गठबन्धन दुई–तीनवटा चुनावसम्म रहन्छ: देउवा «

गठबन्धन दुई–तीनवटा चुनावसम्म रहन्छ: देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन दुई–तीनवटा चुनावसम्म कायम रहने बताएका छन् । चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चितवनमा गठबन्धनलाई जिताए थप दुई–तीनवटा चुनावसम्म गठबन्धन कायम नै रहने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले यो गठबन्धन कायम रहँदा मात्रै देशको विकास, सुशासन र राष्ट्रिय हित हुने दाबी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई खेलौना ठानेको पनि देउवाले आरोप लगाए । “ओलीले संसद्लाई खेलौना ठानेर २/२ पटकसम्म संसद् विघटन गरे, हामीले संसद्लाई फिर्ता ल्यायौं,” उनले भने ।
सभापति देउवाले गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने दाबी गरे । देउवाले गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने बताए ।
उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने तर्क गरे । देउवाले ठूलो संघर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र संघीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेची–महाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रतिगामी र अवसरवादी तत्वहरुलाई पूरै पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताए । उनले पार्टीभित्र देखिएको समस्यालाई समाधान गर्दै मुलुकको हितका निम्ति निर्वाचनमा विजयीको झण्डा गाढ्नुपर्ने बताए । उनले संविधान रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै गठबन्धन बनेको भन्दै गठबन्धन बनेपछि सकारात्मक दिशामा देश अगाडि बढेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्