वैदेशिक रोजगारीका कारण बढ्दो अपांगता «

वैदेशिक रोजगारीका कारण बढ्दो अपांगता

दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि बिदेसिनेको सङ्ख्या बढिरहेको छ । वैदेशिक रोजगारीमा जानेहरूको दक्षता, अनुभव र सीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौती र सकसपूर्ण बनेको देखिन्छ । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भई स्वदेश फर्कनेको सङ्ख्या ज्यादै बढ्नुले पनि वैदेशिक रोजगारी सकसपूर्ण बनेको देखिन्छ । वैदेशिक रोजगारीका कारण अपाङ्गता बढ्दा कैयन्को पारिवारिक अवस्था झन कहालीलाग्दो बन्न पुगेको छ ।
सरकारले सीपमूलक जनशक्ति तयार पार्न प्राथमिकता दिए पनि त्यो त्यति प्रभावकारी बन्न सकेको छैन । विदेश जाने धेरैजसो सीपबिना नै जाने गरेको पाइन्छ, जसका कारण उनीहरूले त्यहाँ समस्या भोग्नु परिरहेको हो । गत आर्थिक वर्षमा २ सय ७४ जना अङ्गभङ्ग भएर नेपाल फर्किएका थिए । गएको १३ वर्षमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग हुनेको सङ्ख्या २ हजार २ सय ५३ पुगेको छ । त्यस्तै अङ्गभङ्ग हुनेमा महिलाको तुलनामा पुरुष कामदार बढी छन् । यो तथ्याङ्क वैदेशिक रोजगार बोर्डबाट वैदेशिक रोजगार कल्याणकारी कोषबाट आर्थिक सहायता पाएका कामदारको सङ्ख्यामात्र हो ।
प्राकृतिक मृत्यु, कार्यस्थलमा दुर्घटना, आत्महत्या, सडक दुर्घटना, हत्या, झैझगडा, कोभिड–१९, हृदयाघातजस्ता रोगलगायत अन्य कारणबाट वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारले ज्यान गुमाएका छन् । कार्यस्थल र सडक दुर्घटनाका कारण ठूलो सङ्ख्यामा नेपाली कामदार अङ्गभङ्ग भएको पाइन्छ । २०७४ साउन १५ भन्दा अगाडि ज्यान गुमाएका व्यक्तिका परिवारलाई बोर्डले ३ लाख आर्थिक सहायता उपलब्ध गराउँदै आएको थियो भने २०७४ साउनदेखि यता ज्यान गुमाउने व्यक्तिका परिवारलाई बोर्डले ७ लाख आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । तर, वैदेशिक रोजगारीका क्रममा रही करार अवधिभित्र स्वदेश फर्किएको अवस्थामा ज्यान गुमाएका ३ सयभन्दा बढी परिवारले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका छन् ।
पछिल्लो समय सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका र त्यहाँ जानेहरू नै बढी अङ्गभङ्ग भएको तथ्याङ्कमा देखिन्छ । वैदेशिक रोजगारी बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/७१ देखि चालू आर्थिक वर्षको असोज १२ गतेसम्म मलेसियामा ६ सय ४३ जनाको अङ्गभङ्ग भएको छ । त्यस्तै सोही अवधिमा साउदी अरेबियामा अङ्गभङ्ग हुने ५ सय ४ जना र कतारमा ४ सय २९ जना रहेका छन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको सङ्ख्या २ हजार नाघिसकेको छ । प्रदेशगत तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी अङ्गभङ्ग हुने र मृत्यु हुनेको सङ्ख्या प्रदेश नम्बर १ र २ को रहेको छ ।
त्यस्ता व्यक्तिहरूको रोजगारीका क्रममा अङ्गभङ्ग भएमा सोको आर्थिक सहायता बोर्डले उपलब्ध गराएको पाइन्छ । बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने व्यक्तिको परिवारले ७ लाखसम्म आर्थिक सहायता प्राप्त गर्नेछ । खासगरी मलेसिया, ओमान, कतार, साउदी, युएई, कुवेत, बहराइन, दक्षिण कोरिया, जापानलगायतका देशमा जाने नेपालीहरू ठूलो सङ्ख्यामा ज्यान गुमाउने तथा अङ्गभङ्ग हुने गरिएको पाइन्छ ।
त्यस्तै, वैदेशिक रोजगारीमा जानेहरू म्यानपावर कम्पनीबाट नै ठगिएको समेत घटना सार्वजनिक भएका छन् । घरमालिकले जथाभावी यातना दिँदा पनि उनीहरू यातना सहन बाध्य भएको नै पाइन्छ । त्यसैले, विदेशमा वस्तुसरह मोलमोलाइमा नेपाली कामदारहरू बेचिएका छन् । विश्वका कतिपय देशमा उनीहरू तड्पिएर बाँच्न विवश छन् । विरानो देश, विरानो परिवेश, न भाषा, न संस्कृति, न कानुन नै मिल्छ । त्यस्तो देशमा पनि भगवान् भरोसामा रहेर नेपाली महिला श्रमिकहरू सङ्घर्ष गरिरहेका छन् । दु:खकष्ट भोग्न विवश छन् । ज्यादै कष्टकर जीवन बिताइरहेका छन् । आफ्नो काम गरेको पारिश्रमिक नपाउनुको पीडा एकातिर छ भने पारिश्रमिक माग्दा उल्टै यातना पाउने गरेबाट पनि नेपाली कामदारको विदेशमा ज्यादै दयनीय अवस्था रहेको प्रतीत हुन्छ । कति ठाउँमा नेपाली श्रमिकको भविष्य सुनिश्चित छैन । थुप्रै नेपाली श्रमिक श्रमशोषणमा परेका पनि पाइन्छन् ।
पछिल्लो समयमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका, मृत्यु भएका र गम्भीर प्रकृतिका बिरामी भएका परिवारका एक सदस्यलाई नि:शुल्क प्राविधिक शिक्षा वा तालिम दिने व्यवस्था गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि जानेका परिवारलाई केही भए पनि राहत मिल्ने देखिन्छ । वैदेशिक रोजगारीमा जानुपूर्व विभिन्न तयारी गरेर जाने गर्दा वा सम्बन्धित म्यानपावरबाट सबै कुरा बुझेर जाने हो भने पनि केही हदसम्म महिला श्रमिकले पाउने सास्ती वा पीडा न्यून हुन पुग्छ । वैदेशिक रोजगारीका निहँुमा झट्टै फाल हाल्नु हुँदैन भन्ने कुरा वैदेशिक रोजगारीमा पुगेका श्रमिकको समस्या र उनीहरूले भोग्नुपरेका पीडाका खबर वा समाचारबाट पनि बुझ्न सकिन्छ । त्यसैले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व सबै कुरा राम्रोसँग बुझेर जानुपर्छ । फस्नुभन्दा पहिले नै सर्तकता अपनाउनु जरुरी छ । त्यस्तै सीप र दक्षताबिनै वैदेशिक रोजगारीमा जाँदा निकै सास्ती खप्नुपर्ने हँुदा आगामी दिनमा वैदेशिक रोजगारीमा जानेलाई सोहीअनुरूपको तालिम, सीप र दक्षता प्रदान गर्नुपर्ने देखिन्छ । उनीहरूको औषधोपचार, स्वास्थ्य बिमालगायतका अन्य सुविधाको समेत उचित व्यवस्थापन हुन सकेमा वैदेशिक रोजगारीमा जाने परिवारले केही मात्रामा भए पनि राहत महसुस गर्ने थिए ।

प्रतिक्रिया दिनुहोस्