कोरियामा नेपालीलाई थप अवसर «

कोरियामा नेपालीलाई थप अवसर

वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियामा एक वर्षमै १२ हजार नेपाली गएका छन् । यी सबै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका हुन् ।
कोभिड महामारीपछि दक्षिण कोरियामा विदेशी श्रमिकको अभाव भएको छ । कामदार आपूर्तिका लागि कोरियाले पहिले दिएको कोटामा थप संख्या बढाएका कारण धेरै नेपाली कोरिया जान पाएका हुन् । अघिल्ला वर्षहरुमा वार्षिक औसत ७ हजारको संख्यामा नेपाली जाने गरेका थिए । पछिल्लो एक वर्ष (कात्तिकदेखि कात्तिकसम्म) ५ हजार नयाँ थपिएर १२ हजार जना पुगेको हो ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखा प्रमुख पुष्पराज कटुवालले कोरियाले आगामी वर्षका लागि नेपाल लगायत विभिन्न १६ राष्ट्रबाट १ लाखभन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएको जानकारी दिए । “कोरियाले आगामी वर्षबाट देशगत रुपमा कोटा निर्धारण नगर्ने नीति लिएको छ । यसले धेरै नेपाली युवाले कोरिया रोजगारीको अवसर पाउने देखिएको छ,” प्रमुख कटुवालले कारोबारसँग भने, “कोरियाले कोटाको सट्टा जसले छिटो श्रमिक पठाउँछ, त्यही देशबाट धेरै दिने नीति लिएको छ ।”
कोरियाले विदेशी श्रमिक माग गर्ने १५ राष्ट्रमध्ये नेपालले छिटोछरितो रुपमा श्रमिक पठाउँदै आएको छ । यही कारण नेपालले आगामी दिनमा अझै धेरै कोटा पाउने सम्भावना बढेको हो । कटुवालले पनि यही कारण देखाएर आगामी वर्ष कोरिया प्रवेश गर्ने नेपाली युवाको संख्या बढ्न सक्ने अनुमान गरे । नेपालबाट कोरियमा विशेष गरी कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा काम गर्न नेपाली युवा जाने गरेका छन् ।
यो वर्ष ईपीएस अन्तर्गत कृषि क्षेत्रमा लिएको भाषा परीक्षा पूरा गरेर ६ सय युवा कोरिया गएका छन् । यस्तै, ईपीएस अन्तर्गतकै उत्पादनमूलक क्षेत्रमा भने कोरियाले नेपाली युवाको संख्या दोब्बर थप गरिसकेको छ । कोरियाले यो वर्ष सुरुमा उत्पादनमूलक क्षेत्रका लागि ८ हजार नेपाली लैजाने भनेको थियो । पछि यसलाई बढाएर १४ हजार बनाएको छ । यो क्षेत्रमा कोरिया जाने नेपाली युवाको छनोट संख्या विगतमा दिएको ८ हजारबाट बढाएर १४ हजार ९ सय १३ पुर्‍याएको हो । उत्पादनमूलक र कृषि क्षेत्रको पनि थप कोटा गरी यो वर्ष १७ हजार ६ सय ५४ नेपाली कोरिया जानेछन् ।
यसअघि यो वर्षको सुरुमा एचआरडी कोरियाले पहिलो र दोस्रो चरण गरेर ६ हजार ९ सय १३ नेपाली युवा मात्र लैजाने गरी भाषा परीक्षा गर्न नेपाललाई अनुरोध गरेको थियो । तर कोटा बढाएपछि लैजाने कामदारको संख्या पनि बढ्ने छ । ईपीएस शाखा प्रमुख कटुवालले कोरियाले कोटा थप गरेसँगै कोरियन भाषा परीक्षाबाट उत्तीर्ण हुने संख्या ८ हजार हुने र त्यसअनुसारको रोष्टर तयार पारिने जानकारी दिए ।
कोरियामा विदेशी श्रमिकको अभाव, नेपालले भाषा परीक्षामा गरेको सुधार र पठाउने प्रक्रिया छिटोछरितो भएका कारण कोरियाले नेपालबाट लैजाने कामदारको रोष्टरको कोटा बढाएको उनले बताए । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको कोरियाको रोजगारी गत वर्ष कात्तिकबाट पुन: शुरु भएको थियो । त्यसयता १२ हजार श्रमिक कोरिया प्रवेश गरिसकेका छन् । यसैगरी कोरियासँगको पछिल्लो श्रम समझदारीले कोरियाबाट ५ वर्ष काम गरेर फर्केका योग्य कामदारलाई पुन: कोरिया फर्कन पाउने ३ महिनाको समय सीमालाई घटाएर १ महिनाभित्रै फर्कन सक्ने बनाएको शाखाले जनाएको छ ।
गत वर्ष कोरिया प्रवेश गर्ने नेपालीको संख्या ३ सय ८७ थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ थियो । वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुन: लयमा फर्केको जनाएको छ । विभागले ईपीएसअन्तर्गत जाने श्रमिकका लागि थप कोटा निर्धारण गरेको जनाउँदै आगामी वर्ष अझ धेरै युवाले कोरियामा रोजगारी पाउने बताएको छ । कोरोना संक्रमणअघिका १४ वर्षमा कोरियाले वार्षिक औषत ५ हजार श्रमिक नेपालबाट लैजाँदै आएको छ । नेपालबाट सन् २०१७ बाट क्रमश: ७ हजार ८ सय, सन् २०१८ मा ८ हजार ५ सय ११ र २०१९ मा ७ हजार १ सय ३६ श्रमिक कोरिया गएको विभागले जनाएको छ । त्यसपछि कोरोना संक्रमणका कारण हवाई उडान बन्द हुँदा २ वर्ष न्यून संख्यामा मात्र श्रमिक कोरिया प्रवेश गरेका थिए । कोरियामा अहिलेसम्म उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा ३८ हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्