श्रमस्वीकृति अब विदेशबाट पनि

श्रमस्वीकृति नगरेका कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रमस्वीकृति लिन सकिने व्यवस्था गरेको छ । अहिलेसम्म नेपालबाट मात्र श्रम स्वीकृती दिने व्यवस्था थियो ।
विदेशमा मृत्यु, अंगभंग र बिरामी हुने श्रमिकको कल्याणकारी अधिकारलाई सुनिश्चित गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिकलाई गन्तव्य मुलुकबाट नै श्रमस्वीकृति नवीकरण गर्न सूचना जारी गरेको हो ।
श्रमस्वीकृति नवीकरण नगरेका श्रमिकको मृत्यु भएमा वा अंगभंग र बिरामी हँुदा उपचारलगायत सामाजिक सुरक्षा सेवाबाट वञ्चित भएपछि श्रमस्वीकृति नवीकरण गर्न मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. थानेश्वर भुसालले विदेशमा रोजगारीका लागि गएका नेपाली श्रमिकले आफूले लिएको श्रमस्वीकृतिको अवधि समाप्त हुनअघि नै अनलाईनमार्पmत आफू कार्यरत रहेको मुलुकबाट नै श्रमस्वीकृति नवीकरण गरी श्रमिक र उनीहरुका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न अनुरोध गरिएको जानकारी दिए । गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा विदेशमा १ हजार ४ सय ७९ नेपाली युवाको मृत्यु भएको थियो भने २४५ अंगभंग र गम्भिर बिरामी परेका थिए । गत वर्ष विदेशमा मृत्यु भएका ४६ महिलासहित १ हजार ४३३ पुरुषका परिवारलाई वैदेशिक रोजगार बोर्डले ८३ करोड ६० लाख ९९ हजार रुपैयाँ आर्थिक सहायता गरेको थियो । यस्तै, वैदेशिक रोजगारीका क्रममा अंगभंग एवं बिरामी भएका २० महिलासहित २२५ पुरुषलाई बोर्डले ९ करोड १७ लाख ७५ हजार रुपैयाँ आर्थिक सहायता गरेको थियो । सरकारले श्रमस्वीकृतिका क्रममा विदेश वा स्वदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई जनही ७ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने कानुनी व्यवस्था रहेको छ । श्रमस्वीकृति लिएका श्रमिकको मृत्यु वा अंगभंग भएमा कल्याणकारी सेवा लिन सक्ने कानुनी अधिकार भए पनि कतिपयले समयमै सहायता रकमको लागि निवेदन नदिने गरेको जनाएको छ । वैदेशिक रोजगार ऐनअनुसार श्रमस्वीकृति लिएको म्याद समाप्त भएको १ वर्षभित्र कल्याणकारी कोषबाट आर्थिक सहायता पाउने मापदण्ड रहेको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्य रुपमा श्रमस्वीकृति लिनुपर्छ । एकपटक लिएको श्रमस्वीकृतिको अवधि समाप्त भएपछि पुन: विदेशमा रोजगारीको लागि जानु परेमा श्रमस्वीकृति नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।
विदेशमा मृत्यु हुने श्रमिकको संख्या बढ्दै गइरहेका बेला आर्थिक सहायताका लागि पनि श्रमस्वीकृति गर्नु सुरक्षित हुने मन्त्रालयले जनाएको छ । रोजगारीमा रहँदा भवितव्य परी मृत्यु भएमा श्रमस्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा दाखिला गरेको रकम र विदेश जानुपूर्व नेपालमा नै गरेको बिमाबाट मृतकको शवको व्यवस्थापन गर्ने र परिवारलाई कानुनले तोकेबमोजिमको सेवासुविधा प्रदान गर्ने व्यवस्था रहेको छ । श्रमस्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै अकल्पनीय घटना घटी गम्भीर बिरामी भएमा कानुनबमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बिमाबापतको रकम दाबी गर्न सक्ने कानुनी व्यवस्था नभएका कारण श्रमस्वीकृति गर्नुपर्ने सरकारी अधिकारीहरुको भनाइ छ ।