१११ पदका लागि ७०५ जना मैदानमा «

१११ पदका लागि ७०५ जना मैदानमा

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बुधबार बेलुकीसम्म ७ सय ५ जनाको उम्मेदवारी कायम भएको छ । उम्मेदवारी दिएका मध्ये ९७ जनाले उम्मेदवारी फिर्ता लिएपछि यो संख्या कायम भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले यो संख्या अझै घट्ने बताएका छन् । “अहिलेसम्म ७०५ जनाको उम्मेदवारी कायम भएको छ । केही उम्मेदवारहरू अझै घट्न सक्छन्,” बुधबार बेलुकी उनले भने । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ सय ११ पदका लागि निर्वाचन हुँदैछ । बुधबार ९७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी दर्ता गराएका मध्ये ४ जनाको उम्मेदवारी उमेर हदका कारण रद्द भएको आयोगले जनाएको छ । बागी उम्मेदवार उठ्नेहरूमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनबाट धेरै थिए । आफूलाई पार्टीले न्याय नगरेको भन्दै उम्मेदवारी दर्ता गराएका मध्ये अधिकांशले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका छन् ।

३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका ८०३ उमेदवारमध्ये ९७ जनाले उमेदवारी फिर्ता लिएका हुन् । नुवाकोटबाट प्रदेशसभाका लागि कांग्रेसबाट उमेदवार बनेका रमेश महतलाई कृषि विकास बैंकको बोर्ड सदस्य रहेको भन्दै उजुरी परेको थियो । तर, आरोप पुष्टि नभएको भन्दै उनको उमेदवारी कायम गरिएको छ । 

जसले उम्मेदवारी फिर्ता लिए 
आफूलाई अन्याय भएको भन्दै उम्मेदवार बनेकाहरूले अन्तिम समयमा उममेदवारी फिर्ता लिएका छन् । कतिपयले पार्टीको आग्रहमा उम्मेदवारी झिकेका हुन् भने केहीले अर्को उम्मेदवारलाई समर्थन गर्ने भन्दै उम्मेदवारी झिकेका छन् । मनाङको प्रदेश २ की एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिएकी छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुण्डा नाइके दीपक मनाङ्गेलाई समर्थन गर्दै उम्मेदवारी झिकेकी छन् ।

त्यस्तै माओवादी नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतविरुद्ध उठेका एमालेका गोविन्दविक्रम शाहले पनि उमेदवारी फिर्ता लिएका छन् । त्यस्तै, रुकुममै माओवादी केन्द्रका उम्मेदवार कमला रोकाविरुद्ध उम्मेदवारी दिएका माओवादीकै तेजेन्द्र खाम मगर, रामेछापमा माओवादी केन्द्रका उम्मेदवार तथा पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठविरुद्ध उमेदवारी दिएकी लक्ष्मी गुरुङले पनि उमेदवारी फिर्ता लिएकी छन् ।

त्यस्तै, सिन्धुपाल्चोकमा प्रदेश २ ‘ख’ मा जिमि लामाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । गोरखामा कांग्रेस नेतृत्वको गठबन्धनबाट गोरखा २ मा प्रत्यासी रहेका नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई समर्थन गर्दै एकजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

संघीय समाजवादी फोरमबाट गोरखाको प्रतिनिधि सभा क्षेत्र नं २ बाट उम्मेदवार बनेका सुकदेव गुरुङ, मुगुमा माओवादीका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका सुरबहादुर बूढा, प्रदेश ‘क’ बाट मनोनयन दर्ता गराएका केवलबहादुर शाही र प्रदेश ‘ख’ बाट उम्मेदवारी दर्ता गरेका मंगलबहादुर शाहीले उम्मेदवारी झिकेका छन् । जाजरकोटमा वाम गठबन्धनका निरज आचार्य (प्रदेशसभा ‘क’), नरबहादुर कार्की (प्रदेशसभा ‘ख’) र गोविन्द विक्रम शाह (स्वतन्त्र उम्मेदवार) र लोकतान्त्रिक गठबन्धनलाई सघाउन भन्दै राप्रपा प्रजातान्त्रिकका कृष्ण विक्रम शाह, वीरबहादुर मल्ल र लालबहादुर रावतले पनि उम्मेदवारी नदिने भएका छन् ।

म्याग्दीमा प्रतिनिधीसभा तथा प्रदेशसभामा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका १९ मध्ये कांग्रेसका २ र एमालेका १ बागीसमेत गरी ६ जना, राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभा उम्मेदवार रुपनारायण श्रेष्ठ, प्रदेशसभा क्षेत्र १ का बलबहादुर सुनार र प्रदेशसभा क्षेत्र २ का तिलाराम दर्मले उम्मेदवारी झिकेका छन् । लोकतान्त्रिक गठबन्धनले राप्रपाका भीमप्रसाद गौचनलाई प्रदेशसभा क्षेत्र १ बाट उम्मेदवार बनाएपछि असन्तुष्ट कांग्रेस नेताहरू नेत्रबहादुर महत र केवी भण्डारीले उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसैगरी वाम गठबन्धनबाट प्रदेश निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रका उम्मेदवार विनोद केसीको विरुद्धमा बागी उम्मेदवारी दिएका एमाले कार्यकर्ता केदारप्रसाद (केपी) अधिकारीले पनि नाम फिर्ता लिएका छन् । बाग्लुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका गंगा थापा, पूर्णबहादुर पौडेल क्षेत्री र क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ धनबहादुर विक ‘हिमाल’ र प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका दधिराम शर्माले उम्मेदवारी झिकेका छन् । 

आचारसंहिता पालना गर्नुस् : प्रमुख आयुक्त 
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता पालना गर्न दलहरूलाई आग्रह गरेका छन् । गृह जिल्ला सप्तरी पुगेका यादवले जिल्लाको सुरक्षा अवस्था र चुनावको तयारीबारे जानकारी लिँदै कडाइका साथ आचारसंहिता पालना गराइने बताए । 

राजनीतिक दलका प्रतिनिधी, निर्वाचन अधिकृत, सुरक्षा अधिकारीसँग छलफलको क्रममा उनले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे । उनले भने, “सबैले आचारसंहिता पालना गर्नेछन् भन्ने आयोगको विश्वास छ ।

आचारसंहिता उल्लंघन गरे जिल्ला तहलाई केही भन्दैनौं । सिधै केन्द्रिय अध्यक्षसँग स्पष्टिकरण माग्छौं । एक लाखसम्म जरिवाना समेत तिराउँछौं ।” उनले चुनाव चिन्ह अंकित टिशर्ट, टोपी, गम्छा प्रयोग नगर्न पनि सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्