Logo

निर्वाचनका लागि सुरक्षा सतकर्ता

आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी बाँकेमा सुरक्षा सतर्कता बढाइएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन बाँके प्रशासनले आवश्यक सुरक्षा रणनीति अपनाउँदै सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारीरहँदा बाँके प्रशासन सुरक्षा निकायका तीनवटै संयन्त्रसँग छलफल गर्नुका साथै सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरीरहेको छ ।
आसन्न निर्वाचनलाई लिएर भारतीय सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको समन्वय बैठक भएको छ । बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय तथा भारतको बहराइच र श्रावस्ती जिल्लाका समकक्षी डीएमको नेतृत्वमा त्यहाँका सुरक्षा निकाय बैठकमा सहभागी भएका थिए ।
बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समिति प्रमुख सूर्यबहादुर खत्रीले नेपालमा आसन्न निर्वाचनको सुरक्षालाई लक्षित गरी दुवै तर्फबाट सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने, निर्वाचनको दिनसम्म ७२ घण्टा सीमा क्षेत्र सिल गर्ने, सीमा क्षेत्रबाट हुनसक्ने गैरकानूनी कार्य, अवैध हातहतियार ओसार पसार, लागू औषध ओसार पसार, मानव बेचखिन जस्ता कार्य रोक्नको लागि कडाईका साथ दुवैतर्फ सक्रिय रहनेलगायतका विषयमा सहकार्य हुने जानकारी दिए ।
बाँकेमा ६९ किलोमिटर क्षेत्र दक्षिणी सीमा क्षेत्रमा पर्दछ । यहाँको सीमा क्षेत्रबाट पश्चिम तराइका २३ जिल्लाका मानिसहरु आवतजावत गर्दछन् । खुला सीमाबाट हुन सक्ने अवाञ्छित कृयाकलाप नियन्त्रणका लागि नेपाल प्रहरी र भारतीय सुरक्षा निकायले संयुक्त गस्ती गर्नुुका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले २४ सै घण्टा गस्ती हुनेगरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले बताए ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा कुल ३ लाख ३२ हजार २३१ मतदाताले मतदान गर्न पाउने छन् । प्रतिनिधिसभाका लागि ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेको यहाँ १ सय ३८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा सुरक्षा दृष्टिकोणले १ सय ८ मतदानस्थल अति संवेदनसिल र ३० मतदान स्थल सवेदनसिलको सूचीमा वर्गिकरण गरीएको छ । अति संवेदनसिल र संवेदनशिल केन्द्रमा सोही अनुसार सुरक्षा व्यवस्था मिलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्