निर्वाचनमा स्थानीय तहका संरचना उपयोग गरिने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ ।
मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहको भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ । आयोगले प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गर्दै आएको छ ।
प्रचारप्रसार १ मंसिरसम्म मात्र
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मंसिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लंघनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।
स्वास्थ्य सतर्कता अपनाउन आग्रह
निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ । मंसिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्ड लाइ भने बेवास्ता गरेका छन् ।
स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य संक्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन् । कोरोनाको संक्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै लापर्बाही नगर्न चिकित्सकले सुझाव दिएका छन् ।
“उम्मेदवारहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन, जति धेरै हुल र हल्लामा हिँड्नुभयो उति शक्ति प्रदर्शन ठान्दै हिँडिरहनु भएको छ । यसले सरुवा रोगको संक्रमणको जोखिम बढाएको छ,” डा. सागर राजभण्डारीले भने, “अहिले लापरवाही गरे रुघाखोकी, इन्फल्युएञ्जा र कोभिडको परिवर्तितस्वरुपको जोखिम बढ्न सक्छ ।”
कोभिड– १९ को संक्रमण शून्यमा झरिनसकेको र मौसमी रुघाखोकी, स्वासप्रश्वाससम्बन्धी संक्रमण निरन्तर बढीरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले जानकारी दिए ।
उनले भने, “जाडो महिना सुरु हुँदैमा झाडापखाला लाग्दैन भन्ने नसोचौँ । जथाभावी खानपानले वान्ता र झाडापखालाको संक्रमण हुन सक्छ ।” रुघाखोकी ज्वरोको लक्षण देखिएको शंकास्पद व्यक्ति भीडमा सहभागी नहुन चिकित्सकहरुको सुझाव छ । साथै सकेसम्म सामाजिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्न र सरसफाइमा ध्यान दिनुपर्ने उनीहरु बताउँछन् ।
उम्मेदवार, दलसँगै निर्वाचनमा सहभागी हुने कर्मचारीले पनि स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ । प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यसँगै अरुको पनि ख्याल गर्नुपर्ने र त्यसका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै पहिलो सर्तहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा. राजभण्डारीले भण्डारीको राय छ ।
यता निर्वाचन आयोगले भने स्वास्थ्य सतर्कता अपनाउन आफूहरु लागिपरेको बताएको छ । “हामी स्वास्थ्य मापदण्डमा सचेत छौँ । राजनीतिक दल र उम्मेदवारलाई स्वास्थ्य मापदण्ड पालना गर्न गराउन आचारसंहितामै उल्लेख छ,” आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “आयोगले मतदान केन्द्रमा ‘स्यानिटाइजर’ र मास्कको वितरणसमेत गरेको छ । सामाजिक दूरी कायम राख्न हामीले आग्रह गर्दै आएका छौं ।”