Logo

छैनन् अपाङ्गमैत्री मतदानस्थल

जुम्लामा तीन हजार अपाङ्ग मतदाता

जुम्लाको हिमा गाउँपालिका–७ खलढुङ्गाका सूर्य अधिकारी ह्विलचियर बिना आवतजावत गर्न सक्दैनन् । उनका दुवै खुट्टामा समस्या भएका कारण ह्विलचियरको सहारा बिना आवतजावत गर्न मुस्किल हुन्छ ।
यही ४ मंसिरमा हुने निर्वाचनमा अपाङ्गमैत्री मतदान स्थल नहुँदा अधिकारी मताधिकारबाट वञ्चित हुँदैछन् । निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपाङ्गता भएका व्यक्ति सूर्य अधिकारीको गुनासो छ ।
यस्तै चन्दननाथ नगरपालिका–५ कालेखोलीका मोहन शाही र विष्णुमाया श्रेष्ठ पनि ह्विलचियरकै सहारामा आवतजावत गर्छन् । नगरपालिकाभित्रै भएकाले अपाङ्गमैत्री मतदानस्थल भए सहजै मतदान गर्न पाउने आशामा रहेकी विष्णुमाया भने कतै अपाङ्गमैत्री मतदानस्थल नभएको कुराले दु:खित छन् । विष्णुमायालाई आफ्नो मताधिकार खोसिएको दु:खमात्र छैन, सरोकारवालाको कमजोरीले संविधानले व्यवस्था गरेको अपाङ्ग व्यक्ति अधिकारलाई नै कुण्ठित गरेको महसुस भएको छ ।
यता चन्दननाथ नगरपालिका–७ खलाचौरका हरिचन्द्र रावललाई पनि ह्विलचियर जाने मतदानस्थल बिना मतदान गर्न सम्भव छैन । जुम्लामा एउटा पनि अपाङ्गमैत्री मतदानस्थल नहुनु अपाङ्ग व्यक्तिमाथि अत्याचार, अन्याय भएकाले यसका विरुद्ध बोल्नु पर्नेमा रावलको जोड छ ।
सूर्य अधिकारी, मोहन शाही, विष्णुमाया श्रेष्ठ र हरिचन्द्र रावल एक उदाहरणमात्र हुन् । जुम्लामा अपाङ्गमैत्री मतदानस्थल नहुँदा जुम्लामा रहेका झण्डै दुई हजार बढी अपाङ्ग मतदाता मतदान गर्नबाट वञ्चित हुने देखिन्छ ।
अपाङ्ग पुन:स्थापना विकास केन्द्र जुम्लाका पूर्वअध्यक्ष नन्दराज धिताल भन्छन्, “जुम्लामा जम्मा अपाङ्गगता भएका व्यक्ति करिब आठ हजार बढी छन् । तीमध्ये मतदाता रहेका अपाङ्ग व्यक्ति तीन हजार बढी होलान् । तर जुम्लामा अपाङ्गमैत्री मतदानस्थल नहुँदा सबै अपाङ्ग व्यक्ति मतदानबाट वञ्चित हुनेछन् । सरोकारवालाको उदासिनताप्रति घोर आपत्ति छ ।”
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सबै जिल्लामा अपाङ्गमैत्री मतदानस्थल सहित सहज मतदानको व्यवस्था गर्न निर्देशन दिएका छन् । धितालले थपे, “तर जुम्लामा संविधानमै भएको व्यवस्था र निर्वाचन आयोगको निर्देशनसमेत पालना भएको पाइएन । आठै स्थानीय तहमा पनि एउटा अपाङ्ग मतदानस्थल नहुनुले समग्र अपाङ्ग व्यक्तिलाई उपेक्षा गरेका महसुस भएको छ । अब आन्दोलन गरेर पनि हुनेवाला छैन । भविष्यका निर्वाचनमा यस्तो काम नहोस् ।”
४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा एउटा पनि अपाङ्गमैत्री मतदानस्थल छैनन् । जुम्लामा ८३ मतदानस्थल र १ सय ६ वटा मतदान केन्द्र रहँदा एउटा पनि अपाङ्गमैत्री नबनाइनु दु:खद पक्ष हो । अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा मतदान गर्नका लागि अपाङ्गमैत्री मतदानस्थल हुनुपर्ने सरकारको नीति छ ।
जुम्ला भौगोलिक रुपमा विकट भए पनि समथर भएका स्थानमा अपाङ्गमैत्री मतदानस्थल बनाउन सकिने भए पनि राज्यका सरोकारवाला निकायको इच्छा शक्ति नभएको अपाङ्ग मतदाताको गुनासो छ ।
यता मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले अपाङ्गमैत्री मतदानस्थल बनाउने विषयमा नीतिगत छलफल नभएको बताए । उनले भने, “सबै दल बसेर कहाँ अपाङ्गमैत्री मतदान स्थल राख्ने ? कति राख्ने भन्नेबारे छलफल गरी आयोगमा पठाउनु पथ्र्यो । अनि मात्र मतदानस्थल कायम हुन्थ्यो । तर यस विषयमा १/२ महिनाअघि नै छलफल नहँुदा समस्या भएको हो ।” निर्वाचन आउन दुई दिनमात्र बाँकी रहेकाले अब सम्भव छैन । आगामी निर्वाचनमा यो विषयलाई जोडतोडले अघि बढाउन नागरिक अगुवा सचेत हुनुपर्ने उनको भनाइ छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईंका अनुसार जुम्लामा ८३ मतदानस्थल र १ सय ६ मतदान केन्द्र छन् । सबै मतदानस्थल अपाङ्गमैत्री नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्