Logo

लमजुङका व्यवसायीको गभर्नरलाई ज्ञापन पत्र

लमजुङ उद्योग बाणिज्य संघले बैक तथा वित्तिय संस्थाहरुमा भएको व्याज बृद्धिलागयतका विषयमा गर्भनरको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष गुणराज सिलवालाको नेतृत्वमा व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत ज्ञापन पत्र बुझाएर गभर्नरको ध्यानाकर्षण गराएका हुन् ।
पछिल्लो समय वैक तथा वित्तिय क्षेत्रमा भएको व्याज बृद्धि, कर्जा असुलीका लागि व्यवसायनै प्रभावित हुनेगरी धम्कीपूर्ण ताकेता लगाउने जस्ता गतिविधिले व्यवसायीमा थप संकट पैदा भएको भन्दै राज्यको ध्यानाकर्षण गराइएको अध्यक्ष सिलवालले बताए ।
निजी क्षेत्रले धान्नै नसक्ने गरी पटक पटकको व्याजदर वृद्धि एवं कर्जा भुक्तानीको क्रममा दिइने मानसिक दवाव र चर्को सेवा शुल्क जस्ता विषयले झनै अन्यौल बनाएको भन्दै राज्यका तर्फबाट तत्काल सम्बोधनका लागि ज्ञापनपत्रमार्फत आग्रह गरीएको अध्यक्ष सिलवालको भनाइ छ ।
व्यवसायीले कर्जामा भएको व्याजदर अविलम्व एकल अङक हुनेगरी घटाउन, व्यवसायीलाई मानसिक तनाव दिने प्रवृतिका कार्यको अन्त्य गर्न, किस्ता व्याज लिने समय सीमा बढाउन, विभिन्न शिर्षकमा लिइने सेवा शुल्क पारदर्शी र मनासिव बनाउन, कर्जाको व्याजदर पुन: संरचना गर्न, बैंक तथा वित्तीय संस्थाले अगाडी बढाएका धितो लिलामीका प्रकृयाहरु तत्काल रोक्न, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न तथा कोभिड महामारीका कारण प्रभावित निजी क्षेत्रलाई चलायमान बनाउन माग गरेका छन् ।
लामो समयको व्यावसायिक संक्रमण कालिन अवधीपछि व्यापार व्यवसाय केही चलायमान हुन शुरुवात हुँदै गर्दा बंैक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीलाई थप हतोत्साही बनाएको जिल्लाका व्यवसायीको गुनासो छ ।
जिल्लाका व्यवसायीहरुले कोभिड प्रभावका कारण अर्थतन्त्रमा उकालो नलाग्दै औद्योगिक क्षेत्रमा कर्जाको सीमा घटने सम्भावनाले देशको कुल ग्राहस्थ उत्पादन नै प्रभाव पार्ने भन्दै चालु पुँजी मार्ग निर्देशनमा सुधार गर्न जरुरी रहेको ज्ञापनपत्र मार्फत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्