Logo

अर्थतन्त्र सुधारका लागि नेतृत्वमा युवा आवश्यक: वाग्ले

अर्थविद् डा.स्वर्णिम वाग्लले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन् ।
बुधबार वागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउन राजनीतिक निर्णय तथा नीतिमा सुधार ल्याउनुपर्ने बताए । डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउन राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए । उनले यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने बताए ।
उनले नेपाल पर्यटनको हिसावले उच्च सम्भावना भएको मुलुक भएपनि आत्याधिक कम मात्रै पर्यटक आउने गरेको बताए । उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटल पूर्वाधारको बिस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताए । “नेपालले पाँच वर्षमा २० लाख पर्यटक ल्याउनसक्ने र पर्यटकले हेरक दिन १०० डलर खर्च गर्ने बनाउन सक्नुपर्छ” उनले भने, “अहिले नेपालमा काठमाडौं, पोखरा र चितवन गरेर १३ दिनसम्म बस्छन् । पर्यटक बस्ने अवधि बढाएर १६ दिनसम्म बनाउनसके मात्र पर्यटकबाट ठूलो आम्दानी गर्न सकिन्छ । त्यसको लागि हवाई क्षेत्रमा सुधार, होटल पूर्वाधारको बिस्तार, दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ ।”
डा वाग्लेले अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न नसक्ने दाबी गरे । उनले नेपालको पूर्वाधार तथा उद्योगमा विदेशी लगानी ल्याउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर पर्यटक बढाउँदा मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्नसक्ने बताए ।
“अहिले नेपाललाई रेमिट्यान्सले धानेको छ । तर रेमिट्यान्सले नेपाललाई टाढा लैजाँदैन” उनले भने, “अब विदेशी लगानी भित्र्याउनु पर्‍यो । नेपाली उत्पादनलाई विदेशमा पुर्‍याएर आम्दानी पनि बढाउनुपर्छ ।”
अर्थविद् वाग्लले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरु पग्लिरहेको बताए । उनले लोकल ब्ल्याक कार्वनले ग्लोबल ग्रिनहाउस क्यास जस्तै असर पार्ने भएकोले हिमालहरु तातेर पग्लन थालेको बताए । उनले अहिले भइरहेको जलवायु परिवर्तनलाई नियन्त्रण गर्नको लागि सबै मुलुकहरु मिलेर समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए ।
“जलवायु परिवर्तनको समाधान क्षेत्रीय रुपमा समाधान गर्नुपर्छ” उनले भने, “नेपालले आर्थिक नीतिहरु भारतसँग समन्वय भएर गर्ने भने गाह्रो छ ।”
डा. वाग्लेले नेपालको आर्थिक नीतिहरु भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने बताए । उनले दुई देशबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर त्यही खालको नीतिहरुमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्