Logo

हाम्रो देश नेपालमा प्रत्येक दिन हजारौँ मानिस मधुमेहबाट ग्रसित भइरहेका छन् । नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशतभन्दा बढी मधुमेहबाट प्रभावित तथा जोखिममा छन् ।

मधुमेह नियन्त्रणमा स्थानीय सरकारको भूमिका

फाइल तस्बिर।

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवम् गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।

यस लेखमा मधुमेह रोगबारे प्रस्तुत गर्ने जमर्काे गरिएको छ । हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ । यस वर्षको विश्व मधुमेह निवसको नारा ‘भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्व’ भन्ने रहेको छ । हाम्रो देश नेपालमा प्रत्येक दिन हजारौँ मानिस मधुमेहबाट ग्रसित भइरहेका छन् । नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशतभन्दा बढी मधुमेहबाट प्रभावित तथा जोखिममा छन् । मधुमेहलाई अङ्ग्रेजीमा मधुमेह, मधुमेह मिलाइटस वा डायबिडिज मलाइटस भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ ।

मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा मधुमेह मिलाइटस भन्ने गरिन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि तारन्तार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । यसलाई बेलैमा उपचार गरिएन भने यस रोगले धेरै जटिलता निम्त्याउन सक्छ । छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् ।

लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्छन् । मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो । मधुमेहलाई मुख्यतया दुई प्रकारमा बाँड्न सकिन्छ, टाइप वान डायबिटिज र टाइप टु डायबिटिज । हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ ।

यो विशेष बच्चाहरूमा देखिन्छ । साथै अन्य उमेर समूहका मानिसहरूमा पनि देख्न सकिन्छ । यसको एकमात्र उपचार इन्सुलिन दिई जीवन रक्षा गर्नु हो । टाइप टु डायबिटिज नेपाल वा विश्वका मानिसहरूमा देखिने सबैभन्दा समान मधुमेह हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकको भाषामा टाइप टु डायबिटिज भनिन्छ । मानव शरीरको प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई मानव शरीरले सही प्रयोग नगर्दा यो मधुमेह हुन्छ ।

हाम्रो देशमा अस्वस्थकर जीवनयापनका कारण मधुमेह रोग बढिरहेको पाइन्छ । गाउँघरमा करिब ७ प्रतिशत र सहरी क्षेत्रमा २० प्रतिशत मधुमेहका रोगी छन् । विश्वकै कुरा गर्ने हो भने करिब २५ प्रतिशतभन्दा बढी मानिस यो रोगको जोखिममा छन् । १.२ मिलियनभन्दा बढी बालक र किशोरकिशोरी १९ वर्षसम्ममा टाइप एक मधुमेह र ५ सय ३७ मिलियन वयस्क २० देखि ७९ वर्षका मानिसमा मधुमेह छ भने करिब १५ प्रतिशत पहिचान भएको पाइँदैन । विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार २५ देखि ३५ वर्षका नेपालीमध्ये करिब १५ प्रतिशतलाई मधुमेह छ । हाम्रो देशमा यो रोग लागेकाहरूले स्वास्थ्यकर्मीसँग सल्लाह, जानकारी लिने र नियमित औषधि खाने गरेको धेरै कम छ ।

नेपाल हेल्थ रिसर्च काउन्सिलको अध्ययनमा २५ प्रतिशत बिरामी आफंैले औषधि बीचैमा छुटाउने गरेको पाइयो । विकसित देशमा भने नियमित औषधि खानेको मात्रा बढी हुन्छ । हाम्रो देशमा मधुमेह उपचारका धेरै चिन्ताजनक अवस्था नियन्त्रणमा देखिन्छ । त्यस्तै, अर्काे एक अध्ययनअनुसार नेपालमा औषधि खाएकामध्ये केवल ३४ प्रतिशतमा पूर्ण नियन्त्रण, युरोपमा ७० प्रतिशतभन्दा बढी, अमेरिकामा ५० प्रतिशतभन्दा बढी र चीनमा ४५ प्रतिशत बिरामीमा यो रोग नियन्त्रणमा रहेको पाइन्छ ।

नेपालमा ३४ प्रतिशत मात्र औषधि सेवन गरी पूर्ण नियन्त्रण हुनु भनेको चिन्ताको विषय हो । यसबाट प्रमाणित हुन्छ कि मधुमेह रोग नियन्त्रणमा भएको सरकारी, गैरसरकारी र जनताको व्यक्तिगत मेहनत, अन्य खर्च प्रतिफल प्राप्त भएको पाइँदैन । नेपालमा यो रोग नियन्त्रण गर्न अवलम्बन गरिएको नीतिनियम नै प्रभावकारी भएन, सो कुरा माथिको आँकडाले प्रमाणित गर्छ । विकसित देशको जस्तो स्वास्थ्य प्रणाली हाम्रो देशमा विकास गर्न नसकेको स्वतः स्पष्ट हुन्छ ।

त्यस कारण प्रभावकारी नीतिनियम बनाई सो कार्यान्वयनमा पहलकदमी गर्ने, यसका लागि स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, स्वास्थ्य बिमा प्रभावकारी बनाउने साथै नागरिकको चेतना बढाउन आवश्यक कदम चाल्ने, यो रोगका बिरामीले चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्ने, सबै स्थानीय सरकारले मधुमेह रोगको स्क्रिनिङ गरेर बिरामी पत्ता लगाउने, यो रोगका बिरामीले आवश्यक परे इन्सुलिन लिन पनि बिनाहिचकिच नगरी लिने, स्वास्थ्यकर्मीको सल्लाहअनुसार रगत जाँच गर्ने, खानपान र आवश्यक कसरतमा ध्यान दिने, यो रोगले औसत १३ वर्ष आयु घटाउने भएकाले मधुमेहबाट छुट्कारा पाउन सके १३ वर्ष आयु बढ्छ ।

युरोप, अमेरिकाभन्दा १० वर्षपहिलेको उमेरमा नेपालमा मधुमेह देखिएको छ । ३० वर्ष नपुग्दै मधुमेहबाट ग्रसित हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । यो ज्यादै दुःखको कुरा हो । द्रुत गतिमा बढ्दै गरेको सहरीकरण, आधुनिक युगका समस्याहरू, अचानक खानपान वा रहनसहनमा आएको परिवर्तन तथा पाश्चात्यकरण (फास्टफुड, कोकाकोला, इन्जेक्सन) प्रचुर मात्रामा भोजनको उपलब्धता वा शारीरिक श्रमको कमीका कारण मधुमेह हाम्रो देशमा हिजोआज चाँडै बढ्दै छ । यो रोग वंशाणुगतको रूपमा समेत देखा पर्छ । तनाव बढी, तौल बढी आदिलाई यो रोग लाग्छ । ५० प्रतिशत बिरामीलाई मधुमेह भएको थाहा नै नभई दीर्घकालीन असर पुर्‍याएको हुन्छ ।

मधुमेह भएको थाहा पाउँदा विकसित मुलुकमा ५ प्रतिशतको आँखामा असर भएको पाइए पनि विकासोन्मुख देशमा यो संख्या दोब्बर रहेको सम्बन्धित विज्ञ बताउँछन् । यो रोग कुनै पनि उमेरमा हुन सक्छ तर नेपालमा भने परिश्रम कम गर्ने ४० वर्षभन्दा माथिका उमेर समूहका मानिसहरूमा बढी मात्रामा देखिएको पाइन्छ । मधुमेहका प्रमुख लक्षणहरू वजनमा कमी हुनु, धेरै भोक, तिर्खा वा पिसाब लाग्नु, थकाइ, पिँडुला दुख्ने, पटक–पटक संक्रमण हुनु वा घाउ ढिलो निको हुनु, हातखुट्टा झमझम गर्नु, सुन्ने लाग्नु वा पोल्ने गर्नु, नपुङ्सकता आदि हुन् ।

कतिपय मान्छेमा मधुमेह धेरै हुने सम्भावना हुन्छ, जस्तै– मोटो व्यक्ति, परिवार वा वंशमा मधुमेह हुनु, उच्च रक्तचाप भएको रोगी, जुन मान्छेले व्यायाम वा शारीरिक श्रम कम गर्छ वा गर्दैन, सहरी व्यक्तिहरूमा गाउँको भन्दा धेरै मधुमेह रोग हुने सम्भावना हुन्छ । मधुमेहको रोकथाम वा व्यवस्थापन भनेकै रगतमा भएको चिनीको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पु¥याउने अन्य तत्वको निवारण गर्नु हो । जसका लागि इन्सुलिनको मात्रा यथावत् राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने, रक्तचाप नियन्त्रण गर्ने, खानामा विशेष ध्यान पुर्‍याउने, बढी कार्बोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने, धूम्रपान र मद्यपान त्याग्ने, बढी चिल्लो युक्त पदार्थको सेवन नगर्ने, सन्तुलित र नियमित भोजन लिने र नियमित व्यायाम गर्नुपर्छ ।

नुन, चिनी, गुँड, घिउ, तेल, दूध र दूधबाट बनिएका वस्तुहरू पराठा, मीठा खानेकुराहरू, आइसक्रिम, मिठाई, मासु, अन्डा, चकलेट, सुकेको नरिवल आदिजस्ता खाद्यपदार्थहरूको थोरै मात्रामा प्रयोग गर्नुपर्छ भने हरिया सब्जीहरू, काँक्रो, गोलभेंडा, प्याज, लसुन, कागती र सामान्य खुर्सानी तथा मसलाहरूको प्रयोग गर्नुपर्छ । खाना खाने समय जहाँसम्म सम्भव हुन्छ निश्चित हुनुपर्छ र लामो समयसम्म भोको बस्नु हुँदैन । खानाको मात्रा चिकित्सकद्वारा रोगीको वजन र उचाइका हिसाबले केलोरीको गणना गरी निर्धारित गरिन्छ ।

उपचारको दोस्रो उपाय सबैभन्दा राम्रो शारीरिक व्यायाम जस्तै: खेतबारीको काम तथा पसिना बग्ने काम हो । भोजनमा उपयुक्त परिवर्तन र व्यायामले जहाँसम्म रगतमा ग्लुकोज नियन्त्रित रहन्छ, त्यही अर्कातिर शरीरको वजन सन्तुलित रहन्छ र रक्तचाप नियन्त्रण गर्नमा सहायक हुन्छ । साथै यो रोग रोकथामका लागि स्थानीय सरकारले स्थानीय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्न अति आवश्यक हुन्छ । संक्षेपमा भन्नुपर्दा यो रोग नियन्त्रणमा स्थानीय सरकार, स्वास्थ्यसंस्था तथा रोगी आफैँको भूमिका मत्वपूर्ण हुन्छ । तबमात्र हरेक वर्ष नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्