निर्वाचनको तयारी पूरा

यही मंसिर ४ गते आइतबार एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको हो ।
आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए ।
आयोगले कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाइवा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुर्याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानूनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ ।
“सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट निर्वाचनको निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिन आयोग संवेदनशील छ र यसतर्फ सबैको ध्यान जानु आवश्यक छ,” प्रमुख आयुक्त थपलियाले भने, “यो अवधिमा सामाजिक सञ्जालबाट फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन र नियन्त्रण गर्न आयोगले सामाजिक सञ्जालका कम्पनीसँग सहकार्य गरिरहेको र ती कम्पनीले पनि विशेष निगरानी गरिरहेका छन् । मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति फैलन नदिनु सबैको साझा दायित्व भएकाले निर्वाचनको बाँकी अवधिमा सबै पक्षबाट यो दायित्वको पूर्ण पालना हुनेमा आयोग विश्वस्त छ ।”
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्य गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउनसमेत नपाइने व्यवस्था छ । त्यसैले आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको छ भने यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ ।
मदिरा निषेध
मतदान सुरू हुने दिनभन्दा ४८ घण्टाअघिदेखि अर्थात् बिहीबार राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्णरूपले निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवन गर्ने/गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।
मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिष्क मन्थनलगायतका विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।