इभि नेपाल एक्स्पो १६ मंसिरदेखि

इभि नेपाल एक्स्पो १६ मंसिरदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
यो विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको सबैभन्दा ठूलो प्रदर्शनी भएको आयोजकको दावी छ । एस. डी एक्स्पो मिडियाको प्रमुख आयोजक रहेको यो एस्पोको सह–आयोजक इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ ।
तीन दिनसम्म चल्ने प्रदर्शनीलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फ्यूचरले सहकार्य गरेका छन् । विगत दुई वर्षदेखि कोभिड–१९ को महामारीका कारणले यस प्रदर्शनीमा ढिलाई भएको हो ।
कार्यक्रमको पहिलो उद्देश्य नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढंगले व्यापार सञ्चालनमा टेवा पुर्याउनु रहेको आयोजकको भनाइ छ । यसका साथै प्रदर्शनीले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने बताइएको छ ।
प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू राखिने छ । उक्त वृहत प्रदर्शनी १५० भन्दा बढि प्रतिष्ठित कम्पनी तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्डका लागि साझा मञ्ज हुने आयोजकको भनाइ छ ।
यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ता, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुनेछ । यस वृहत प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्तालाई पनि प्रोत्साहित गर्ने बताइएको छ ।