बाँके–१ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा क्षेत्र रहेको बाँकेमा ४ मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट ११ जना उम्मेदवार छन् ।
दलगत र स्वतन्त्र गरेर ११ उम्मेदवार मैदानमा उत्रिए पनि यस क्षेत्रमा माओवादी केन्द्रका तर्फवाट (नेपाल सरकार युवा तथा खेलकुद मन्त्री) महेश्वरजंग गहतराज र नेकपा एमालेका सूर्यप्रसाद ढकालबीच रोचक प्रतिष्पर्धा हुने देखिन्छ । २०७४ सालको निर्वाचनमा एमालेको सहयोगमा विजयी भएका गहतराजलाई यसपटक एमालेका ढकाल चुनौती बनेका छन् । गहतराज वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट गहतराज उम्मेदवार बनेका छन् । ढकाल राप्रपाको सहयोगमा एमालेका तर्फवाट चुनावी प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् । यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचन र स्थानीय तह निर्वाचन २०७९ को वडा अध्यक्षहरूले पाएको मतका आधारमा माओवादी केन्द्रका गहतराज र एमालेका ढकालबीच चुनावी प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । यस क्षेत्रमा गहतराज सत्ता गठबन्धन र ढकाल राप्रपासँगको तालमेलका बलमा चुनावी मैदानमा उत्रिँदा अरु दलका उम्मेदवार भने आफ्नै खुट्टामा उभिएर जनमत परीक्षणमा लागेका छन् । गहतराज तेस्रो पटक संसदीय चुनावी प्रतिस्पर्धामा छन् भने एमालेका ढकाल पहिलो पटक संसदीय चुनावमा भिड्न लागेका हुन् । गहतराजले यसअघि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जित हात पारेका थिए । त्यसबेला बाम गठबन्धनका उम्मेदवार गहतराजले ३१ हजार १ सय ७३ मतसहित विजयी हुँदा निकटतम नेपाली काँग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत प्राप्त गरेका थिए । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत हेर्दा पनि सत्ता गठबन्धन एमाले राप्रपाभन्दा झण्डै १६ हजार मतले अगाडि देखिन्छ ।