निर्वाचनपछि अर्थतन्त्र सबल बनाउने नेतृत्व आवश्यक छ: निजी क्षेत्र

निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने सरकारको खाँचो रहेको बताएको छ ।
आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा निजी क्षेत्रको जोड छ । निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले आसन्न निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने राजनीतिक दल निर्वाचित भए देशको आर्थिक अवस्था सुदृढ हुने विश्वास व्यक्त गरे । उनले नेपालमा राजनीतिक परिवर्तन भएसँगै सबै दलहरुले आर्थिक समृद्धिका एजेण्डा बोकेपनि आर्थिक समृद्धिलाई बोलीमा मात्रै सीमित गरेको आरोप लगाए । उनले आसन्न निर्वाचनमा सबै पार्टीको घोषणापत्र समेत आर्थिक समृद्धिका कुरा विशेष जोड दिएको बताए ।
“राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिकै कुरा गरेका छन् । तर त्यो बोलीमा मात्रै सीमित रह्यो । मुलुकमा आर्थिक समृद्धि कसरी गर्ने र निजी क्षेत्रसँग कसरी सहकार्य गर्ने यो विषयमा कुनैपनि पार्टी गम्भिर देखिएन” उनले भने, “मंसिर ४ गतेको चुनावमा सबै पार्टीहरुको घोषणापत्र हेर्दा आर्थिक समृद्धिका कुरा सबैले गरेका छन् । हामीले चाहेको त्यही हो ।”
अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक समृद्धि र निजी क्षेत्रसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा कुनैपनि पार्टी गम्भिर नभएको बताए । उनले पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गरे । अध्यक्ष गोल्छाले दलहरु सीमित राजनीतिक एजेण्डामा मात्रै नभइ पूर्वाधार विकास गर्न र निजी क्षेत्रसँगको सहकार्यलाई विशेष जोड दिने पार्टीको सरकार आवश्यक भएको बताए ।
“पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन र लागत कम गर्नसक्छ । त्यसले मात्रै समग्र जनतालाई मुलुकको अर्थतन्त्रसँग जोड्नसक्छ” उनले भने, “अबको समयमा यो भन्दा माथि उठेर पूर्वाधारलाई पहिलो एजेण्डालाई सफल बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक समृद्ध बनाउने जुन पार्टीले गर्छ त्यो पार्टी सरकारमा आउनुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।”
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने नेतृत्वको सरकार हुनुपर्ने बताए । उनले मुलुकमा हरेक व्यवस्था परिवर्तन गर्ने राजनीति शक्ति भएकाले सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन आउनसक्ने बताए । उनले देशमा समृद्धि कायम गर्न मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व आउनुपर्छ भन्ने पक्षमा परिसंघ रहेको बताए ।
उपाध्यक्ष अधिकारीले अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने नेतृत्व सरकारमा जानको लागि सबल र सक्षम उम्मेदवारले निर्वाचन जित्नुपर्ने बताए । उनले ४ मंसिरको निर्वाचनमार्फत नयाँ नेपाललाई सबल र सक्षम नेतृत्व गर्न निजी क्षेत्रसँग सहकार्य गर्न पार्टीको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने पक्षमा रहेको बताए । उपाध्यक्ष अधिकारीले मुलुकमा आर्थिक समृद्धि र सुशासन राजनीतिक परिर्वतनबाट आउने भएकाले सक्षम नेतृत्व नै अहिलेको आवश्यक्ता भएको दाबी गरे ।