अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गरेर उद्योग व्यवसाय गर्नेहरुमा ७७ प्रतिशतले कमी आएको छ ।
लगानीको वातावरणमा प्रश्नचिह्न

प्रमुख राजनीतिक दल र तिनका नेताहरूले मुलुकमा उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने र लगानीको वातावरण बनाउने भन्दै आएको धेरै समय भइसकेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानी ल्याउने भन्दै २–२ पटक अन्तर्राष्ट्रिय लगानी सम्मलेनसमेत आयोजना गरे । सरकारले लगानीको वातावरण बनाउन भन्दै नयाँ केही ऐन बनाएको पनि छ । तर, परिणाम भने देखिएको छैन । राजनीतिक दल र तिनका नेताले जे भने पनि मुलुकभित्रै नयाँ उद्योग–व्यवसाय खोल्ने र लगानी बढाउने गरी वातावरण बन्न नसकेको देखिएको छ ।
कम्पनी राजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार नेपालमा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गर्ने व्यवसायीहरूको संख्या बढ्नुपर्नेमा उल्टै ठूलो प्रतिशतले गिरावट आएको छ । यसले मुलुकमा उद्योग–व्यवसाय खोल्ने वातावरण नभएको देखाएको छ ।
कार्यालयका अनुसार अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गर्नेको संख्या ७७.०८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्मको पाँच वर्षमा यो कार्यालयमा २२ हजार ३ सय ३१ कम्पनी दर्ता भएका थिए । त्यसयताको पाँच वर्ष (आव (२०७९/०८० सम्म) मा भने ५ हजार १ सय १८ कम्पनीमात्र दर्ता भएका छन् ।
यो तथ्यांकले अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ताको संख्या ७७.०८ प्रतिशतले घटेको देखाएको हो । चालू आव सकिन करिब ८ महिना बाँकी छ । तर यो अवधिमा पनि पुरानो रेकर्ड तोड्ने गरी कम्पनी दर्ताको संख्या बढ्ने देखिँदैन ।
कम्पनी दर्तालाई प्रतिशतका आधारमा मात्र होइन, संख्यात्मक हिसाबले हेर्दा पनि पछिल्लो पाँच वर्षमा १७ हजार २ सय १३ कम्पनी कम दर्ता भएको देखिन्छ । कार्यालयका उपरजिष्ट्रार शेखरबाबु कार्कीका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि पाँच वर्षसम्म उद्योग व्यवसाय गर्नेहरू धेरै बढेका थिए । यो अवधिमा इतिहासमै सबैभन्दा धेरै कम्पनी दर्ता भएको थियो ।
उनले त्यो अवधिको तुलनामा अघि वा पछिका कुनै पनि पाँच वर्ष व्यवसाय दर्ता गर्नेहरू यो हिसाबले नबढेको जानकारी दिए । यसअघिको (आव २०६५/०६६ देखि ०६९/०७०) मा १० हजार ७ सय ३१ कम्पनी दर्ता भएका थिए । पछिल्लो पाँच वर्षको दर्ता संख्या योभन्दा पनि थोरै हो ।
व्यवसायीहरूका अनुसार पछिल्लो पाँच वर्षमा कोभिड महामारीका कारण नयाँ कम्पनी स्थापना गर्ने क्रममा गिरावट आएको हो । अर्कोतिर कतिपय व्यवसायीले कर लगायतका कारण पुरानो कम्पनी बन्द गरेर नयाँ खोल्ने गर्थे । पछिल्लो समय भने कम्पनी रजिष्ट्रारको कार्यालयले दर्ता भएका कम्पनीको नवीकरणमा बढी बाध्यकारी व्यवस्था गरेका कारण नयाँ दर्ता घटेको अनुमान छ ।
रजिष्ट्रारको कार्यालयमा अहिलेसम्म झन्डै तीन लाख कम्पनी दर्ता भएका छन् । कार्यालयका अनुसार असोज दोस्रो सातासम्म दर्ता भएका २ लाख ९४ हजार ६ सय २० कम्पनीको चुक्ता पुँजी २९ खर्ब ६२ अर्ब १० करोड १५ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, कार्यालयमा दर्ता भएका कुल कम्पनीमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनी (प्रालि) को संख्या छ भने पब्लिक कम्पनी ज्यादै न्यून छन् । अहिलेसम्म २ लाख ८८ हजार ५७ वटा कम्पनी प्राइभेटका रुपमा खोलिएकामा पब्लिक कम्पनीको संख्या १ हजार ८ सय २१ मात्र रहेको छ ।
उपरजिष्ट्रार कार्कीका अनुसार कार्यालयमा नाफा कमाउने र नाफारहित गरी दुई प्रकारका कम्पनी दर्ता हुने गर्छन् । जसमध्ये हालसम्म मुनाफा कमाउने कम्पनीको दर्ता संख्या २ लाख ९० हजार ३ सय १५ र नाफारहित कम्पनीको संख्या ४ हजार ३ सय ५ रहेको छ । यस्तै, कार्यालयमा दर्ता भएका वैदेशिक लगानीका कम्पनीहरूको संख्या पनि ज्यादै न्यून छ । अहिलेसम्म १ हजार १ सय ७९ कम्पनी वैदेशिक लगानीका रहेको उपरजिष्ट्रार कार्कीले जानकारी दिए ।
कम्पनी स्थापनाको क्रमसँगै सेयरधनीको संख्या पनि उल्लेख्य रहेको छ । उपरजिष्ट्रार कार्कीका अनुसार प्राइभेट कम्पनीका सेयरहोल्डर नागरिकको संख्या ७ लाख ४६ हजार ५ सय २८ रहेको छ । यस्तै, दर्ता भएका कम्पनीमध्ये एकल स्वामित्वका कम्पनीको संख्या सबैभन्दा बढी १ लाख २७ हजार ३ सय ४३ रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा कुल ३ लाख कम्पनी दर्ता भए पनि नवीकरण गर्ने कम्पनीको संख्या भने करिब ४० प्रतिशत हाराहारीमात्र रहेको छ । कार्यालयका अनुसार नियमित नवीकरण गर्ने कम्पनीको संख्या अघिल्लो आर्थिक वर्षसम्म ९१ हजार ७ सय ४७ रहेका थिए । सरकारले गत आवमा नवीकरण नगरेका कम्पनीलाई कर छुट दिने व्यवस्था गरेपछि २५ हजार ८ सय ६० कम्पनीले नवीकरण गराएका छन् ।
अहिले कुल दर्ता भएका कम्पनीको तुलनामा गत आवसम्ममा ३९.९१ प्रतिशतले नवीकरण गराएका छन् । यस्तै, नियमित नवीकरण गराउने कम्पनीको संख्या ३१.१४ प्रतिशत छ ।
कोभिड महामारीपछि साना तथा मझौला खालका व्यवसाय अझै पनि पुरानै अवस्थामा फर्कन सकेका छैनन् । उद्योगहरूले पूर्ण क्षमतामा आफ्नो उत्पादन बजारमा ल्याउन सकेको अवस्था पनि छैन । पछिल्लो समय बैंकहरूले चर्को ब्याज लिन थालेपछि झनै समस्या थपिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ मुख्य रुपमा कोभिड र तरलता अभावका कारण कम्पनी दर्ता घटेको बताउँछन् । “ब्याजदरको समस्या समाधान नभएसम्म कम्पनी दर्ता र उद्यम व्यवसायमा उत्साह आउँदैन,” उनले कारोबारसँग भने, “कम्पनी चलाऊ भनेर मात्रै हुँदैन, त्यसका लागि आवश्यक सुविधा र सहजता पनि सँगसँगै चाहिन्छ । अहिले हामीले लगानी गर्न पर्याप्त ब्याज तिर्दा पनि रकम पाउन सकेको अवस्था छैन ।”
महासंघकै उद्योग समिति सभापति भरतराज आचार्य पनि अहिलेको अवस्थामा उद्योग व्यवसाय बढ्न नसक्ने बताउँछन् । उनका अनुसार कोभिडपछि कच्चा पदार्थको मूल्य बढेको अवस्थामा बैंकहरूले ब्याजदर दोब्बर बनाउँदा उत्पादन लागत अत्यधिक बढेको छ । उद्योगमैत्री वातावरण नभएसम्म भएका उद्योगधन्दा बन्द हुने र नयाँ सञ्चालनमा आउन नसक्ने अवस्था रहिरहन्छ । आफ्नो देशका उद्योग व्यवसाय बन्द हुँदै जाँदा अझै आयातमुखी अर्थतन्त्रतर्फ देश जान्छ । त्यसैले लगानीका लागि कसरी वातावरण बनाउन सकिन्छ भनेर सरकार, निजी क्षेत्र सबैले ध्यान दिनुपर्छ ।
वैदेशिक लगानी पनि घट्यो
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा कुल ६७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएकोमा त्यसयताका कुनै पनि वर्ष योे बराबरको लगानी स्वीकृत हुन सकेको छैन । विभागका अनुसार २०७२ को विनासकारी भूकम्प र नाकाबन्दीपछिका वर्षमा लगानी नगण्य स्वीकृत भएको छ । पछिल्ला वर्षहरूमा कोभिड महामारी, विश्वव्यापी आर्थिक मन्दी लगायतका कारण लगानी बढ्न सकेको छैन । सरकारले २०७३ र २०७५ मा दुईपटक लगानी सम्मेलनको आयोजना गरे पनि त्यसले सार्थक परिणाम भने ल्याउन सकेको छैन ।
आव कम्पनी दर्ता संख्या
२०४९/०५० – १७८४
२०५४/०५५ – १८४५
२०५९/०६० – ५२७०
२०६४/०६५ – ७८०१
२०६९/०७० – १०७३१
२०७४/०७५ – २२३३१
२०७९/०८० – ५११८
स्रोत: कम्पनी रजिष्ट्रारको कार्यालय