सुध्रिँदै बैतडीका आधारभूत विद्यालय

बैतडी । नेपालको शिक्षा क्षेत्रमा लगानी अनुसारको गुणस्तर नभएको गुनासो बेलाबेलामा आइरहन्छ । धेरै लगानीमा सञ्चालित सरकारी विद्यालय भन्दा थोरै लगानीमा सञ्चालित निजी विद्यालयको गुणस्तर तुलनात्मक रूपमा राम्रो देखिन्छ । तर पछिल्लो समय नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विभागसँग सहकार्य गरी विभिन्न संघसंस्थाहरूले शिक्षण क्रियाकलामका लागि डिजिटल ई–पार्टी, दिवा खाजा, शिक्षक विद्यार्थीको आनिबानी परिवर्तनलगायत अन्य विभिन्न सहयोग गर्न थालेपछि बैतडीका केही आधारभूत विद्यालयको पढाइ पनि सुधार हुन थालेको छ ।
आधारभूत तहका ४ सय ४१ सामुदायिक विद्यालय रहेको जिल्लामा यस शैक्षिक सत्रका लागि १ लाख ३१ हजार ५ सय ३४ विद्यार्थी भर्ना भएका थिए । यस जिल्लामा सञ्चालित सरकारी विद्यालय भन्दा निजी विद्यालयको पढाई प्रभावकारी देखिएको छ । दरबन्दीअनुसार शिक्षकको व्यवस्था गरिए पनि विद्यार्थीहरूको पढाइ प्रभावकारी नहुने गरेको स्थानीय अविभावकको गुनासो छ । तर यस जिल्लाका केही विद्यालय भने विभिन्न संघसंस्थाहरूको सहयोग पाएपछि सुधार हँुदै गएका छन् ।
शिक्षाका लागि विश्व खाद्य कार्यक्रमले यस जिल्लाका १ सय ९९ विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । सोही विद्यालयहरूमा विद्यालर्थीहरूको बानीव्यवहार सुधारका लागि विश्व खाद्य कार्यक्रमबाटै सिडिएम संस्थाले सरसफाइसम्बन्धी काम गरिरहेको छ । जिल्लाका १५ वटा सामुदायिक विद्यालयमा डिजिटल ईपार्टी कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयको पढाइ प्रभावकारी हुन थालेको छ । ईपार्टीले शिक्षक विना नै विद्यार्थीहरूले प्रभावकारी रूपमा ज्ञान लिने गरेको स्थानीय शिक्षिका लक्ष्मी ओझाको भनाइ छ । “कम्प्युटरबाट विद्यार्थीहरूले रमाएर पढ्छन् ।
रमाइलो वातावरणमा ग्रहण गरेको शिक्षा प्रभावकारी पनि हुन्छ,” शिक्षिका ओझाले भनिन् । कम्प्युटरबाट विद्यार्थीहरूले रमाउँदै पढ्न थालेपछि अन्य विद्यालयहरू भन्दा कम्प्युटरसहितका डिजिटल ई–पार्टी शिक्षा लागू भएका विद्यालयहरूको पढाइ स्तर प्रभावकारी भएको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ । जिल्लाका १५ विद्यालयमा पहिलो चरणमा अभ्यासको रूपमा लागू भएको यो कार्यक्रम अन्य विद्यालयमा पनि लागू हुने शिक्षाका लागि खाद्य इकाई कार्यालय बैतडीका प्रमुख ऋषिराम विमलीले बताए ।
अन्य सामुदायिक विद्यालयको तुलनामा कम्प्युटर सहितको ईपार्टी, दिवा खाजा र सरसफाइका साथै व्यवहार परिवर्तन कार्यक्रम लागू भएका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको प्रमुख विमलीको भनाइ छ । विद्युतको पहुँचभन्दा बाहिर रहेका विद्यालयहरूमा सोलार जडान गरेर भए पनि अहिले जिल्लाका १५ विद्यालयमा ३ सय १२ वटा ल्यापटप वितरण गरी डिजिटल ईपार्टीबाट कक्षा सञ्चालन भइरहेका छन् ।
नरी बडु