रकम हिनामिनामा संलग्नको उम्मेदवारी खारेजी गर्न माग
सहकारीको ४३ करोड हिनामिना प्रकरण

नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा बचतकर्ताले जम्मा गरेको ४३ करोड रुपैयाँँ अपचलन भएको तीन वर्ष भन्दा बढी भइसकेको छ ।
आफूहरुले जम्मा गरेको रकम हिनामिना हँुदा निम्न वर्गिय बचतकर्ता पीडामा छन् । छोरीको बिहेका लागि भन्दै बचत गरेको ११ लाख रुपैयाँ सहकारीले हिनामिना गरेपछि नेपालगन्जकी बचतकर्ता मालती कहार आर्थिक र मानसिक पीडामा भएको बताउँछिन् । “आफूले खाइ नखाई गरी छोरीको विवाहका लागि सहकारीमा रकम जम्मा गरेकी थिएँ” उनले भनिन्, “सहकारीका कर्मचारी र सञ्चालकको मिलेमतोमा हामी गरिवको रकम हिनामिना गरियो ।”
उनले जीवनभरी कमाई गरेको रकम डबेको भन्दै रकम दिलाइदिन माग गरिन् । उनीजस्तै नेपालगन्ज १ धम्बोजीकी माया पासीले गरिवको सहाराका लागि खोलिएको भन्दै प्रचार गरेको सहकारीले आफूहरुजस्ता निम्न वर्गिय परिवारलाई उठीबास लगाएको बताइन् । “हामी गरिवको पैसा खाएर त्यही पैसाले केही व्यक्ति आजसन्न निर्वाचनमा चुनाव लडदैछन्” उनले भनिन्, “यस्ता भ्रष्टको उम्मेदवारी खारेज हुनुपर्दछ ।”
सहकारीमा बचत र लगानी गरेका ११ हजार ४०८ जना पीडित छन् । आफ्नो रकम पाउनुपर्ने भन्दै पीडितहरु तीन वर्षदेखि पटक पटक आन्दोलित हुँदै आएका छन् । निर्वाचनमा केही व्यक्ति उम्मेदवार बनको भन्दै आफूहरुले उम्मेदवारी खारेजीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएको सहकारी पीडित संघर्ष समितिका सह–संयोजक आशुतोष शुक्लाले बताए ।
शुक्लाका अनुसार सहकारीको रकम हिनामिना गर्ने मध्ये बाँके क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार अम्बरबहादुर खड्का र क्षेत्र नं. ३ (ख) बाट विजयकुमार पाठक जसपाबाट उम्मेदवार बनेका छन् । “हिनामिनामा संलग्न ती दुवै जनाको उम्मेदवारी खारेज हुनुपर्छ” उनले भने । करोडौं रुपैयाँ ठगी, संगठित अपराध, रकम हिनामिना जस्तो गम्भिर प्रकृतिको मुद्दा लागेका व्यक्तिलाई टिकट दिने दलहरु पनि दोषी भएको र जनताको निर्णय यस्ता व्यक्तिविरुद्ध हुने स्थानीयको भनाइ छ ।
बाँके क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले यस विषयमा अनुसन्धान गर्ने र कारबाहीका लागि निर्वाचन आयोगमा पत्राचार गर्नुपर्ने सुझाव दिएको बताए ।
सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जको ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँँ हिनामिना गरेको अभियोगमा खड्का र पाठकसहित ४१ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा ठगी तथा संगठित अपराधको मुद्दा विचाराधीन रहेको छ । थुनुवाको रुपमा बाँके कारागारमा केही महिना बिताएर खड्का र पाठक दवै जना जनही २५ लाख रुपैयाँँ धरौटी बुझाएर रिहा भएका व्यक्ति हुन् । उक्त मुद्दा हाल बाँके जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ । सहकारी पीडितले पहिलो चरणमा एक हजार ९ र दोस्रो चरणमा ५१७ सहकारी पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।