सौर्य ऊर्जाबाट सञ्चालनको तयारी «

सौर्य ऊर्जाबाट सञ्चालनको तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

रुपन्देही-भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सौर्य ऊर्जा प्रयोग गरी सञ्चालनमा ल्याउने प्रक्रिया सुरु भएको छ । विमानस्थल निर्माण गर्न अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको एसियाली विकास बैंकले स्थानीय सरोकारवाला निकायसँग छलफल गरी सौर्य ऊर्जाबाट सञ्चालनको तयारी अघि बढाएको हो ।
छलफल तथा अन्तक्र्रियामा एसियाली विकास बैंक (एडीबी)का नेपालका लागि आयोजना अधिकृत नरेश प्रधानले सौर्य ऊर्जाबाट विमानस्थल सञ्चालन गर्ने अवधारणा अघि बढाइएको र प्रारम्भिक छलफल भइरहेको बताए । उनले अहिले निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत नरही विल्कुलै नयाँ योजनाका रुपमा काम गर्ने गरी नागरिक उड्ययन प्राधिकरणको कार्यालयसँग छलफल भइरहेको जानकारी दिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले निर्माणको अन्तिम चरणमा छ । यो विमानस्थललाई नेपालकै पहिलो ‘ग्रिन एयरपोर्ट’को रुपमा विकास गर्ने अवधारणाअनुसार सौर्य ऊर्जाबाट सञ्चालन गर्नेबारे छलफल अघि बढाइएको एडीबीका अधिकारीहरुले जनाएका छन् । सौर्य ऊर्जा जडान गर्न लाग्ने रकम ग्रान्टका रुपमा एडीबीले प्रदान गर्ने प्रधानले बताए । यो विमानस्थललाई ग्रिन एयरपोर्टका रुपमा विकास गर्न सकिए भ्यालुनै एड हुने उनको भनाइ छ । “अहिलेसम्म सकारात्मक र योजनावद्ध रुपमा कुरा अघि बढीरहेको छ,” उनले भने, “छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ, त्यसको अवलोकन गरेपछि सुरक्षाका कुरा पनि हेर्नेछौं ।” उनले सौर्य ऊर्जाबाट विमानस्थल सञ्चालनमा ल्याउँदा हुने जोखिमका विषयमा पनि अध्ययन गरिने बताए ।
गौतमबुद्ध विमानस्थल क्षेत्रभित्रै सोलार प्यानलमार्फत कम्तीमा १० मेगावाट विद्युत् उत्पादन हुन सक्ने सम्भावना रहेको प्रधानले बताए । सौर्य ऊर्जामार्फत् एक मेगावाट विद्युत् उत्पादन गर्न कम्तिमा १० करोड खर्च हुने अनुमान छ । विमानस्थलमा उद्योगमा जस्तो धेरै विद्युत् आवश्यक नपर्ने भएकाले सौर्य ऊर्जाबाट उत्पादन हुने विजुली विद्युत् प्राधिकरणले अन्यत्र प्रयोग पनि गर्न सक्ने र विमानस्थलको आय पनि बढ्ने बताइएको छ । योजना अघि बढेमा विमानस्थल निर्माण सम्पन्न भए लगत्तै यसको काम सुरु हुने र ५÷६ महिनाभित्रै काम सकिने प्रधानको भनाइ छ ।
सन् २०१९ को डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र त्यसपछि बाँकी आवश्यक प्रक्रिया पूरा गरी सन् २०२० भित्रै अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउने योजना रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए ।
विमानस्थलमा अहिले टर्मिनल भवन (आन्तरिक र वाह्य दुवैतर्फ)को अन्तिम काम भइरहेको छ भने प्रशासनिक भवनमा रंगरोगन गर्ने काम जारी छ । त्यसैगरी धावनमार्ग, पाँच वटा ठूला जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माणको काम सम्पन्न भइसकेको छ । टावर निर्माण अन्तिम चरणमा छ । तीन किलोमिटर धावनमार्गलाई ट्याक्सी वेसँग जोड्ने काम पनि सम्पन्न भएको छ । अब फिनिसिङ, साजसज्जा र विद्युतीकरणसहित सूचना प्रविधीसम्बन्धी काम बाँकी छन् । विमानस्थल र धावनमार्गमा आवश्यक सबै उपकरणका लागि टेन्डर सम्पन्न भइसकेको र छिट्टै उपकरण जडान सुरु हुने बताइएको छ ।
यो विमानस्थल निर्माणका लागि चीनको नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनसँग सन् २०१४ डिसेम्बर ३१ मा ठेक्का सम्झौता भएको थियो । विभिन्न कारणले निर्माण समय पछि धकेलिरहेको यो विमानस्थलको निर्माण सक्नुपर्ने समय यो जुनको २८ तारिख हो । अब अन्तिम पटकका लागि डिसेम्बरसम्म समयअवधि थप्न पहल भइरहेको छ । निर्माण सम्पन्न हुने अवधि बढे पनि लागत भने नबढ्ने आयोजना प्रमुख अधिकारीले बताए ।
यो विमानस्थल निर्माण गर्न एसियाली विकास बैंक (एडीबी) ले ४ करोड २७ लाख डलर सहुलियतपूर्ण ऋण र १ करोड २७ लाख डलर अनुदान उपलब्ध गराएको छ । त्यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलमेन्टको १ करोड १५ लाख डलर, नेपाल सरकारको २ करोड ३७ लाख डलर र एसियन क्लिन इनर्जी फन्डको ३० लाख डलर लगानी छ ।

प्रतिक्रिया दिनुहोस्