Logo

रुपाकोट आविमा वर्षौंपछि पक्की भवन

हिमा गाउँपालिका–५ स्थित रुपाकोट आधाभूत विद्यालयमा भवन अभावका कारण पठन पाठन प्रभावित हुँदै आएको थियो । विद्यार्थी जीर्ण भवनमा कोचिएर तथा खुल्लाचौरमा पढ्न बाध्य थिए भने जुम्लामा समयमै पाठ्यपुस्तक नपुग्ने समस्या त छँदैछ । त्यसैमाथि ३ सय ४ जना विद्यार्थी रहेको रुपाकोट आधारभूत विद्यालयका ३ सय ४ जना विद्यार्थीले कक्षा कोठाको अभाव पनि वर्षौंदेखि झेल्दै आएका थिए । तीनवटा कोठामा कक्षा ६ सम्म सञ्चालन गर्नु पथ्र्यो ।
तर कक्षा कोठाको अभाव खेपिरहेको रुपाकोट आधारभूत विद्यालयमा वर्षौपछि चार कोठे दुईतले पक्की भवन निर्माण भएपछि विद्यार्थी मख्ख छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पक्की भवन निर्माण भएपछि विद्यार्थी खुसी भएका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ३६ लाख लागतमा निर्माण भएको पक्की विद्यालय भवन शुक्रबार हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले उद्घाटन गरे । कक्षा कोठा अभावको समस्या अन्त्य भएको छ । कोचिएर बस्नु पर्ने विद्यार्थीले अब सहज रुपमा बस्न र पठन पाठन गर्न पाउने छन् ।
अध्यक्ष शाहीले भने, “पूर्वाधार बिना शैक्षिक गुणस्तर हासिल गर्न सम्भव छैन । रुपाकोट विद्यालयको पूर्वाधारसँंगै शैक्षिक अवस्था सुधारमा पनि पालिकाको ध्यान गएको छ । विगतमा ३ कोठामा ६ कक्षासम्म सञ्चालन गर्नु पथ्र्योे । अब सहज हुने अपेक्षा छ ।” अध्यक्ष शाहीका अनुसार अव विद्यालयमा जाने बाटो, छात्राछात्रको शौचालय, खानेपानी, घेराबार लगायतका शैक्षिक पूर्वाधार निर्माणमा जोड दिइने छ ।
विद्यालयका प्रधानाध्यापक शान्ती शाहीले ३६ लाखमा निर्माण भएको पक्की भवनले नियमित पठन पाठनलाई प्रभावकारी र सजह बनाउने बताइन् । उनका अनुसार चालू आवमा पनि रुपाकोट विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ५५ लाख बजेट भवन निर्माण हुने भएको छ ।
विद्यालयमा अध्यायनरत ३ सय ४ जना विद्यार्थी पर्याप्त कक्षाकोठा नहुँदा सास्ती खेपिरहेका थिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले दुर्गमका विद्यालयको शैक्षिक अवस्था सुधार र पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएकोे हिमा–४ का अध्यक्ष कालो शाही बताए ।
यता स्थानीय अलि रोकायाले दुर्गम रुपाकोट विद्यालयमा अहिलेसम्मकै सबैभन्दा ठूलो योजनाका रूपमा पक्की विद्यालय भवन निर्माण भएकोमा खुसी व्यक्त गरे । रुपाकोट आधारभूत विद्यालय बाजागाडामा कक्षा १ देखि ८ कक्षासम्म अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्