२३ वर्षसम्म पूरा हुन सकेन गाईघाट–दिक्तेल सडक «

२३ वर्षसम्म पूरा हुन सकेन गाईघाट–दिक्तेल सडक

निर्माण सुरु भएको २३ वर्ष बितिसक्दा पनि सगरमाथा राजमार्गअन्तर्गतको गाईघाट/दिक्तेल सडक निर्माण सम्पन्न हुन सकेको छैन । ट्र्याक खुलेको वर्षौं भइसक्दा पनि उदयपुर र खोटाङ जिल्लाको सीमामा रहेको दूधकोसी नदीमा पक्की पुल र सडकमा कालोपत्रे नहुदा गाईघाट/दिक्तेल सोझो यातायात सञ्चालन हुन नसकेको हो ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उदयपुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ सदरमुकाम दिक्तेल जोड्ने १३१ किमि लामो यो सडकको उदयपुर र खोटाङ दुवै खण्डमा ट्र्याक खुलेको झण्डै ४ वर्ष बितिसकेको छ । तर, ट्र्याक खुले पनि सुनकोसी नदीमा पुल नहुँदा हिउ“दमा पुसदेखि जेठसम्मका लागि बेलिब्रिज लगाएर यातायात सञ्चालन गर्ने गरिएको छ भने बाँकी ६ महिना सडक अवरुद्ध हुने गरेको छ ।
वि.सं २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले शिलान्यास गरेको सडक अहिलेसम्म पनि पूरा हुन सकेको छैन । ३ वर्ष पहिले नै उदयपृुरको गाईघाटदेखि रौतामाई गाउँपालिकाको फोक्सिङटारसम्म ट्र्याक खोलिएकोमा बर्सेनि छुटिने न्यून बजेटका कारण थप सडक निर्माणमा ढिलाइ हुँदै आएको छ ।
खोटाङ खण्डको करिब ५० किमि सडकको ट्र्याक स्वीस परियोजनाले सम्पन्न गरी हाल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको भए पनि सरकारले खासै चासो नदिएको स्थानीयले बताए । “यो सडक निर्माणमा सरकारले खासै चासो दिएको छैन,” खोटाङको मजुवागढी नगरपालिका–१६ विजयर्खकका टंक पोखरेल भन्छन्, “सडकको ट्र्याक खुलेको वर्षांै भइसके पनि अझै सुनकोसी नदीमा पुल र सडक कालोपत्रे हुन सकेन ।” सडकको स्तरोन्नति गर्ने कामसमेत सुस्त गतिमा भइरहेको उनले बताए ।
“सगरमाथा राजमार्ग नामकरण गरिएको यो सडक समयमै सञ्चालन हुने हो भने खोटाङका सर्वसाधारणलाई तराई जाने सबैभन्दा छोटो मार्ग बन्छ,” बुइपा बजारका भक्तकुमार श्रेष्ठले भने, “तर सुरु भएको २३ वर्ष बितिसक्दा पनि निर्माणकार्य नसकिँदा सर्वसाधारण पैदल यात्रा गर्न बाध्य छन् ।” खोटाङको सदरमुकाम दिक्तेललाई राष्ट्रिय सडक सञ्जालसँग जोडने मुख्य लक्षका साथ यो सडक निर्माण प्रारम्भ गरिएको भए पनि कछुवाको गतिमा काम हुँदा सडक निर्माण हुन नसकेको उनको भनाइ छ ।
“सुरुमा उदयपुरको गाईघाटदेखि साउनेसम्म सडक निर्माण गरियो,” गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख हरि पोखरेल भन्छन्, “त्यसपछि रानीबाससम्म विस्तार भएपछि बर्सेनि मर्मतमात्रै हुँदै आएको छ ।” खोटाङ र उदयपुर दुवै खण्डमा अहिले धमाधम काम भइरहेकाले अबको तीन वर्षमा सडक कालोपत्रे भइसक्ने उनले बताए । विभिन्न प्याकेज बनाएर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने कामका लागि ठेक्काको बन्दोबस्त भइसकेको पोखरेलको भनाइ छ ।
खोटाङतर्फको उदयपुरको सिमाना फोक्सिङटारदेखि राजापानीसम्मको २६ किमि सडक निर्माणकार्य युद्धस्तरमा भइरहेको निर्माण जिम्मा लिएको मैनाचुली/खाम्पाचो/जयनारायण पवन जेभीका प्रोजेक्ट मेनेजर विजय चाम्लिङले बताए । “२०७७ सालसम्म काम सक्ने गरी दैनिक ४ सय मजदुर र सडक निर्माणका लागि आवश्यक सम्पूर्ण उपकरण प्रयोग गरिरहेका छौं,” उनले भने, “५५ करोड लागत रहेको २६ किमि सडक सयममै निर्माण सम्पन्न गर्ने गरी दैनिक काम भइरहेको छ ।” कामै रोकिने गरी ठूलो समस्या नआए अबको तीन वर्षमा सडक निर्माणको सम्पूर्ण काम सकिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्