सबैभन्दा ठूलो बाणिज्य बैंक बन्दै ग्लोबल आइएमई बिओके

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले अन्तिम सम्झौतामा हस्ताक्षर गरेसँगै मर्जरपछि देशकै सबैभन्दा ठूलो बाणिज्य बैंक बन्ने भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यसअघि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वापअनुपात १:१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।
मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब, कूल कर्जा ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमईको तर्फबाट अध्यक्ष ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने बताइएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति भएको छ ।
२१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरीसकेका छन् ।
दुई बैंकको मर्जर पश्चात् कूल ३९६ शाखा कार्यालय, ३६८ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाख भन्दा बढि ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ ।
दुवै बैंक एक आपसमा गाभिएपश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्तालाई उच्चतम् प्रतिफल दिने विश्वास लिएको बैंकले जनाएको छ ।
हस्ताक्षर कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्षहरुले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसर ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन् ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकता अनुसार बैंकिङ क्षेत्रको विकास हुने बताउँदै ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहँुच पुर्याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए ।
बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र समृद्धिमा बैैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए ।
संयुक्त मर्जर समितिका संयोजक राधेश पन्तले मर्जर समितिले बैंकका लगानीकर्ता, कर्मचारी तथा समग्र बैंकलाई केन्द्रमा राखेर मर्जर समितिले काम गरेको बताउँदै दिगो र उच्च प्रतिफल दिन ठूलो बैंकले मात्र सक्ने बताए ।