जापानी राज्यमन्त्री निर्वाचन पर्यवेक्षकका रुपमा आउने

जापानका विदेश राज्यमन्त्री ताकेइ स्युनसुके नेपाल भ्रमणमा आउने भएका छन् । काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार उनी दुई दिने भ्रमणका लागि आइतबार नेपाल आउन लागेका हुन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवलोकनका लागि उनी नेपाल आउन लागेको दूतावासले जनाएको छ । नेपालमा हुने आम निर्वाचनमा यसअघि पनि जापानबाट विभिन्न प्रतिनिधिहरु आउने गरेका थिए ।
जापानले प्रजातान्त्रिक प्रणालीमा आवधिक निर्वाचन विना डरत्रास, पारदर्शी र शान्तिपूर्ण रुपमा हुनुपर्ने र यसले विकास र समृृद्धिका लागि सहयोग पुग्ने बताएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार २१९ जनाले पर्यवेक्षण गर्दैछन् ।
पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगले हालसम्म करिब सात हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ ।
आयोगको निमन्त्रणामा भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहित निर्वाचन व्यवस्थापन गर्ने निकायको टोली मतदानको दिनको अवलोकन गर्न आउने भएका छन् । नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ ।