Logo

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न आग्रह

नेपाल चेम्बर अफकमर्सले बैक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ ।
जिल्ला चेम्बर अफकमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजीकर्जा सम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचनलगत्तै आफ्नो शान्तिपूर्ण सर्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्ने छ । त्यतिन्जेलका लागि संघर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बरलाई आग्रह गरिन्छ, ।”
बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी मर्कामा परेपनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्