Logo

९८ प्रतिशत दूध उत्पादन परम्परागत पशुपालनमै निर्भर

सरकारी नीति र लगानी अभावमा मुलुकमा उत्पादन हुने दूधमध्ये ९८ प्रतिशत परम्परागत पशुपालनमै निर्भर रहेको छ ।
कृषि मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले गरेको एक सर्वेक्षणका अनुसार नेपालमा कुल उत्पादन हुने दूधमध्ये व्यवसायिक फर्महरूको हिस्सा २ दशमलब ७८ प्रतिशत मात्र देखिएको छ । बाँकी सबै उत्पादन परम्परागत रुपमा भएको पशुपालनबाट हुने गरेको छ ।
सर्वेक्षणले व्यावसायिक पशुपालन फर्मबाट देशभर वार्षिक ६ करोड ९० लाख ३४ हजार लिटर दूध उत्पादन हुने गरेको देखाएको छ । कृषि मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकभर गाई र भैंसीको वार्षिक दूध उत्पादन २४ अर्ब ७९ करोड ८९ लाख ९९ हजार लिटर छ ।
सर्वेक्षण अनुसार देशभरमा ६ हजार ४ सय ८६ पशुपालन व्यावसायिक फार्म छन् । जसमा १५ हजार ३ सय ८० दूध दिने गाई छन् । यी गाईबाट वार्षिक ४ करोड ५८ लाख ३ हजार ४ सय ५७ लिटर दूध उत्पादन भएको देखिन्छ ।
सबै भन्दा धेरै होलिस्टिन/होलिस्टिन क्रसब्रिड जातका ६ हजार ८ सय ९ वटा गाईबाट वार्षिक २ करोड ५१ लाख १० हजार ४२२ लिटर दूध उत्पादन हुने गरेकोे छ । यस्तै स्थानीय २ हजार ९८ वटा गाईबाट १८ लाख ७ सय २२ लिटर दूध उत्पादन भएको छ ।
सर्भेक्षण अनुसार जर्सी क्रसब्रिड जातका ५ हजार ९ सय ५४ वटा गाईबाट वार्षिक १ करोड ७४ लाख ३१ हजार ५ सय ४५ लिटर दूध उत्पादन भएको छ । सबै भन्दा धेरै व्यावसायिक दूध उत्पादन बागमती प्रदेशमा हुने गरेको छ । देशभरमा ४ करोड ५८ लाख ३ हजार लिटर दूध उत्पादन हुनेमा बागमती प्रदेशमा मात्र १ करोड ३५ लाख ९८ हजार लिटर उत्पादन हुने गरेको छ ।
सर्वेक्षण अनुसार व्यावसायिक फार्महरूबाट वार्षिक २ करोड ३२ लाख ३१ हजार ९१ लिटर भैंसीको दूध उत्पादन भएको छ । जसमा सबै भन्दा धेरै दूध उत्पादन गण्डकी प्रदेशमा हुने गरेको छ । देशभरमा भैसीको वार्षिक २ करोड ३२ लाख ३१ हजार ९१ लिटर दूध उत्पादनमा गण्डकी प्रदेशमा ८३ लाख ८८ हजार १८३ लिटर उत्पादन हुने गरेको अध्ययनले देखाएको छ । जात अनुसार तुलना गर्दा मुर्रा जातको भैंसीबाट सबै भन्दा बढी दूध उत्पादन हुने गरेको पाइएको छ ।
व्यवसायिक पशुपालन सर्वेक्षण अनुसार देशभर ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म छन् । यसमध्ये १ हजार २ सय ३३ वटा गाई पालन फार्म छन् भने ९ सय १४ भैंसीपालन फार्म छन् ।
यस्तै ४३ राँगा पालन फार्म, २ हजार २ सय ९५ वटा बाख्रा/च्याँग्रा पालन फार्म, ५ सय ७२ वटा भेडा पालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्म छन् ।

प्रतिक्रिया दिनुहोस्