जामलाई कम गर्न सम्बन्धित निकायमार्फत पहल गर्ने आश्वासनसमेत दिए ।
सांसद भुसालले आउँदो बर्षाअघि नै भैरहवालाई लोडसेडिड मुक्त गर्ने दाबीसमेत गरे । भैरहवालाई लोडसेडिङ मुक्त बनाउन विद्युत प्राधिकरणले काम गरिरहेको भन्दै उनले भैरहवामा रहेको सेजलाई आवश्यक पर्नै विजुली उपलब्ध गराइने बताए ।
कार्यक्रममा रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहरा, वीरगन्ज भन्सार एजेन्ट संघका अध्यक्ष बालकृष्ण बस्नेत, भैरहवा भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष प्राचिन थैब, भैरहवा भन्सार एजेन्टका महासचिव मधुसुदन पन्थीलगायतले भैरहवा भन्सारलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भन्सार एजेन्ट संघ भैरहवालाई सहयोग गरेको भन्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, पूर्वअध्यक्ष शिव शर्मा, ट्रान्स नेपालका प्रमुख रवि पारिख, पूर्वउपाध्यक्ष विष्णु शर्मा, केशव श्रीवास्तवलगायतलाई सम्मान गरिएको थियो ।

मनोरञ्जन शर्मा

प्रतिक्रिया दिनुहोस्