Logo

सरकारले गतिविधि नसुधारे सडक संघर्ष : देउवा

गोरखा-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आफ्ना गतिविधि सुधार नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । वर्तमान सरकार प्रशासनिक निकायदेखि नागरिकका अधिकार खोस्न उद्दत रहेकोले जनहित विपरीतका गतिविधि सुधार नगरे सडक संघर्ष गर्ने उनले बताए ।
गोरखा सदरमुकाममा आयोजित नेपाली कांग्रेसको गोरखा नगर स्तरीय दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले झुटा प्रचार बाहेक सरकारबाट कुनै काम हुन नसकेको जिकिर गरे । “अख्तियार, राजस्व, प्रेस, मानव अधिकार सबैको अधिकार खोस्न सरकार लागिपरेको छ,” उनले भने, “स्वतन्त्र प्रेस बिना प्रजातन्त्र चल्न सक्दैन । मिडिया काउन्सील विधेयक कुनैपनि हालतमा संसदबाट पास हुन दिँदैनौं ।”
सरकारले गुठी जग्गा प्राधिकरण गठन गरेर कार्यकर्तालाई बाँड्न खोजेको उनको आरोप छ । बूढीगण्डकी जलविद्युत् आयोजना गेजुवा कम्पनीलाई दिने निर्णयमा आर्थिक चलखेल भएको उनले आशंका गरे । “कांग्रेस सरकारले गठन गरेको कार्यदलले बूढीगण्डकी नेपाली लगानीमा बनाउन सकिने आधार सहित प्रतिवेदन दिएको थियो,” उनले भने, “नेपालीकै लगानीमा बनाउन सके नेपालीले सेयर पाउँछन्, जनताका छोराछोरीले मुनाफा पाउँथे तर विना प्रतिस्पर्धा सरकारले गैरकानुनी रुपमा गेजुवालाई दिएको छ । यो निर्णय सच्याउनुपर्छ ।”
मृगौला, क्यान्सर र स्पाइनलका बिरामीलाई मासिक ५ हजार भत्ता दिने यसअघिको कांग्रेस सरकारले निर्णय पनि वर्तमान सरकारले खारेज गरेकोमा उनले असन्तुष्टि जनाए । देउवाले गोरखा दरबारको पुनर्निर्माणमा भैरहेको ढिलाइप्रति पनि असन्तुष्टि व्यक्त गरे । संघीय सरकारले स्थानीय तहको अधिकार खोसेर गोरखा दरबार आफू मातहत राखेकाले दरबार पुनर्निर्माणमा प्रगति हुन नसकेको उनको दाबी छ । “सरकारले नगरपालिकाको अधिकार खोसेको छ । पुनर्निर्माणको कुनै वास्त गरेको छैन । संसदमा म यो विषय उठान गर्छु,” उनले भने ।

‘रातो पञ्चायतको दुस्साहस’
कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले दाइजोको रुपमा बूढीगण्डकी आयोजना गेजुवालाई सुम्पिएको आरोप लगाए । सम्बोधनको अधिकांश समय सरकारको आलोचनामा खर्चिएका शर्माले रेलभन्दा पहिले ग्राभेल सडक पिच गरेर अघि बढ्न सुझाव दिए । “हामीले कालो पञ्चायतलाई त सहेनौं, अब रातो अधिनायकवाद ल्याउने दुस्साहस नगर्नु होला ।” सरकारलाई चेतावनी दिँदै शर्माले भने, “देशमा निर्वाचन नगराई सत्ता कब्जा गर्ने हिम्मत छ ?” विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा ल्याउने वातावरण बनाउन उनको आग्रह छ । “विप्लवको रगत चढाएर लोकतन्त्र बलियो हुँदैन । विप्लव मित्रहरु जनताको छोराछोरी मार्न छाडेर शान्तिमा आउनुहोस्,” उनले भने ।
कार्यक्रममा तरुण दलका केन्द्रीय सभापति जीतजङ बस्नेतले वर्तमान सरकार भ्रष्टाचारी रहेको आरोप लगाए । नेपाली कांग्रेसका नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु कमला पन्त, सुरेन्द्रराज पाण्डे, चीनकाजी श्रेष्ठ, डिला संग्रौला, जिल्ला सभापति हरिबहादुर घले, महासमिति सदस्य मेयर राजनराज पन्तले कम्युनिष्ट विरुद्ध लड्न एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए । समसामयिक राजनीतिक अवस्था र सांगठनिक अवस्थाका विषयमा छलफल गर्दै दोस्रो नगर सम्मेलन आज सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्