Logo

जुम्लामा जीप दुर्घटना, आठजना घाइते तीनको अवस्था गम्भीर

जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा आठजना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ । जुम्ला सदरमुकामबाट तातोपानी गाउँपालिका–८ स्थित जनजागृती मावि ¬(ताम्ती) मतदान केन्द्रमा खटिएको टोलीलाई लिएर गरेको भे १ च २१८८ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो साढे २ बजे दुर्घटना भएको थियो ।
तिला गाउँपालिका–४ स्थित रावतबाडा भन्ने ठाउँमा एक्कासि गाडी अनियन्त्रित भई त्रिवेणी–टोप्ला सडक खण्डको २० मिटर तल खस्दा आठजना घाइते भएका हुन् । निर्वाचनका सम्पूर्ण सामग्री भने सुरक्षित छन् ।
जीप दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वोन्दबहादुर शाहीले बताए । घाइते हुनेमा जुम्ला चन्दननाथ–१० का अंगराज गिरि, तातोपानी–४ निवासी सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने र सल्यान निवासी प्रहरी हवल्दार सुरज चन्द रहेका छन् ।
अन्य पाँचजना भने सामान्य घाइते छन् । जसमा मतदान अधिकृत चन्दनाथ–१० निवासी हरिप्रसाद देवकोटा, प्रहरी जवान कालिकोट निवासी राजेन्द्र विष्ट, तातोपानी–५ की आशा चौलागाईं, धादिङ निवासी सिताराम दराई र तातोपानी–४ निवासी चालक सुरेश सार्की सामान्य घाइते भएको अस्पतालले जनाएको छ । घाइते आठ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार निर्वाचन सामग्री सबै सुरक्षित छ भने, ताम्ती मतदान केन्द्रका लागि नयाँ टिम खटाइने तयारी भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए । उनले भने, “निर्वाचनमा खटिएका सबै कर्मचारी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । उनीहरूको विशिष्ट कक्षमा उपचार भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्