Logo

कांग्रेसलाई समर्थन गर्न उम्मेदवारी निस्क्रिय

स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराएका नेपाली काँग्रेस (वी.पी.) तर्फका उम्मेदवार प्रदीप पौडेल क्षेत्रीले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन् ।
प्रजातान्त्रिक समाजवादको आर्दश र मूल्य मान्यताबाट मात्र मुलुकको आर्थिक र सामाजिक परिवर्तन गर्न सकिने जनाउँदै कांग्रेसतर्फका संघीय उम्मेदवार राजु थापा र प्रदेश उम्मेदवार कुमार रानालाई समर्थन गर्ने प्रतिवद्धता जनाउँदै उनले उम्मेदवारी निस्क्रिय बनाएको जनाएका हुन् ।
पौडेलसँगै प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवार जगतबन्धु पोखरेलले पनि आफ्नो उम्मेदवार निस्क्रिय पारेको जनाउँदै थापा र रानालाई समर्थन गर्ने बताएका छन् । आँधीखोला गाउँपालिका निवारीका पौडेल २०२५ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसमा क्रियाशिल छन् । उनी २०२९ सालमा पृथ्वीनारायण क्याम्पसको पहिलो निर्वाचित स्वभियु सचिव भएका थिए । यसैगरी, २०३७ सालदेखि नेपाल विद्यार्थी संघगठनबाट राजनीतिमा लागेका पोखरेल निवृत्त राष्ट्रसेवक हुन् ।
काँग्रेस (वीपी) का उम्मेदवारले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएसँगै स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को एक पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपामाओवादी समाजवादी, मंगोल नेशनल अर्गानाइजेशन, जनसमाजवादी पाटी नेपाल गरी ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्