नेपाली चलचित्र निर्माताहरूले चलचित्रको गुणस्तरलाई पनि ध्यान दिई चलचित्र निर्माण गर्नुपर्ने देखिन्छ भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली चलचित्रको बजार विस्तार गर्नुपर्छ । यसको सुरुवात नेपाली चलचित्र ‘प्रेमगीत–३’ ले गरेको छ भन्दा फरक नपर्ला ।
खस्किँदो अवस्थामा छ नेपाली चलचित्रको बजार

कतिपय सरोकारवालाहरू पछिल्लो समयमा नेपाली चलचित्रको बजार खस्किँदो अवस्थामा रहेको बताइरहेका छन् । नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकिरहेका छैनन् । अधिकांश चलचित्रले निर्माताहरूलाई प्रतिफल दिन सकिरहेका छैनन् भन्दा पनि फरक नपर्ला । तर पनि पछिल्लो समयमा नेपाली चलचित्रहरूको बजेट बढ्दै छ । चलचित्रका नायक¬–नायिकाहरूले २० लाख रुपैयाँसम्म पारिश्रमिक लिने भइसकेका छन् भने पछिल्लो समयमा कतिपय चलचित्र विदेशमा छायांकन गर्ने गरिरहेका छन् । कतिपय सरोकारवालाहरूको भनाइमा विदेशमा चलचित्रको छायांकन गर्दैमा चलचित्रले राम्रो व्यापार गर्छ भन्ने छैन । त्यसो त विदेशमा चलचित्रको छायांकनका लागि भनेर कतै अरू नै काम गर्ने गरेको त छैन भन्ने भनाइ पनि कतिपयको रहेको छ । विदेशमा चलचित्रहरूको छायांकनले चलचित्रको बजेट बढ्ने गरेको सरोकारवालाहरू बताउँछन् । एकातिर चलचित्रहरूको बजेट बढिरहेको छ भने अर्कातर्फ चलचित्रहरूले राम्रो व्यापार गर्न सकिरहेका छैनन्, व्यापार घटिरहेको छ । त्यसो त पछिल्लो समयमा चलचित्र क्षेत्रमा लगानी बढ्दै छ भने नेपाली चलचित्र निर्माणमा नयाँ–नयाँ निर्माता/लगानीकर्ताहरू धमाधम देखा परिरहेका छन् । सामान्यतया एउटा चलचित्र निर्माण गर्न २ करोडसम्म लगानी हुने गरेको बताउँछन् उनीहरू ।
नेपाली चलचित्रमा लगानी बढ्नु भनेको राम्रो हो । तर पनि ५ करोडको बजार भएको नेपाली चलचित्र क्षेत्रका लागि डेढ–दुई करोड लगानी पनि बढी हुने गरेको बताउँछन् सरोकारवालाहरू । कतिपय नायक–नायिका पनि आफ्नो पारिश्रमिक नेपाली चलचित्रहरूको औसत व्यापार हेरेर लिनुपर्ने बताउँछन् । नेपाली चलचित्रमा लगानी गर्दा चलचित्रको औसत व्यापार हेरेर गर्नुपर्छ । नेपाली चलचित्रहरूको व्यापार हेर्दा, यसको व्यापार भनेको राम्रो व्यापार हँुदा पनि ५ करोड रुपैयाँको हाराहारीमा मात्र हो भन्दा पनि फरक नपर्ला । नेपालमा हजारौं नेपाली चलचित्र प्रदर्शन भइसकेका छन् । नेपाली चलचित्र व्यापारको इतिहास हेर्दा नेपालमा अहिलेसम्म चलचित्र छक्कापञ्जा सिरिजले मात्र सर्वाधिक १७ करोडको व्यापार गरेको बताइन्छ । यसभन्दा पहिले स्व. नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र ‘कोहिनूर’ले १० करोडभन्दा बढी व्यापार गरेको थियो । पछिल्लो समयमा प्रदर्शन भएको चलचित्र ‘कबड्डी–४’ ले छक्कापन्जा सिरिजले भन्दा बढी व्यापार गरेको बताइन्छ । अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन भएको र हिन्दीमा समेत डेब्यु गरेको नेपाली चलचित्र ‘प्रेमगीत–३’ ले प्रदर्शन भएको दुई हप्तामा नै १५ करोडभन्दा बढीको व्यापार गरेको बताउँछन् निर्माताहरू । त्यसो त नेपाली चलचित्र एकसाथ अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन हुनु नेपाली चलचित्र क्षेत्रका लागि राम्रो हो । तर, नेपाली चलचित्रलाई हिन्दीमा डब गरेकोमा भने विवाद देखिएको छ । त्यसो त नेपाली चलचित्रहरूलाई हिन्दीमा डब गरी विश्व बजारमा प्रदर्शन गरेकोमा विवाद गर्नु भनेको मुर्खता हो भन्नेहरू पनि नभएका होइनन् । यसलाई अरू चलचित्र निर्माताहरूले पनि प्रयास गर्नुपर्ने बताउँछन् सरोकारवालाहरू ।
त्यसो त नेपाली चलचित्र क्षेत्रमा आफ्नो चलचित्रले यति व्यापार गर्यो, उति व्यापार गर्यो भनेर बढाइचढाइ गरी प्रचारप्रसार गर्ने गरिन्छ भनेर पनि चर्चा चलेको हुन्छ । हाम्रो जस्तो सानो बजार भएको चलचित्र क्षेत्रमा लगानी गर्दा लगानीकर्ताहरूले चलचित्रको बजार हेरेर लगानी गर्नुपर्ने देखिन्छ । त्यसो त सिनेमा हलमा प्रदर्शन भएका कतिपय चलचित्र कहिले हलमा लाग्यो, कहिले उत्रियो, दर्शकहरूले थाहा नै पाएका हुँदैनन् । कतिपय नेपाली चलचित्रका स्टार भनिनेहरूले अभिनय गरेको चलचित्रसमेत असफल भएका छन् । नेपालमा एउटा उखान छ, घाँटी हेरेर हाड निल्नु । पछिल्लो समयमा चलचित्रमा लगानी गर्नु भनेको घाटा खानु हो भनेर पनि कतिपय निर्माताहरूले भन्ने गरेका छन् । तर पनि पछिल्लो समयमा थुप्रै नेपाली चलचित्र निर्माण भइरहेका छन् ।
नेपाली चलचित्र निर्माणको सुरुवाततिर दुई–तीन वर्षमा एउटा चलचित्र निर्माण हुने गथ्र्यो भने पछिल्लो समयमा वर्षमा सयभन्दा बढी नेपाली चलचित्र निर्माण हुने गरेका छन् । त्यसो त नेपालको चलचित्र क्षेत्रमा नेपाली भाषा (खस भाषा) को मात्र चलचित्र निर्माण भइरहेको छैन । नेपालका आदिवासी जनजातिहरूको भाषामा पनि थुप्रै चलचित्र निर्माण भइरहेका छन् । नेपालका आदिवासी जनजातिहरूको भाषा नेपाल भाषा, तामाङ, राई, थारू, मगर, भोजपुरी, मैथिली, सुनवार, सुनार, शेर्पा, कुमाल, डोटेली, दनुवार, लिम्बू तथा गुरुङ भाषाका चलचित्रहरू पनि निर्माण भइरहेका छन् । तर, चलचित्र पत्रकार, विश्लेषक, समीक्षक, विज्ञहरूले नेपाली भाषाका चलचित्रहरूको मात्र चर्चा–परिचर्चा तथा प्रचारप्रसार गर्ने गरेका छन् । पछिल्लो समयमा नेपालका राष्ट्रिय भाषाका चलचित्रहरूमा पनि थुप्रै लगानी भइरहेको छ । तर, मिडियाहरूमा भने त्यति प्रचारप्रसार हुँदैन ।
नेपालको चलचित्र क्षेत्रमा बर्सेनि अर्बौं रुपैयाँ लगानी भइरहेको छ । तर पनि लगानीअनुसारको प्रतिफल भने पाउन नसकेको लगानीकर्ता, चलचित्र निर्माताहरूको भनाइ रहेको पाइन्छ । नेपालमा वर्षमा सयको हाराहारीमा नेपाली चलचित्र प्रदर्शन भए तापनि सामान्यतया एक दर्जनजति चलचित्रले मात्र नाफा कमाउने गरेका छन् भने एक दर्जनजति चलचित्रले आफ्नो लगानीसम्म उठाउने गरेको बताइन्छ । प्रदर्शन भएका अधिकांश चलचित्रले घाटा बेहोर्नुपरिरहेको बताउँछन् सरोकारवालाहरू । त्यसो त चलचित्र क्षेत्रले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिने गरिरहेका छन् । कतिपय चलचित्रकर्मी, चलचित्र प्राविधिकहरू चलचित्र क्षेत्रलाई नै पेसा बनाएर आफ्नो जीवननिर्वाह गरिरहेका छन् । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरैलाई रोजगारी दिइरहेको चलचित्र क्षेत्रलाई हल्का रूपमा भने लिन हुँदैन । त्यसैगरी नेपालको चलचित्र क्षेत्रले नेपालको चलचित्रको व्यापारलाई देशको अर्थतन्त्रको एउटा पाटोको रूपमा लिनुपर्छ । नेपालको चलचित्र क्षेत्रले देशको आर्थिक क्षेत्रमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ ।
नेपालको चलचित्र क्षेत्रमा पछिल्लो समयमा विभिन्न चलचित्रहरू निर्माण भइरहेका छन् भने थुप्रै नयाँ–नयाँ चलचित्रकर्मीहरू, नयाँ–नयाँ लगानीकर्ताहरूको प्रवेश भइरहेको छ । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई नयाँहरूले नै बोकिरहेका छन् भन्दा पनि फरक नपर्ला । तर, केही पुराना चलचित्रकर्मीहरू पनि चलचित्रमा फर्किएका छन् । हुन त चलचित्र क्षेत्रमा प्रवेश गर्नेहरू विभिन्न उद्देश्यले प्रवेश गरेका हुन्छन् । कतिपय लगानीकर्ताहरू चलचित्रमा व्यापार–व्यवसायका लागि लगानी गर्ने गरिरहेका छन् भने कतिपय चलचित्रकर्मीहरू चलचित्रमा रहर, सोख र मनोरञ्जनका लागि प्रवेश गर्नेहरू पनि नभएको होइन । कतिपय चलचित्र निर्माताहरूले आफू कलाकर्मी बन्न, आफ्ना सन्तान, आफन्तहरूलाई चलचित्रमा प्रवेश गराउनका लागि चलचित्रहरूमा लगानी गर्ने गरेका छन् । कतिपय कलाकारले आफू चलचित्रमा निरन्तरता दिनका लागि चलचित्रमा लगानी गर्ने गरेका छन् । तर, यस्ता चलचित्रकर्मीहरूले चलचित्रमा निरन्तरता दिन नसकेको सरोकारवालाहरू बताउँछन् । कतिपय आफैं लगानी गरी नायक बन्छन् भने एउटा चलचित्रमा नायक भएबापत २० लाखदेखि ५० लाख रुपैयाँ परिश्रमिक लिने गरेको चर्चा पनि चलेको छ कलिउडमा । चलचित्र क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरू चलचित्र क्षेत्रलाई हल्का रूपमा नलिई, चलचित्र क्षेत्रलाई रहर र सोखका लागि मात्र नलिई समग्र चलचित्र क्षेत्रलाई विकास, विस्तार र व्यावसायिक, पेसागत हिसाबले चलचित्र क्षेत्रमा केही गरौं भन्ने भावनाले चलचित्र क्षेत्रमा प्रवेश गर्ने गर्नुपर्छ ।
नेपालका चलचित्रहरूले पछिल्लो समयमा देशका चलचित्रहरूसँग मात्र प्रतिस्पर्धा गर्नुपरिरहेको छैन, विदेशी चलचित्रहरू खासगरी हिन्दी चलचित्रहरूसँग पनि प्रतिस्पर्धा गर्नुपरिरहेको छ । त्यसो त नेपाली चलचित्रहरूबीच पनि अस्वस्थ प्रतिस्पर्धा भइरहन्छ भनेर पनि चर्चा चल्ने गरेका छन् । पछिल्लो समयमा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली चलचित्रको बजार खोज्ने प्रयास भइरहेको छ भने कतिपय नेपाली चलचित्र विदेशमा पनि प्रदर्शन हुने गरेका छन् । यसकारणले पनि नेपाली चलचित्र निर्माताहरूले चलचित्रको गुणस्तरलाई पनि ध्यान दिई चलचित्र निर्माण गर्नुपर्ने देखिन्छ भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली चलचित्रको बजार विस्तार गर्नुपर्छ । यसको सुरुवात नेपाली चलचित्र ‘प्रेमगीत–३’ ले गरेको छ भन्दा फरक नपर्ला ।
नेपालमा पछिल्लो समय थुप्रै चलचित्र निर्माण भइरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा नयाँ–नयाँ लगानीकर्ताहरू देखा परिरहेका छन् । हुन त चलचित्र धेरैका लागि मनोरञ्जन, कसैका लागि कला–संस्कृतिको धरोहर, कसैका लागि व्यापार–व्यवसाय, कसैका लागि जीविकापार्जनको माध्यम, कसैका लागि उत्सुकता/चासो र कसैका लागि रहर/सोख हुन सक्छ । चलचित्र आधारभूत रूपमा मनोरञ्जन भए पनि यसको सम्बन्ध देश, अर्थ, समाज र कला–संस्कृतिसँग जोडिएको हुन्छ ।