Logo

सन्दर्भ ब्याजदरको क्याप हटाउन माग

राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदरको १६ प्रतिशतको क्याप हटाउन सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष मीनराज कँडेलले सोमबार एक विज्ञप्ति जारी गरेर समग्र वित्तीय क्षेत्रमा नै समस्या आइसकेको अवस्थामा सहकारी क्षेत्रलाई सन्दर्भ ब्याजदरको सीमामा बाध्न नहुने बताएका हुन् । सहकारी संघ/संस्थाको वित्तीय जोखिम न्यूनीकरण गर्न ऐन नियमावलीमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधीकरण, बचत तथा कर्जा सुरक्षण गठनमा ढिला भएका कारण सहकारी संघ/संस्थामा जोखिम बढ्दै गएको बेला अर्कोतर्फ थप वित्त बजारमा ब्याजदरमा उतारचढाव आउँदा सहकारी क्षेत्र संकटमा परेको उनको भनाइ छ । यस्तो परिस्थितिमा सहकारी क्षेत्रलाई सन्दर्भ ब्याजदरको सीमामा कस्दा थप समस्या आएको उनको भनाइ छ ।
पटक–पटक सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न महासंघले आग्रह गर्दा पनि बेवास्ता भएको भन्दै यस्तो हुनु दु:खद भएको समेत महासंघले जनाएको छ । तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकन गर्नुका साथै सन्दर्भ ब्याजदरको क्यापिङ हटाई बजार अनुरूप स्वचालित छाडिदिन समेत महासंघले सरकारसँग माग गरेको छ ।
हाल सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ । कोभिड–१९ र रुस–युक्रेन युद्धको प्रभाव आन्तरिक तथा बाह्य कारणले मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या आइरहेका बेला सहकारीमा यस्तो सन्दर्भ ब्याजदरको सीमा तोकिनु उपयुक्त नभएको महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्