बाँकेमा विकासका ‘एजेन्डा’मा चुनावी प्रतिस्पर्धा

बाँकेमा विभिन्न राजनीतिक दलले अघि सारेका विकासका एजेन्डामा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवार आफ्ना विकास योजनाका एजेन्डा सहित दुर्गम गाउँदेखि सहरसम्म मतदाता समक्ष घरदैलोमा व्यस्त छन् ।
नेकपा (एमाले), राप्रपा गठबन्धन, वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सडक, पूर्वाधार, स्वास्थ्य क्षेत्रको स्तरोन्नति, सहरी विकास, कृषिमा यान्त्रीकरण तथा विकास, खेलकुदको विकास लगायतका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेर मतदाता समक्ष पुगेका छन् ।
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं–१ को उम्मेदवार हुनुभएका माओवादी केन्द्रका नेता महेश्वरजङ्ग गहतराज दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी मैदानमा छन् ।
उनले हुलाकी सडकदेखि लिएर दुर्गम मानिने नरैनापुर लाइृ राजमार्गसँग जोड्ने सडक निर्माणमा योगदान गरेको उल्लेख गर्दै कोहलपुरमा क्रिकेट एकेडमी निर्माण गर्ने पहिलो निर्णय गरेको र कोहलपुर–११ मा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँगै क्रिकेट एकेडेमीको काम अगाडि बढेको बताए । उनीसँग नेकपा (एमाले) बाँकेका इन्जार्च सूर्य ढकाल चुनावी प्रतिस्पर्धामा छन् । ढकाललाई राप्रपाले साथ दिएको छ ।
उम्मेदवार ढकालले कोहलपुर नगरपालिकालाई आधुनिक सहरका रूपमा विकास गरिने र नरैनापुरमा देखिएको खडेरीको समस्यालाई सम्बोधन गर्न सिक्टा सिँचाइ योजनामार्फत सिँचाइको प्रबन्ध गरिने आफ्नो मुख्य ऐजेन्डा रहेको बताए ।
उनले बाँके राष्ट्रिय निकुञ्जबाट पाउने राहत दिलाउन पीडितलाई हुने झन्झटबाट मुक्त गर्न सहजीकरण गरिने उल्लेख गर्र्दै २५ लाखको बिमा कार्यक्रम ल्याइने बताए । मन्त्री गहतराज पुरानो अनुहारको उम्मेदवार हुन भने ढकाल नयाँ अनुहारको उम्मेदवार हुन् ।
प्रदेशसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट फुलाराम थारू, नेकपा (एमाले), राप्रपा गठबन्धनबाट दुर्गा चौधरी चुनावी प्रतिस्पर्धामा छन् । २०७४ मा मन्त्री गहतराजले वाम गठबन्धनका तर्फबाट ३१ हजार एक सय ७३ मतले निर्वाचित भएका थिए । कांग्रेस राप्रपा गठबन्धनका माधवराज खत्रीले २८ हजार दुई सय १७ मत प्राप्त गरेका थिए ।
निर्वाचन क्षेत्र नं २ बाँकेको सबैभन्दा चर्चित र रोमाञ्चक चुनावी प्रतिस्पर्धा हुने क्षेत्रका रूपमा हेरिएको छ । यो निर्वाचन क्षेत्रमा पूर्वमन्त्री इस्तियाक मोहम्मद राई र नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख धवलशमशेर राणा चुनावी मैदानमा छन् । पूर्वमन्त्री राई तेस्रो पटक र राणा पहिलो पटक प्रतिनिधिसभाको निर्वाचनमा होमिएका छन् । राणा राप्रपा–एमालेको संयुक्त गठबन्धनबाट चुनावी मैदानमा छन् । राई जनता समाजवादी पार्टीबाट एकल रूपमा चुनावी प्रतिस्पर्धामा छन् । वाम—लोकतान्त्रिक गठबन्धनबाट सुदीपनरसिंह राणा चुनावी मैदानमा छन् । उनलाई नेकपा (माओवादी) केन्द्रले साथ दिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख राणाले रासायानिक मलको कारखाना स्थापना प्राथमिकताको विषय भएको उल्लेख गर्दै नगरप्रमुख हुँदा अधुरा रहेका योजनालाई अहिले पूरा गर्ने वाचा गरे ।
२०७४ को निर्वाचनमा राई दुईवटा गठबन्धनलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य चुनिएका थिए । त्यतिबेला वाम गठबन्धनका तर्फबाट एमालेका पशुपतिदयाल मिश्र र राप्रपाका उम्मेदवार ओमप्रकाश आजादलाई कांग्रेसले सघाएको थियो । राईले २१ हजार पाँच सय ७५ मत ल्याउँदा एमालेका मिश्रले १५ हजार नौ सय ५१ र राप्रपाका आजादले ११ हजार ६ सय २२ मत प्राप्त गरेका थिए ।
राप्रपाका सहायक महामन्त्री ऋषि देवकोटा विगतमा भन्दा अहिलेको अवस्था परिवर्तन भएकाले जितको आधार बलियो भएको बताउँछन् ।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पनि डा. राणा प्रतिस्पर्धी ठानिएका जनता समाजवादी पार्टीका उम्मेदवार इस्तियाक राईभन्दा करिब १० हजार मतले अगाडि छन् ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत रहेको देखिन्छ । राप्रपा एमाले गठबन्धनबाट प्रदेशसभातर्फ विजयकुमार यादव र निरक गुरुङ नेपाली कांग्रेसबाट सुरेन्द्र हमाल, राजकुमार बर्मा र माओवादीबाट अक्कलबहादुर बम चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धन रहेको छैन ।
राईले पनि आफूले गरेका विकासका काम नै जितको आधार भएको बताउँछन् । जनताको शासक बन्ने होइन, जनताको चौकीदारी गर्न भोट मागिरहेको उल्लेख गर्दै उनले भने, “मैले जनतालाई कहिल्यै ढाँटेको छैन, नसक्ने काम गर्छु भनेर कहिल्यै सपना बाँडेको छैन ।”
२०५४ को स्थानीय चुनावमा नगर प्रमुखमा थोरै मतले पराजित दिवाकर खनाल पनि सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार छन् । कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणालाई नेकपा (माओवादी) केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले साथ दिएको छ । तरुण दलबाट राजनीतिमा आएका सुदीपको बलियो पक्ष भनेको उनको व्यक्तिगत पृष्ठभूमिभन्दा पनि गत वैशाखको स्थानीय निर्वाचनमा वडाले पाएको मत हो । गत स्थानीय तह चुनावमा कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार चार सय ७८, जसपाले १३ हजार आठ सय नौ, राप्रपाले आठ हजार चार सय ९४, माओवादीले ६ हजार आठ सय ५९, एकीकृत समाजवादीले आठ सय २१ र लोसपाले पाँच सय ६४ मत पाएका थिए ।
जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा वाम लोकतान्त्रिक गठबन्धनबाठ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर र एमाले–राप्रपा गठबन्धनबाट किस्मतकुमार कक्षपति चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा दुवै उम्मेदवार नयाँ अनुहारका हुन् ।
उम्मेदवार राठौरले बाँकेको पुरानो बजार खजुराको विरासत फर्काउने मुख्य एजेन्डा अघि सारेर चुनावी मैदनमा उत्रेका छन् । उनले नेपालगञ्ज–गुलरिया सडक चार लेन बिस्तार गर्ने, मुख्य बजार क्षेत्रलाई अत्याधुनिक बजारीकरण गरिने, भित्री सडकहरू चौडा र स्तरीय बनाउने तथा मुख्य बजारभित्रका क्षेत्रलाई कृषिमा आधारित उद्यम क्षेत्रका रूपमा विकास गरिने बताए ।
एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार हुनुभएका कक्षपतिले शिक्षा र स्वास्थ्यको विकासमा जोड दिँदै प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि आफूले गरेको पहललाई मूर्त रुप दिने बताए । २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट नन्दलाल रोका क्षेत्रीले ३१ हजार ६ सय एक मतले निर्वाचित भएका थिए । कांग्र्रेस राप्रपा गठबन्धनबाट बादशाह कुर्मीले २६ हजार ६ सय १७ मत प्राप्त गरेका थिए ।
तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नं. १ मा एक लाख २१ हजार एक सय मतदाता रहेका छन् । सबैभन्दा कम क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । तीन सय ८० मतदान केन्द्र र एक सय ३८ मतदानस्थल भएको बाँकेमा कूल मतदाताको सङ्ख्या तीन लाख ३२ हजार दुई सय ३१ रहेको छ । यसअघि तीन लाख २९ हजार चार सय ७३ मतदाता रहेका थिए । तीमध्ये जिल्लामा नयाँ मतदाताको संख्या दुई हजार सात सय ५८ थप भएको छ ।
आठ स्थानीय तह भएको जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । निर्वाचन क्षेत्र नं २ मा नेपालगञ्ज नगरपालिकाको २१ वडा, डुडुवा गाउँपालिका पर्छ । निर्वाचन क्षेत्र नं ३ मा नेपालगञ्ज उपमहानगरको वडा नं १६ र १७, बैजानाथ गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिका पर्छ । बाँकेमा प्रतिनिधिसभा र प्रदेशमा गरी नौजना निर्वाचन हुनेछन् त्यसका लागि ८९ जनाले उम्मेदवारी दिएका छन् ।