भुकम्पको झट्काले घर भत्किँदा ६ जनाको मृत्यु

खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्र बिन्दु बनाएर गएको भूकम्पको झट्काले घर भत्किँदा बुधबार डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका ६ जनाको ज्यान गएको छ ।
बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.७ रेक्टरको भूकम्पले गैरागाउँको दुई वटा घर भत्किएको हो । भूकम्पमा परी पाँच जना घाइते भएका छन् । गैरागाउँका ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोलाप्रसाद भट्टले जानकारी दिए ।
यसैगरी, मंगलबार मात्रै भारतबाट रोजगारी गरी फर्किएका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको मृत्यु भएको भट्टले बताए । उनले सोही वडाका पाँच जना घाइते भएको बताए ।
घाइते मध्ये दुई जनालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा ल्याइएको छ भने तीन जनाको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्थानीय बासिन्दा, सेना र प्रहरीले घाइतेहरुको उद्धार तथा मृतकको खोजी गरेका थिए । मृतकका परिवारलाई पूर्वमन्त्री प्रेम आलेले प्रति परिवार २५ हजार रुपैयाँ किरिया खर्च दिने घोषणा गरेका छन् । भूकम्पको झट्का सुदूरपश्चिमको सबै जिल्ला र कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पका कारण डोटी, अछाम र बझाङ जिल्लाका केही स्थानीयको घरमा क्षति पुगेको छ ।