Logo

भारतबाट अवैध रूपमा आयात गरिएको मैदा बरामद

उद्योगले भारतबाट अवैध रूपमा आयात गरिएको मैदा ल्याएर प्याकिङ गर्ने र बजार पढाउने गरेको रहस्मय खुलेको छ ।
सुरेश राठीले सञ्चालन गरेको उद्योगमा तस्करी भएर आएको ठूलो परिमाणको मैदा विराटनगर भन्सार कार्यालयले बरामद गरेपछि यस्तो रहस्मय बाहिर आएको हो । राठीको उद्योग अगाडिदेखि विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले दुई वटा ट्याक्टर र २ वटा मिनी ट्याक्टरमा लोड गरिएको १५ लाख मूल्यको ५०५ बोरा मैदासहित पाँच जनालाई पक्राउ गरेको छ । भारतदेखि अवैध रुपमा मैदा क्यारिङ गर्ने गिरोहका एक जनालाई पनि भन्सारले समातेको छ ।
भारतको विहार राज्य नगरपतगञ्जको मोहम्मद रिजवानलाई पक्राउ गरेको हो । पक्राउ परेका रिजवानले नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ हुने सशस्त्र प्रहरीसँग सेटिङ मिलाएर तस्करीको मैदा उद्योगसम्म स्कटिङ्ग गरेर पुर्‍याउने गरेको खुलेको छ । तस्करीको मैदा गन्तब्यसम्म पुर्‍याउन उनी चढेको डब्लु बी ०२ भी २३४० नम्बरको कार पनि नियन्त्रणमा लिइएको छ ।
उद्योगसम्म मैदा लैजाने चार जना चालकलाई पनि पक्राउ गरिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले जानकारी दिए । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका ७ का वर्ष ३७ का जमसेद आलम को १ ख ३१४५ नम्बरको मिनी ट्रकका चालक हुन् । त्यस्तै को २ त १३०३ नम्बरको ट्याक्टरमा लोड गरिएको तस्करीको मैदासहित पक्राउ परेका चालक वर्ष २२ का नाजिर खान सुनसरीको हरिनगरा ७ का हुन् । हरिनगरा ७ कै वर्ष १८ का असरफ अलीले चलाएको मे १ त ७०५५ नम्बरको ट्याक्टरमा पनि तस्करीकै मैदा लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको छ ।
हरिनगरा–७ कै वर्ष २३ का फिरोज मियाँले को १ ख २३७६ नम्बरको मिनी ट्रक चलाएका थिए । सो मिनी ट्रकमा पनि तस्करीकै मैदा लोड गरिएको थियो । बरामद भएकोे मैदा सुनसरी र भारतको सीमा क्षेत्रमा पर्ने घुस्कीको नाकाबाट तस्करी गरेर ल्याइएको भन्सार कार्यालयले जनाएको छ । पक्राउ परेका पाँचै जनाले बाबा उद्योगमा मैदा पठाउने गरेको बयान दिएको कार्यालयको भनाइ छ ।
विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाले पाँचै अभियुक्तलाई कार्यालयले बयान गराउने प्रक्रिया सुरु गरेको जानकारी दिए । आफ्नो नेतृत्वमा सोमबार रातैभरि सुनसरीसित जोडिएको सीमा क्षेत्रमा भन्सार गस्ती टोलीले निरीक्षण गर्दा अवैध मैदा फेला परेको उनको भनाइ छ ।
पक्राउ परेका पाँचै अभियुक्तलाई कार्यालयले भन्सार चोरी पैठारीको मुद्दा चलाउने जनाएको छ । भन्सार कार्यालय अर्धन्यायिक निकाय पनि भएकाले उक्त मुद्दा सोही कार्यालयमा दर्ता हुने र कार्यालयले नै कारवाही अघि बढाउने बताइएको छ । चोरी पैठारीका १ करोडसम्म बिगो भएका मुद्दा हेर्ने अधिकार भन्सार कार्यालयमै हुन्छ । सो बिगोभन्दा माथिका मुद्दा मात्र जिल्ला अदालतमा दर्ता गर्नुपर्छ ।
पक्राउ परेको मैदा र भारतीय नम्बरको कार कार्यालयले जफत गरी लिलामी गर्ने तथा मैदा लोड गरिएका ढुवानीका साधनहरू भाडामा ल्याइएको पुष्टि भएमा छाडिदिने भन्सार कार्यालयले जनाएको छ । भारत सरकारले ३० वैशाखमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका मैदा उद्योग कच्चा सामग्रीको तीव्र अभावमा छन् । अभाव पूर्ति गर्न उद्योगहरुले क्यारिङमार्फत तस्करी गरेर मैदा ल्याउने गरेका छन् ।
सशस्त्र प्रहरी बल सुनसरीका एसपी बिक्रम हुमागाइले चुनावको मौका छोपी प्रहरीको उपस्थिति कम भएको क्षेत्रबाट तस्करी भएको हुनसक्ने बताए । तस्करी हुन नदिन सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्