खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने थापाको दाबी «

खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने थापाको दाबी

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने दाबी गरेका छन् ।
उनले दुई वर्षमा खहरेको समस्या समाधान गर्न नसके फेरि मत माग्न नआउने प्रतिबद्धतासमेत जनाए । कपनका घरदैलोका क्रममा ९३ वर्षीया वृद्धाले थापालाई टीका लगाइदिँदै राम्रोसँग पढ्न र फस्ट भएर आउन आशिर्वाद दिएकी थिइन् । निर्वाचनका लागि मत माग्न कपनस्थित खहरे खोलाको बस्तीमा गएका बेला उनले खोलाको व्यवस्थापनका लागि आफ्नो प्रक्रिया अगाडि बढाइसकेकाले अबको दुई वर्षमा काम पूरा हुने जानकारी दिए ।
खहरे खोलाको छेउमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले भने, “दुई वर्षभित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्को पटक तपाईंहरूको बीचमा मत माग्न आउँदैनौं ।” उनले खहरेको छेउमा रहेका घर अगाडिको फोहोरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन आग्रह गरे ।
“मैले तपार्इंहरूको घर अगाडिको फोहोरमात्रै हैन, देशकै फोहोर सफा गर्ने अठोट गरेको छु, त्यसका लागि तपाईंहरूको साथ अनिवार्य हुन्छ, मलाई मेरो अठोट पूरा गर्ने अवसर प्रदान गरिदिनुहुन अनुरोध छ,” उनले भने ।
बूढानीलकण्ठ वडा नम्बर ११ र १२ हुँदै वडा नम्बर १० तिरबग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्