Logo

खाद्यान्नको उन्नत बीउ निकासी गर्दै सुदूरपश्चिम

खाद्यान्न उत्पादनमा आत्मनिर्भर भई निकासी गरिरहेको सुदूरपश्चिम प्रदेश खाद्यान्नको उन्नत बीउ उत्पादनमा समेत आत्मनिर्भर भई निकासी गर्न थालेको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार सुदूरपश्चिम प्रदेशमा रहेका बीउ उत्पादक कम्पनी र सहकारी संस्थाहरुले बीउ प्रदेशमा आवश्यक भन्दा बढि बीउ उत्पादन गरी अन्य प्रदेशमा बिक्री गर्न थालेका छन् । कैलाली कञ्चनपुरमा रहेका बीउ उत्पादक कम्पनी र सहकारीहरुले यसपाली दुई हजार सात सय ९५ टन गहुँको मल र उन्नत बीउ उत्पादन गरेका छन् ।
कैलालीमा प्रति वर्ष पाँच हजार टन गहुँको बीउ आवश्यक पर्छ । कुल आवश्यक बीउको २० देखि २५ प्रतिशत हरेक वर्ष गहुँको बीउ रिप्लेस गर्नु पर्ने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए । उनले कम्पनी र सहकारीले उत्पादन गरेको उन्नत बीउको लगभग आधा हिस्सा अन्य प्रदेशमा निकासी हुने गरेको बताए ।
यसैगरी, कैलालीमा धानको बीउ प्रतिवर्ष ३५ सय क्वीन्टल आवश्यक पर्छ । धानको बीउ पनि वार्षिक २० देखि २५ प्रतिशत रिप्लेस गर्नुपर्नेमा आवश्यक भन्दा दोब्बर उत्पादन हुने गरेको छ । यहाँका बीउ उत्पादकले मकै, मसुरो, रायो, तोरी, तरकारी, आलु, केराउको बीउ उत्पादन गर्ने गरेका छन् । मुसुरो, तोरी, आलुको बीउ उत्पादनमा समेत सुदूरपश्चिम प्रदेश आत्मनिर्भर भएको छ । यस प्रदेशले आलुको बीउसमेत अन्य प्रदेशमा पठाउन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा विजय, डब्लु के १२०४, वाणगंगा, बिएल ४३४१, गौतम, एनएल ९७१, वोर्लग २०२०, जिंक १ र २, आदित्य, खुमलशक्ति, स्वर्गद्वारी नामका गहुँको मुल र उन्नत बीउ उत्पादन हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपञ्छी विकास कार्यक्रम, प्रधानमन्त्री कृषि कार्यक्रम र कृषि सुपर जोन लगायतका कार्यक्रमले खाद्यान्न उत्पादनमा ठूलो सहयोग गरेको छ । मुख्यमन्त्री कृषि कार्यक्रमले आर्थिक वर्ष २०७७/७८ मा एक सय टन गहुँ, एक सय टन आलु र ५० टन धानको बीउ उत्पादनमा सहयोग गरेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा गहुँको बीउ थप ७५ टन, धानको बीउ थप १५० टन भएको थियो । सो कार्यक्रम अन्तरगत गहुँको बीउ प्रतिस्थापन ३५० हेक्टर उन्नत बीउको उत्पादनको क्षेत्र विस्तार गरिएको छ भने सात सय हेक्टरमा धानको बीउ प्रतिस्थापन गरी उन्नत बीउ उत्पादनको क्षेत्र विस्तार गरिएको छ ।
मुख्यमन्त्री कृषि कार्यक्रम अन्तरगत दुई वर्षमा कैलाली जिल्लामा १० टन भण्डारण क्षमता भएका चार वटा बीज भण्डारण गृह निर्माण गरिएको प्रमुख शर्माले बताए । उनले दुई सय हेक्टरमा सिंचाई सुविधा विस्तार गरिएको बताए । यसैगरी, साना ठूला गरी एक हजार नौ सय ६५ वटा कृषियन्त्र किसानलाई वितरण गरिएको छ ।
धान र गहुँको मुल बीउ प्रयोग गर्ने दर वृढि हुनुका साथै कृषि कार्यक्रम मार्फत् सिकान प्रविधि र उपकरण सहयोग पाउने क्रम बढेको भएपनि कृषिको उत्पादकत्वमा भने पछिल्लो दुई वर्षयता खासै वृद्धि भएको छैन । प्रमुख शर्माले प्रकृतिमा आधारित कृषि प्रणाली भएको हुनाले उत्पादकत्व स्थिर रहेको बताए । उनले बेमौसमी वर्षा, बाढी र सुख्खा पर्ने गरेकाले कृषिको उत्पादकत्व बढ्न नसकेको बताए । यसवर्ष तीन लाख १५ हजार टन धान उत्पादन हुने अनुमान गरिएको प्रमुख शर्माले बताए । उनले दसैंपछिको वर्षा र बाढीले गर्दा धानको कुल उत्पादनमा १० प्रतिशत ह्रास आउने समेत अनुमान गरिएको बताए । गतवर्ष बेमौसीमा वर्षा र बाढीले गर्दा ६० प्रतिशत धान नोक्सान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्