सिमसार संरक्षण गर्न समन्वय जरुरी

सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्न सम्बन्धित सरोकारवालाबीच आपसी समन्वयको खाँचो रहेको सोकारवालाले बताएका छन् । सिमसार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाले सिमसार संरक्षण तथा व्यवस्थापनका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन समन्वय आवश्यक रहेको बताएका हुन् ।
विश्वभर नै ‘दिगो सहरी भविष्यका लागि सिमसार’ भन्ने नाराका साथ २२औं विश्व सिमसार दिवस मनाइएको छ । जैविक विविधता संरक्षण तथा व्यवस्थापन, पानी संरक्षण, वातावरण संरक्षण, वन्यजन्तु तथा चराहरूको वासस्थानको संरक्षण र पर्यटकीय विकास बढाउन सिमसार क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।
वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले सिमसार संरक्षण र व्यवस्थापनमा सबैको ध्यान जान जरुरी रहेको भन्दै संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन आवश्यक रहेको बताएका छन् । “सिमसारको संरक्षण र व्यवस्थापन गरी आउने पुस्ताका लागि भविष्य सुरक्षित गर्नुपर्छ,” उनले भने, “संविधानमा भएको अधिकारको बाँडफाँड र विज्ञको सुझावको आधारमा राष्ट्रिय सिमसार नीति २०६९ लाई संशोधन गर्नुपर्छ ।”
वन तथा भू–संरक्षण राज्यमन्त्री कमलादेवी शर्माले बढ्दो जनसंख्या, चेतनाको कमी र अतिक्रमणका कारण सिमसार क्षेत्रको संरक्षण व्यवस्थापनमा चुनौती भएको बताइन् । “सिमसार संरक्षणका लागि देखापरेका चुनौतीलाई समाधान गर्न आवश्यक छ, यसका लागि प्रभावकारी कार्यक्रम तयार पारी कार्यान्वयन गर्नुपर्ने आजको आवश्यकता हो,” उनले भनिन् ।
वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले सिमसारसम्बन्धी कार्यक्रम बनाएर मात्रै कुनै सार्थकता नरहने भन्दै वन मन्त्रालयको नीति अब संरक्षणमा केन्द्रित रहन आवश्यक रहेको बताएका छन् । “जैविक एवं पर्यावरणीय संरक्षणको दृष्टिकोणले मात्र नभई सर्वसाधारणको आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले पनि सिमसार क्षेत्र निकै महत्वपूर्ण छ,” उनले भने, “सिमसार संरक्षण र दिगो व्यवस्थापनमा सरकारी, स्थानीय निकाय र गैरसरकारी संघसंस्था सबैको समन्वय र साझेदारी हुनुपर्छ, भावी सन्तति र पुस्तालाई जोगाउन पनि सिमसार क्षेत्रको संरक्षण गर्नुपर्छ ।”
कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति अनुरूप सिमसारको संरक्षण र व्यवस्थापन गर्ने बताए ।
कार्यक्रममा विगत चार दशकभन्दा लामो समय नेपालको चरा संरक्षणमा विशेष योगदान पु¥याएको भन्दै बेलायती नागरिक क्यारोल इन्सकिपलाई विशेष सम्मान गरिएको थियो । सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ फेबु्रअरी २ मा सिमसार महासन्धि स्थापना गरिएको थियो । नेपाल सन् १९८७ मा यस महासन्धिको सदस्य भएको हो भने सन् १९९१ देखि यो दिवस मनाउन थालेको हो ।