निर्वाचन मुखमा विभिन्न नाकाबाट बढ्यो चोरी तस्करी

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सरकार केन्द्रित भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरुबाट चोरी तस्करी बढेको छ ।
भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांस छोटी भन्सार नाकाहरु र अन्य खुला क्षेत्रबाट चोरी तस्करी बढेको हो । कारोबारका स्थानीय संवाददाताहरुका अनुसार आम निर्वाचनको तरल राजनैतिक अवस्थालाई दुरुपयोग गर्दै चोरी तस्करीमा संलग्न विभिन्न गिरोह अहिले बढी सक्रिय बनेको देखिएको छ । राजनैतिक सरगर्मीसँगै सुरक्षा निकायको ध्यान पनि अहिले निर्वाचनमा बढी केन्द्रित हुँदा चोरी तस्करी गर्नेहरुलाई सजिलो बनेको छ ।
राष्ट बैंकले केही समय अघि लागु गरेको मार्जिन सम्बन्धि नयाँ व्यवस्थाले भारतबाट उधारोमा सामान ल्याउने व्यवसायीहरु समस्यामा परेका थिए । यही कारण वैध आयातको ठाउँ क्रमश: अवैध आयातले लिन सुरु गरेको थियो । यस्तोमा निर्वाचनको माहोलमा सुरक्षा निकायको नाकामा बढी ध्यान पुग्न नसके पछि चोरी तस्करीका घटना बढेका हुन् । पछिल्ला एक डेढ महिनामा सुरक्षा निकायले राजस्व छलेर आयातित वस्तु बरामद गरेका घटनाले पनि नाकामा चोरी पैठारी बढेको पृष्टि गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा राजस्व असुली लक्ष्य भन्दा निकै कम हुनुमा भारतीय सीमा नाकाबाट चोरी पैठारीका घटना बढेको शंका गरेकोे छ । अर्थ मन्त्रालयले केही दिन अगाडि सुरक्षा निकायका प्रतिनिधिहरुलाई बोलाएर यसबारेमा छलफल गरेको थियो । राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय केन्द्रीय टोलीका पदाधिकारी संलग्न छलफल नाकामा चोरी तस्करीका घटना बढन नदिन सुरक्षा व्यवस्था कडा गर्ने निर्णय गरिएको थियो । चोरी तस्करीका घटनाबारे अनुसन्धान गरी सुझाव समेत दिने गरी –मिसन ट्याक ) नामको एउटा कमिटि पनि बनाइएको छ ।
अहिले पूर्वदेखि पश्चिमसम्मका अधिकांस जिल्लाका छोटी भन्सार नाकाबाटै र नजिकको सीमाबाट चोरी तस्करी भइरहेको हो । कुनै भौतिक पुर्वाधार नभएको खुला सीमाका कारण पनि चोरी तस्करी बढेको छ ।
अर्थ मन्त्रालयका अनुसार खाद्यान्न, लत्ता कपडा, रड, सीमेन्ट, इलेक्ट्रोनिक र कस्मेटिकलगायतका सामान चोरी तस्करी भइरहेको आशंका छ ।
सुरक्षा निकायले सीमा नाकाहरुबाट भन्सार छलेर आएका सामान बरामद गर्ने तर तस्करीमा संलग्न व्यक्तिहरु भने कमै मात्रामा पक्राउ पर्ने देखिदै आएको छ । यसले मिलेमतोमा तस्करीमा संलग्न व्यक्तिहरु छुटाउने गरिएको हो कि भन्ने शंका पैदा गरेको छ । सुरक्षा निकायले भने प्रहरीलाई देखेपछि तस्करहरु सामान छोडेर भाग्ने गरेको दावी गर्दै आएका छन् ।
भैरहवास्थित कारोबार संवाददाताका अनुसार पछिल्लो समय यो नाकाबाट पनि चोरी तस्करी बढेको छ ।
केहि दिन अघि भैरहवा भन्सार कार्यालयले भन्सार छलि गरेर ल्याएका २ करोड रुपैयाँ भन्दा बढीका सामान बरामद गरेको थियो । विशेष सूचनाका आधारमा प्रमुख भन्सार अधिकृत मनिराम पौडेल नेतृत्वको टोलिले भन्सार छलेर ल्याएका सामान बरामद गरेको हो ।
बरामद सामान दुई ट्रक र दुईवटा पिकअप जीपमा रहेका थिए । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ बर्कुला भन्ने सिमावर्ती गाउँको एउटा घरमा जम्मा गरिएको अवस्थामा र बुटवलको तिनाउ पुल नजिकैको सडकबाट एउटा पीकअप जिपसहित सामान बरामद भएको थियो ।
पौडेलका अनुसार घरलाई गोदाम घर जस्तै बनाई भन्सार छलेर ल्याएका सामान राखीदो रहेछ । सामान धेरै भए पछि अन्यत्र पठाईदो रहेछ ।
पौडेलका अनुसार यो खुल्ला सीमा प्रयोग गरी चोरी निकासी गरीएको एउटा प्रतिनिधीमुलक घटना मात्र हो । यस्ता चोरी निकासीका घटना प्राय भैरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले भन्सार कार्यालयको टोलीले बरामद गरेका सामान सबै कपिलबस्तुबाट बरामद भएको बताए । बुटवलको तिनाउ पुल नजिकै बरामद भएको पिकअप जिप सहितको सामान पनि कपिलबस्तुबाटै आएको बताउदै रुपन्देहीमा अहिले अबैध चोरी तस्करी बिगतका समयमा भन्दा कम भएको र अहिले निर्वाचनको क्रममा बढी सचेत भएको दावी प्रहरी प्रमुख रेग्मीको छ ।
प्रहरी प्रमुख रेग्मीले भन्सार छलि चोरीनिकासीमा कमि आएको दाबी गरेता पनि जिल्लामा साना तिना तस्करहरु सलबलाउन थालेका छन् । अन्य समय भन्दा अहिले हामी अझ बढी चनाखो भएका छौ, सिमावर्ति भारतिय सुरक्षा निकाय संग पनि यो बिषयमा कुरा भएको छ, दुई देशिय बैठकमा पनि दुबैतर्फबाट हुने चोरी तस्करीलाई नियन्त्रण गर्न सहकार्य गरी अघि बढने निर्णय भएको छ, रेग्मीले भने ।
चोरी तस्करी नियन्त्रणका लागि प्रहरी संगै शशस्त्र प्रहरीको टोलि पनि रहेको छ । तर सुरक्षा निकायले चकमा दिदै तस्करी हुने गरेको छ । सुरक्षाकर्मिहरुको ध्यान मंसिर ४ को निर्वाचनमा केन्द्रित हुदा तस्करहरु सलबलाउन थालेका हुन् ।
रुपन्देहीको भगवानपुर, भैरहवाको केउटलिया, मर्चवार तथा लुम्बिनीको सिमावर्ति क्षेत्रबाट बढी तस्करी हुने गरेका छन भने कपिलबस्तुको चाकडचौराहा नाका पनि तस्करीको लागि आकर्षित छ ।
दैनिक खाद्य बस्तुका साथै धोति, कुर्था सुरुवाल, सूर्ति, गुटखा, चिनी, अटोपार्टस, मोटरपार्टस, खेलौना, कस्मेटिकका बिभिन्न सामानहरु भन्सार छलि गरी ल्याउने गरेको पाईएकोछ । पछिल्लो समय सामानको आयातमा अनिबार्य रुपमा एलसी खोल्नु पर्ने नियम लगाइएपछि भन्सार हुँदै बैधानिक तवरबाट आयात हुने क्रम घट्ने र भन्सार छलि गरी ल्याउने क्रम बढेको हो ।
रुपन्देही र कपिलबस्तु संगै नवलपरासीको सिमावर्ति नाका महेशपुर लगायतका स्थानबाट पनि तस्करी हुने गरेको छ । तस्करीका सामान देशैभरी पुग्ने गरेका छन् ।
वीरगन्जस्थित कारोबार संवाददाताका अनुसार चालु आवका चार महिनामा सुरक्षा निकायले करिव करिव ८ करोड मुल्य बराबरका भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ । गत साउनमा १ करोड २२ लाख रुपैयाँका अबैध सामान बरामद गरिएकामा भदौमा १ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरका सामान समातिएको छ । यस्तै असोजमा यो तथ्यांक ३ करोड १४ लाख ९ हजार रुपैयाँ पुगेको छ । सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्सा वीरगन्जका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतले कार्तिक २५ सम्ममा मोटर पाटर््स, लत्ता कपडा, कार, इलेक्ट्रिकल सामान सहित ५५ लाख ८८ हजार मूल्य बराबर सामान बरामद गरिएको जानकारी दिए ।
उनका अनुसार लत्ता कपडा, मोटर पार्ट्स, ट्रक, विद्युतीय सामान, मदिरा, काठ, किराना सामान, मोबाईल पार्ट्स, सुर्ती लगायत भन्सार छली गरेका सामान बरामद भइरहेका छन् ।
धनगढिस्थित कारोबार संवाददातका अनुसार चालु आवमा नेपाल भारत सीमावर्ति बजारबाट चोरी तस्करी बढिरहेको पाइएको छ । यो वर्षका ४ महिनामा चोरी तस्करीमा संलग्न व्यवसायीका १ सय १३ वटा मुद्धा पुगिसकेका छन् ।
भन्सार कार्यालय कैलालीका अनुसार कात्तिक २३ सम्ममा एक करोड ४ लाख रुपैयाँ बराबरको सामान बरामद गरी मुद्धा चलाइएको हो । चोरी तस्करीमा तयारी पोसाक, जुत्ताचप्पल, चिनी, सूर्ति, चुरोट, बिडी, खाद्यान्न, हार्डवयर, इलेक्टोनिकलगायका सामान चोरी तस्करी भएको देखिएको छ ।
भन्सारका सूचना अधिकारी पवित्रकुमार खड्काले यो क्षेत्रबाट सबैभन्दा धेरै तयारी पोशाक र चिनि तस्करी हुने गरेको जानकारी दिए ।
यसैगरी विराटनगरस्थित कारोबार संवाददाताका अनुसार पछिल्लो समय खुल्ला सिमानाको फाइदा उठाउँदै अवैध ओसारपसार बढेको छ । मोरङका विभिन्न नाका हुँदै अवैध ओसारपसार बढेको स्थानीयको गुनासो छ ।
मोरङको बुधनगरका स्थानीय सन्तोष यादवका अनुसार केही सातायता साइकल, मोटरसाइकल र ठेलामा रातको समयमा सामान ओसारपसार भइरहेको छ । सुरक्षाकर्मीहरु निर्वाचनमा केन्द्रित हुँदा अवैध ओसारपसारले बढावा पाएको उनको भनाइ छ ।
खासगरी मोरङको दरैंया, रंगेली, बुधनगर, भाथिगछलगायतका स्थानबाट अवैध आयात बढेको छ । मोरङमा करिब ६३ किलोमिटर भारतसित सीमाना जोडिएको छ । “कात्तिक लागेपछि बुधनगर क्षेत्रबाट अवैध ओसारपसार बढेको छ,” यादवले भने, “रातभरि ठेला, साइकल र मोटरसाइकलमा सामानहरु ल्याएको देख्छु ।”
उनले मोटरसाइकलको आवाजका कारण रातभरि सुत्नसमेत नसकेको गुनासो पोखे । उनको घर छेउको बाटो हुँदै रातिको समयमा दर्जनौं मोटरसाइकल, ठेला र साइकल आवतजावत गर्ने गरेका छन् ।
दरैयाका स्थानीय उमेन्द्र सरकारले पनि केही समययता अवैध सामानको ओसारपसार बढेको सुनाए । उनले हाल प्रहरीको गस्तीसमेत नआउने गरेको बताए । विगतमा राति दुई–तीनपटक प्रहरीको गस्ती आउने गरेको थियो । रंगेली क्षेत्रबाट पनि अवैध ओसारपासर बढेको स्थानीय बताउँछन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमा क्षेत्रमा कडाइ गरिएको जानकारी दिए । उनले बाहिर हल्ला भएजस्तो अवैध ओसारपसार नबढेको बताए । उनले चोरीपैठारी हुने विभिन्न नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको दाबी गरे । “खुल्ला सिमानाका कारण अवैध कारोबारलाई शून्यमा त झार्न सकिँदैन,” दाहालले कारोबारसँग भने तर हामीले कडाइ गरेका छौं । यसका लागि भारतीय समकक्षीसित पनि कुरा गरेका छौं ।”
क्याप्सन:
भन्सार छलि गरी ल्याईएका सामानले भरीएका ट्रक र जिपहरु भैरहवा भन्सार कार्यालय परिसरमा ।
तस्बिर : कारोबार दैनिक