निर्वाचनको मुखमा नाकाबाट बढ्यो चोरी–तस्करी

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सरकार केन्द्रित भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरूबाट चोरी–तस्करी बढेको छ । भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांश छोटी भन्सार नाकाहरू र अन्य खुला क्षेत्रबाट चोरी–तस्करी बढेको हो ।
कारोबारका स्थानीय संवाददाताहरूका अनुसार आम निर्वाचनको तरल राजनीतिक अवस्थालाई दुरुपयोग गर्दै चोरी–तस्करीमा संलग्न विभिन्न गिरोह अहिले बढी सक्रिय बनेको देखिएको छ । राजनीतिक सरगर्मीसँगै सुरक्षा निकायको ध्यान पनि अहिले निर्वाचनमा बढी केन्द्रित हुँदा चोरी–तस्करी गर्नेहरूलाई सजिलो बनेको छ ।
नेपाल राष्ट्र बैंकले केही समयअघि लागू गरेको मार्जिनसम्बन्धी नयाँ व्यवस्थाले भारतबाट उधारोमा सामान ल्याउने व्यवसायीहरू समस्यामा परेका थिए । यही कारण वैध आयातको ठाउँ क्रमश: अवैध आयातले लिन सुरु गरेको थियो । यस्तोमा निर्वाचनको माहोलमा सुरक्षा निकायको नाकामा बढी ध्यान पुग्न नसकेपछि चोरी–तस्करीका घटना बढेका हुन् । पछिल्लो एक–डेढ महिनामा सुरक्षा निकायले राजस्व छलेर आयातीत वस्तु बरामद गरेका घटनाले पनि नाकामा चोरी पैठारी बढेको पुष्टि गरेको छ ।
सरकारले चालू आर्थिक वर्षमा राजस्व असुली लक्ष्यभन्दा निकै कम हुनुमा भारतीय सीमा नाकाबाट चोरी पैठारीका घटना बढेको शंका गरेकोे छ । अर्थ मन्त्रालयले केही दिन अगाडि सुरक्षा निकायका प्रतिनिधिहरूलाई बोलाएर यसबारेमा छलफल गरेको थियो । राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय केन्द्रीय टोलीका पदाधिकारी संलग्न छलफलबाट नाकामा चोरी–तस्करीका घटना बढ्न नदिन सुरक्षा व्यवस्था कडा गर्ने निर्णय गरिएको थियो । चोरी–तस्करीका घटनाबारे अनुसन्धान गरी सुझाव समेत दिने गरी ‘मिसन ट्याक’ नामको एउटा कमिटी पनि बनाइएको छ ।
अहिले पूर्वदेखि पश्चिमसम्मका अधिकांश जिल्लाका छोटी भन्सार नाकाबाटै र नजिकको सीमाबाट चोरी–तस्करी भइरहेको हो । कुनै भौतिक पूर्वाधार नभएको खुला सीमाका कारण पनि चोरी–तस्करी बढेको छ । अर्थ मन्त्रालयका अनुसार खाद्यान्न, लत्ता कपडा, रड, सिमेन्ट, इलेक्ट्रोनिक र कस्मेटिकलगायतका सामानको चोरी–तस्करी भइरहेको आशंका छ ।
सुरक्षा निकायले सीमा नाकाहरूबाट भन्सार छलेर आएका सामान बरामद गर्ने तर तस्करीमा संलग्न व्यक्तिहरू भने कमै मात्रामा पक्राउ पर्ने देखिँदै आएको छ । यसले मिलेमतोमा तस्करीमा संलग्न व्यक्तिहरू छुटाउने गरिएको हो कि भन्ने शंका पैदा गरेको छ । सुरक्षा निकायले भने प्रहरीलाई देखेपछि तस्करहरू सामान छोडेर भाग्ने गरेको दाबी गर्दै आएका छन् ।
भैरहवास्थित कारोबार संवाददाता मनोरञ्जन शर्माका अनुसार पछिल्लो समय यो नाकाबाट पनि चोरी–तस्करी बढेको छ । केही दिनअघि भैरहवा भन्सार कार्यालयले भन्सार छलि गरेर ल्याएका २ करोड रुपैयाँभन्दा बढीका सामान बरामद गरेको थियो । विशेष सूचनाका आधारमा प्रमुख भन्सार अधिकृत मनिराम पौडेल नेतृत्वको टोलीले भन्सार छलेर ल्याएका सामान बरामद गरेको हो ।
बरामद सामान दुई ट्रक र दुईवटा पिकअप जिपमा रहेका थिए । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ बर्कुला भन्ने सीमावर्ती गाउँको एउटा घरमा जम्मा गरिएको अवस्थामा र बुटवलको तिनाउ पुल नजिकैको सडकबाट एउटा पिकअप जिपसहित सामान बरामद भएको थियो ।
पौडेलका अनुसार घरलाई गोदामजस्तै बनाई भन्सार छलेर ल्याएका सामान राखिँदो रहेछ र सामान धेरै जम्मा भएपछि अन्यत्र पठाइँदो रहेछ । पौडेलका अनुसार यो खुला सीमा प्रयोग गरी चोरी निकासी गरिएको एउटा प्रतिनिधिमूलक घटनामात्र हो । यस्ता चोरी निकासीका घटना प्राय: भइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले भन्सार कार्यालयको टोलीले बरामद गरेका सामान सबै कपिलवस्तुबाट बरामद भएको बताए । बुटवलको तिनाउ पुल नजिकै बरामद भएको पिकअप जिपसहितको सामान पनि कपिलवस्तुबाटै आएको बताउँदै उनले रुपन्देहीमा अहिले अवैध चोरी–तस्करी विगतका समयमा भन्दा कम भएको र अहिले निर्वाचनको क्रममा बढी सचेत भएको दाबी गरे । प्रहरी प्रमुख रेग्मीले भन्सार छली र चोरीनिकासीमा कमी आएको दाबी गरे पनि जिल्लामा सानातिना तस्करहरू सलबलाउन थालेका छन् । “अन्य समयभन्दा अहिले हामी अझ बढी चनाखो भएका छौं । सीमावर्ती भारतीय सुरक्षा निकायसँग पनि यो विषयमा कुरा भएको छ । दुईदेशीय बैठकमा पनि दुवैतर्फबाट हुने चोरी–तस्करीलाई नियन्त्रण गर्न सहकार्य गरी अघि बढ्ने निर्णय भएको छ,” रेग्मीले भने ।
चोरी–तस्करी नियन्त्रणका लागि प्रहरीसँगै सशस्त्र प्रहरीको टोली पनि रहेको छ । तर सुरक्षा निकायलाई चक्मा दिँदै तस्करी हुने गरेको छ । सुरक्षाकर्मीहरूको ध्यान मंसिर ४ को निर्वाचनमा केन्द्रित हुँदा तस्करहरू सलबलाउन थालेका हुन् । रुपन्देहीको भगवानपुर, भैरहवाको केउटलिया, मर्चवार तथा लुम्बिनीको सीमावर्ती क्षेत्रबाट बढी तस्करी हुने गरेको छ भने कपिलवस्तुको चाकडचौराहा नाका पनि तस्करीको लागि आकर्षित छ ।
दैनिक खाद्यवस्तुका साथै धोती, कुर्था सुरुवाल, सूर्ति, गुटखा, चिनी, अटो पार्टस, खेलौना, कस्मेटिकका विभिन्न सामान भन्सार छलि गरी ल्याउने गरेको पाइएको छ । पछिल्लो समय सामानको आयातमा अनिवार्य रुपमा एलसी खोल्नुपर्ने नियम लगाइएपछि भन्सार हुँदै वैधानिक तवरबाट आयात हुने क्रम घट्ने र भन्सार छलि गरी ल्याउने क्रम बढेको हो । रुपन्देही र कपिलवस्तुसँगै नवलपरासीको सीमावर्ती नाका महेशपुर लगायतका स्थानबाट पनि तस्करी हुने गरेको छ र तस्करीका सामान देशैभर पुग्ने गरेको छ ।
वीरगन्जस्थित कारोबार संवाददाता नीरज पिठाकोटेका अनुसार चालू आवका चार महिनामा सुरक्षा निकायले करिब ८ करोड मूल्यबराबरका भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ । गत साउनमा १ करोड २२ लाख रुपैयाँका अवैध सामान बरामद गरिएकोमा भदौमा १ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरका सामान समातिएको छ । यस्तै असोजमा यो तथ्यांक ३ करोड १४ लाख ९ हजार रुपैयाँ पुगेको छ । सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्सा वीरगन्जका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले कात्तिक २५ सम्ममा मोटर पार्टस, लत्ता कपडा, कार, इलेक्ट्रिकल सामान सहित ५५ लाख ८८ हजार मूल्य बराबर सामान बरामद गरिएको जानकारी दिए ।
उनका अनुसार लत्ता कपडा, मोटर पार्टस, विद्युतीय सामान, मदिरा, काठ, किराना सामान, मोबाइल पार्टस, सुर्तिलगायत भन्सार छली गरेका सामान बरामद भइरहेका छन् ।
धनगढीस्थित कारोबार संवाददाता मुकेश चौधरीका अनुसार चालू आवमा नेपाल–भारत सीमावर्ती बजारबाट चोरी–तस्करी बढिरहेको पाइएको छ । यो वर्षका ४ महिनामा चोरी–तस्करीमा संलग्न व्यवसायीका १ सय १३ वटा मुद्दा पुगिसकेका छन् ।
भन्सार कार्यालय कैलालीका अनुसार कात्तिक २३ सम्ममा एक करोड ४ लाख रुपैयाँ बराबरको सामान बरामद गरी मुद्दा चलाइएको हो । चोरी–तस्करीमा तयारी पोसाक, जुत्ताचप्पल, चिनी, सूर्ति, चुरोट, बिँडी, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिकलगायत सामान चोरी–तस्करी भएको देखिएको छ । भन्सारका सूचना अधिकारी पवित्रकुमार खड्काले यो क्षेत्रबाट सबैभन्दा धेरै तयारी पोशाक र चिनी तस्करी हुने गरेको जानकारी दिए ।
यसैगरी विराटनगरस्थित कारोबार संवाददाता मीनकुमार नवोदितका अनुसार पछिल्लो समय खुला सिमानाको फाइदा उठाउँदै अवैध ओसारपसार बढेको छ । मोरङका विभिन्न नाका हुँदै अवैध ओसारपसार बढेको स्थानीयको गुनासो छ ।
मोरङको बुधनगरका स्थानीय सन्तोष यादवका अनुसार केही सातायता साइकल, मोटरसाइकल र ठेलामा रातको समयमा सामान ओसारपसार भइरहेको छ । सुरक्षाकर्मीहरू निर्वाचनमा केन्द्रित हुँदा अवैध ओसारपसारले बढावा पाएको उनको भनाइ छ ।
खासगरी मोरङको दरैंया, रंगेली, बुधनगर, भाथिगछलगायतका स्थानबाट अवैध आयात बढेको छ । मोरङमा करिब ६३ किलोमिटर भारतसित सीमाना जोडिएको छ । “कात्तिक लागेपछि बुधनगर क्षेत्रबाट अवैध ओसारपसार बढेको छ,” यादवले भने, “रातभरि ठेला, साइकल र मोटरसाइकलमा सामानहरू ल्याएको देख्छु ।”
उनले मोटरसाइकलको आवाजका कारण रातभरि सुत्नसमेत नसकेको गुनासो पोखे । उनको घर छेउको बाटो हुँदै रातिको समयमा दर्जनौं मोटरसाइकल, ठेला र साइकल आवतजावत गर्ने गरेका छन् ।
दरैयाका स्थानीय उमेन्द्र सरकारले पनि केही समययता अवैध सामानको ओसारपसार बढेको सुनाए । उनले हाल प्रहरीको गस्तीसमेत नआउने गरेको बताए । विगतमा राति दुई–तीनपटक प्रहरीको गस्ती आउने गरेको थियो । रंगेली क्षेत्रबाट पनि अवैध ओसारपासर बढेको स्थानीय बताउँछन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमा क्षेत्रमा कडाइ गरिएको जानकारी दिए । उनले बाहिर हल्ला भएजस्तो अवैध ओसारपसार नबढेको दाबी गरे । उनले चोरीपैठारी हुने विभिन्न नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको बताए । “खुला सिमानाका कारण अवैध कारोबारलाई शून्यमा त झार्न सकिँदैन,” दाहालले कारोबारसँग भने, “तर हामीले कडाइ गरेका छौं । यसका लागि भारतीय समकक्षीसित पनि कुरा गरेका छौं ।”
क्याप्सन
भन्सार छली ल्याइएका सामानले भरिएका ट्रक र जिप भैरहवा भन्सार कार्यालय परिसरमा । तस्बिर: कारोबार