कृषि निर्यातमा अमेरिकालाई विस्थापित गर्दै रूस

रूसी कृषि निर्यात लगातार वृद्धि हुने र अगामी पाँच वर्षको अवधिमा ४५ अर्ब डलर पुग्ने देशका कृषिमन्त्री दिमित्री पाट्रुसेभले बताए ।
सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एपीआईईएफ) मा उनले भने, “मलाई लाग्छ, हामीले यी सबै लक्ष्य पूरा गर्नेछौं ।”
विदेशमा कृषि उत्पादनको बिक्री बढाउनु हाल रूसको उच्च प्राथमिकतामा रहेको छ । यो वर्षको कृषि निर्यात २०१८ को तुलनामा कम नहुने पाट्रुसेभले बताए । २०१८ मा रूसको कृषि निर्यातको मूल्य २५ अर्ब डलर पुगेको थियो ।
उनले रूस विश्वका १० शीर्ष कृषि उत्पादनको निर्यातकर्ता मुलुक हुने सुरुमा बताएका थिए । देशका उत्पादकहरूले गत वर्ष रणनीतिक महŒवपूर्ण बजारको संख्या विस्तार गरेका थिए । यो वृद्धिमा अन्न, माछा र मासु निर्यात वृद्धिको महत्वपूर्ण योगदान रहेको छ । चीन रूसी पोल्ट्री र दूग्ध उत्पादनको प्रमुख आयातकर्ता मुलुक हुने पनि उनले बताए ।
रूसकै ठूलो खाद्य उत्पादक चेर्किजोभो समूहले विशेष गरी चीनमा निर्यात बढाउन खोजिरहेको छ । अमेरिकासँगको व्यापारयुद्धका कारण हुने कम आपूर्ति पूर्ति गर्नका लागि कम्पनी तयार भएको सिइओ सर्गेइ मिखाइलोभले बताए ।
सुरुमा कम्पनीले १ हजारदेखि १ हजार ५ सय टनको पोल्ट्री उत्पादन ढुवानी गर्ने योजना बनाएको छ । यसमा अधिकांश कुखुराको खुट्टा, पखेटा र ड्रमस्टिक रहने छन् । यो प्रतिमहिना ३ हजार टनमा वृद्धि हुने उनको कम्पनीले जनाएको छ ।
चेर्किजोभोले गत महिना पोल्ट्री उत्पादन चीनमा ढुवानी गर्न सुरु गरेको थियो । “हामीले चीनमा हुने रूसी पोल्ट्री निर्यात प्रतिवर्ष २ लाख टन पुग्ने अनुमान गरेका छांै । चेर्किजोभो एक्लैले आगामी वर्ष चीनमा ४० लाख टन पोल्ट्री उत्पादन निर्यात गर्ने लक्ष्य लिएका छौं,” मिखाइलोभले भने । गत वर्ष रूस र चीनबीचको व्यापार झन्डै ३० प्रतिशतले वृद्धि भएर ५ अर्ब डलर पुगेको थियो । दुई मुलुकबीचको समग्र व्यापार टर्नओभरमा कीर्तिमानी २५ प्रतिशतको वृद्धि भएर १०८ अर्ब डलर पुगेको थियो ।