अमेरिकी रोजगारी र ज्याला दुवैमा वृद्धि

अमेरिकामा रोजगारदाताले रोजगारी थपेको र ज्यालामा पनि वृद्धि भएसँगै जनवरीमा अमेरिकाको रोजगार बजारमा सुधार देखा परेको छ । ज्याला वृद्धि ८ वर्षभन्दा बढी अवधिकै उच्च कायम भएको छ ।
गत महिना अमेरिकामा २ लाख रोजगारी थपिएको छ । निर्माण, खाद्य सेवा र स्वास्थ्य सेवाका क्षेत्रमा कामदार भर्ना लिने कामसँगै अमेरिकी रोजगारीमा पनि वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।
निजी क्षेत्रका कामदारका लागि औसत घण्टाको तलबमा गत वर्षको जनवरीको तुलनामा २.९ प्रतिशतले वृद्धि भएको छ ।
बेरोजगारी दर ४.१ प्रतिशत कायम भएको छ ।
अर्थशास्त्रीहरू न्यून ज्याला वृद्धिका कारण अलमलमा परेका छन् । अघिल्लो महिना बेरोजगारी दरमा गिरावट आए बाबजुद ज्याला वृद्धि ओझेलमा परेको थियो ।
उच्च ज्यालाबिना आर्थिक वृद्धि टिक्नका लागि कठिन हुने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन् । अमेरिकी अर्थतन्त्रमा उपभोक्ता खर्चले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
निजी क्षेत्रका कामदारका लागि जनवरीमा घण्टाको औसत आम्दानीमा ९ सेन्टले वृद्धि भई २६.७४ डलर कायम भएको छ । पूरै वर्षलाई आधार मान्ने हो भने ७५ सेन्टको वृद्धि भएको छ ।
१८ राज्यको न्यूनतम ज्यालामा अनिवार्य वृद्धि भएको समयमा भएको यो वृद्धिलाई संयोग मानिएको छ । वालमार्ट जस्ता प्रमुख रोजगारदाताहरूले आफूले आम्दानी वृद्धि गर्ने तथा लाभांश प्रदान गर्ने योजना बनाएको बताएका छन् ।
गत महिनाको वृद्धिमा यी तत्वले पनि सहयोग गरेको हुन सक्छ । यदि वृद्धिले निरन्तरता पायो भने यसो भन्न पनि मुस्किल हुने स्टिफेलका स्थिर आम्दानीका प्रमुख अर्थशास्त्री लिन्डसे पिज्गाले बताइन् ।
“यो उत्साहजनक भएको अवस्थामा दिगो ज्याला वृद्धि देख्नका लागि केको आवश्यकता छ,” उनले बताइन् ।
अमेरिकी आर्थिक वृद्धि हाल लगातार नवौं वर्षमा पनि कायम भएको छ र २०१० देखि लगातार रोजगारीमा वृद्धि भइरहेको छ ।