बैंकले व्यापारीलाई लगानी नगरेको, आयातमा कडाई गरिएको र महंगी बढ्दै गएकाले आयात घटेको छ : भन्सार अधिकृत
भन्सार राजश्व असुली ओरालोमा

पछिल्लो तीन वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व असुली भएको हो ।
कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो तीन महिनामा लक्ष्यको ६४.९० प्रतिशत राजश्व असुल भएको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ८५.८८ प्रतिशत राजश्व असुली गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ११२.९२ प्रतिशत राजश्व असुली गरेको थियो । साउन, भदौ र असोज महिनामा कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ६१ करोड ८२ लाख ५८ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखेको भएपनि एक अर्ब ६९ करोड ९१ लाख २१ हजार रुपैयाँ मात्रै असुल गरेको छ ।
सोही अवधिमा आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ५७ करोड ९० लाख ८४ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखिएकोमा दुई अर्ब २१ करोड ५० लाख रुपैयाँ असुल गरेको छ भने आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ७८ करोड तीन लाख ८९ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखिएकोमा दुई अर्ब एक करोड चार लाख १४ हजार रुपैयाँ असुल गरेको थियो ।

आर्थिक वर्षभरि २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको भएपनि आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैयाँ (१०७.५९ प्रतिशत) असुल गरेको थियो । सो आर्थिक वर्षमा लक्ष्य भन्दा असुली बढि भएपनि भन्सार विभागले कैलाली भन्सार कार्यालयको वार्षिक राजश्व असुली गर्ने लक्ष्य बृद्धि गरी आर्थिक वर्षमा २०७८/७९ मा ११ अर्ब ८२ करोड ३९ लाख १७ हजार रुपैयाँ निर्धारण गरेको थियो । तर राजश्व असुली दर अपेक्षाकृत रुपमा बृद्धि नहुँदा असुली ८१.०४ प्रतिशत (नौ अर्ब ५८ करोड २६ लाख ५० हजार रुपैयाँ) मा सीमित रह्यो । चालु आर्थिक वर्षमा पनि कैलाली भन्सार कार्यालयको राजश्व असुल गर्ने लक्ष्य बृद्धि गरी १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार रुपैयाँ निर्धारण गरेको छ । तीन महिनाको अवधिमा वार्षिक लक्ष्यको १३.८१ प्रतिशत असुल गरेको छ । यसवर्ष वार्षिक राजश्व असुल गर्ने लक्ष्य भन्दा ३५ प्रतिशत बढिले न्युन राजश्व असुल भएको छ ।
आर्थिक वर्ष २०७७/७८ भन्दा पहिले पनि कैलाली भन्सार कार्यालयको राजश्व असुली दर लक्ष्य भन्दा कम थियो । आर्थिक वर्ष २०७६/७७ मा ६ अर्ब ७० करोड ३१ लाख ६६ हजार रुपैयाँ असुल गर्ने लक्ष्य राखिएकोमा चार अर्ब ९२ करोड १० लाख पाँच हजार रुपैयाँ (७३.४१) प्रतिशत राजश्व असुल भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा पाँच अर्ब २२ करोड १३ लाख ४६ हजार रुपैयाँ असुल गर्ने लक्ष्य निर्धाण गरेकोमा पाँच अर्ब १९ करोड ७५ लाख १९ हजार रुपैयाँ (९९.५४ प्रतिशत) असुल भएको थियो ।
कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले आयात घटेको कारणले गर्दा राजव असुलीमा संकुचन आएको बताए । उनले गाडी, मोटरसाइकल जस्ता विलासितामा सामानहरु र महंगा सामानहरु आयातमा रोक लगाइएकोले अनिवार्य सामानहरु मात्रै आयात भइरहेको बताए । बैंकहरुले व्यापारीलाई ऋण लगानी नगरेको कारणले पनि सामान आयात घटेको खड्काले बताए । उनले बढ्को महंगी, डलरको भाउ बृद्धि, उपभोक्ताको क्रय शक्तिमा क्षयिकरण, बैंकहरुको ऋण लगानी कटौती, तरलता अभाव लगायतको कारणले आयात घट्न गई भन्सार राजश्व असुली पनि संकुचित हुँदै गएको बताए । उनले पेट्रोलियम, खाद्यान्न, तरकारी र केही अन्य सामानहरु मात्रै आयात भइरहेको बताए ।
सबै भन्दा बढि डिजल, पेट्रोल, नमकिन, खाना पकाउने ग्यास, फिनिसिङ्ग सेरामिक्स, बेकरी सामानहरु, आलु, खुर्सानी, पापड, कागज, ब्लांकेट र गलैचा कैलाली भन्सार भएर भारतबाट भित्रिने गरेको छ । कैलाली भन्सारबाट आर्थिक वर्ष २०७९/८० को साउन, भदौ र असोजमा एक अर्ब ५६ करोड ८२ लाख १८ हजार रुपैयाँको डिजल आयात भएको छ । ७१ करोड ७९ लाख ३ हजारको पेट्रोल, ४३ करोड ३८ लाख २३ हजारको खाना पकाउने ग्यास, १५ करोड ६२ लाख २९ हजारको नमकिन, ७ करोड ४८ लाख ४ हजारको फिनिसिङ्ग सेरामिक्स, १५ करोड ४३ लाख ४१ हजारको आलु र खुर्सानी आयात भएको छ ।