राप्तीको पानी नेपालगन्ज ल्याइँदै

नेपालगन्जको खानेपानी समस्या समाधान गर्न राप्ती नदीको पानी ल्याइने भएको छ । नेपाल सरकारको ऋण अनुदानमा नेपाल खानेपानी संस्थानले बृहत् खानेपानी योजना कार्यान्वयनमा ल्याएको हो ।
सरकारले योजना कार्यान्वयनको प्रारम्भमै २५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । यो अनगोइङ प्रोजेक्ट हो, संस्थानका नेपालगन्जस्थित कार्यालय प्रमुख आशिष कार्कीले भने, कामअनुसार बजेट उपलब्ध हुँदै आउँछ ।
राप्ती नदी किनारमा इन्टेक बनाएर १६ किमि मेन पाइप लाइनबाट नेपालगन्ज बजारसम्म पानी ल्याई पुराउने योजना छ । त्यसका लागि आवश्यक सबै मुख्य पाइप नेपालगन्ज पुगिसकेको संस्थानका नेपालगन्ज प्रमुख कार्कीले बताएका छन् ।
उनका अनुसार, यही गतिमा कामले निरन्तरता पाए २०७६ को आर्थिक वर्षको अन्त्यसम्म नेपालगन्जमा राप्तीबाट शुद्ध पिउने पानी नेपालगन्ज ल्याइसकिने छ । भूमिगत जलस्रोतबाट खानेपानीको आपूर्ति गर्दै आएका नेपालगन्जवासीका लागि दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न यो नयाँ योजनाअघि सारिएको हो । हाते पम्प, ट्युबवेल, डिप बोरिङलगायतका माध्यमबाट उपलब्ध खानेपानी नेपालगन्जमा उपलब्ध छ ।
यसका लागि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग मैले पहिलो पटक यो प्रस्ताव लिएर गएको थिएँ, निवर्तमान सांसद मैकुलाल वाल्मीकिले भने, “यो योजना कार्यान्वयनमा आउँदा खुसी लागेको छ ।” वाल्मीकिका अनुसार, योजनाका लागि वैदेशिक सहयोग प्रस्ताव पनि गरिएको छ । अहिलेको स्रोतबाट निरन्तर आपूर्ति निर्भर भए १० वर्षमा नेपालगन्जवासी काकाकुलको अवस्थामा पुग्नुपर्छ, वाल्मीकिले तत्कालीन अध्ययनलाई उदद्धृत गर्दै भने, “त्यसैले स्थायी समाधानका लागि सरकारको यो लगानी आएको हो ।”
संस्थाका प्रमुख कार्कीले परम्परागत शुद्धीकरणबाट इन्टेकमार्फत पानी ल्याउने योजना भए पनि त्यसरी शुद्ध खानेपानी सम्भव नभए ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गरिने बताए । त्यसो भयो भने एक वर्ष समय बढ्न सक्छ, कार्कीले २०७३ असारबाट योजनाले औपचारिक प्रक्रिया सुरु गरे पनि तीन महिनाअघि मात्र त्यसले मूर्त रूप पाएको जानकारी दिँदै भने, “ठेकेदार राम्रो परेकाले सम्झौताअघि नै काम अगाडि बढाउँदै आवश्यक पाइप लाइन नेपालगन्ज ल्याइसकिएको छ ।
कार्कीका अनुसार, २० इन्च पाइपबाट १६ किमि राप्तीपथ हुँदै खानेपानी मेन लाइन विस्तार गरिनेछ । वागेश्वरी मन्दिरनजिक ट्यांकी र कारकाँदोस्थित नयाँ बन्दै गरेको शाखा ट्यांकीमा १० इन्च पाइपबाट पानी पु¥याइनेछ, कार्कीले शुद्ध खानेपानीबाट उपभोक्तालाई स्वस्थ राख्ने योजना सुनाउँदै भने, “दैनिक साढे २ करोड लिटर पानी सहज उपलब्ध हुनेछ ।”
निवर्तमान सांसद वाल्मीकिले हाल नेपालगन्जवासीले जोखिमयुक्त पानीबाट गुजारा गरिरहेको जानकारी दिंदै बृहत् खानेपानी योजना सुचारु भएपछि स्वस्थ पानीको सुनिश्चितता हुने विश्वास व्यक्त गरे । ३० फुटसम्मका पानी जनताले पिइरहेका छन्, वाल्मीकिले शुद्ध पानीका लागि सरकारको बृहत् खानेपानी योजना समयमै पूरा हुनुपर्ने आवश्यकतालाई जोड दिंदै भने । हाते पम्पबाट अधिकांश ठाउँमा आर्सेनिकयुक्त पानी फेला परेको तथ्य पनि बेलाबेलामा बाहिर आउने गरेको छ ।
संस्थानबाट मात्र नेपालगन्जमा अहिले ३६ लाख लिटर पानी उपयोग भइरहेको छ । नेपालगन्जमा ४ हजार ५ सय घरधुरीले मात्र संस्थानबाट खानेपानीको सेवा लिइरहेको जनाउँदै संस्थानका प्रमुख कार्कीले भने, मागअनुसारको सप्लाइ पूरा गर्दै आएका छौ ।